सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण कार्यक्रममा बोल्दै सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए ।
‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एकपछि अर्को समस्या उधिनिँदै छ,’ उनले भने । मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिका लागि सरकारले काम गर्नुपर्ने उनले बताए । एआईको प्रयोगसम्बन्धी पोलिसी ल्याएर त्यसलगत्तै कानुन निर्माण गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उनको भनाइ छ ।
‘मुलुकको सुरक्षाका लागि आर्थिक विकासका लागि र राजनीतिक प्रतिबद्धताका लागि हामीले काम गर्नुपर्ने हुन्छ, तर केही काम भएको छैन, यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु,’ उनले भने । सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उनले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताए । यसलाई व्यवस्थित बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।