भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक करोड १५ लाख रुपैयाँबराबरको स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
सार्वजनिक सेवा प्रवेश गरेको १ साउन ०३८ देखि ०७५ मंसिर मसान्तसम्मको उनको आम्दानी र खर्चबारे अख्तियारले विश्लेषण गरेको थियो । जाँच अवधिमा भट्टराई र उनको एकासगोलको परिवार सदस्यको आय र व्ययको विश्लेषण गर्दा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ ।
सार्वजनिक पदमा बहाल रहँदा प्राप्त गरेको तलबभत्ता, श्रीमतीको तलब, बाबुको तलब तथा पेन्सन, आमाको पेन्सन, कर्मचारी सञ्चय कोष सापटी, नागरिक लगानी कोष सापटी, राष्ट्रिय बिमा संस्थान सापटी, जग्गा बिक्री, कृषि आय, बैंक ब्याज, सेयर बिक्री, घरबहाल आय, वैदेशिक आय, बिमा दाबी फस्र्योट, कर्मचारी सन्तति छात्रवृत्ति रकम, छोराको इन्टर्नसिप आय र ब्याजसहित मुद्दती बचतमा भएको आम्दानीजस्ता आयस्रोत अख्तियारले हेरेको थियो । जाँच अवधिमा यी शीर्षकमा उनको आम्दानी एक करोड ९२ लाख एक हजार नौ सय २२ देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
त्यस्तै, खर्चतर्फ जग्गा खरिद, रजिस्ट्रेसन शुल्क, घर निर्माण खर्च, अध्ययन खर्च, कर्मचारी सञ्चयकोष सापटी भुक्तानी, नागरिक लगानी कोष सापटी भुक्तानी, राष्ट्रिय बिमा संस्थान सापटी भुक्तानी, सेयर खरिद, सवारीसाधन खरिद, बिमा प्रिमियम भुक्तानी, सुन खरिद तथा निर्माण, नागरिक लगानी कोष कट्टा रकम, विद्युतीय उपकरण खरिद र नगद मौज्दातको विश्लेषण गरिएको थियो । त्यसमा उनको खर्च तीन करोड सात लाख ३१ हजार एक सय १६ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।
आयबाट समग्र व्यय घटाउँदा हुन आउने एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको ठहर छ । स्रोत नखुलेको रकमलाई नै बिगो कायम गरी अख्तियारले भट्टराईविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो । भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा जरिवाना र बिगो जफत गर्न मागदाबी गरेको छ । गैरकानुनी रूपमा आर्जित र त्यसबाट बढेबढाएको तथा स्रोत नखुलेको सम्पत्ति श्रीमती मुना अधिकारी भट्टराई, छोरा उत्सुक, छोरी प्रेरिकाको नाममा राखेको देखिएकाले बिगो जफत प्रयोजनका लागि उनीहरूलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।