१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
कृष्ण रिजाल
२०७६ बैशाख २ सोमबार ०८:१६:००
Read Time : > 2 मिनेट
अर्थ

बजेटपछि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री

करिब १२ लाख ९ हजार वृद्धसहित करिब २५ लाखले पाउँदै आएका छन् सामाजिक सुरक्षाभत्ता, त्यो बढाउने तयारीमा सरकार छ, तर कति बढ्छ टुंगो छैन

Read Time : > 2 मिनेट
कृष्ण रिजाल
२०७६ बैशाख २ सोमबार ०८:१६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत  वृद्धभत्ता बढाउने बताएका छन् । बजेट निर्माणमा जुटिरहेको सरकारले वृद्धभत्ता बढाउने तयारी गरिरहेको उनले जानकारी दिएका हुन् । आइतबारदेखि सुरु भएको ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा’ तथा ‘खोलाैँ बैंक खाता’ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै उनले वृद्धवृद्धाको सुरक्षालाई ध्यान दिँदै वृद्धभत्ता बढाउने तयारी गरिएको बताएका हुन् । वृद्धभत्ता बढ्छ भन्ने कुरा सबैलाई थाहा भएको समेत उनले बताए । ‘बजेट नआई भन्न नमिल्ने कुरा हो,’ उनले भने, ‘तर, लुकाएर लुक्ने होइन, वृद्धभत्ता बढ्छ ।’

तत्कालीन वामगठबन्धनको चुनावी घोषणापत्रमा वृद्धभत्ता बढाएर ५ हजार पु-याउने उल्लेख  थियो । सरकारले चालू आवको बजेटमार्फत वृद्धभत्ता बढाउने आम अनुमान थियो । तर, अनुमानविपरीत अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत सामाजिक सुरक्षा नीति लागू गरे, तर वृद्धभत्ता बढाएनन् । चुनावमा घोषणा गरिएअनुसार निर्वाचित सरकारले वृद्धभत्ता नबढाएको भन्दै सत्तारुढ दलकै नेता तथा कार्यकर्ताले समेत आलोचना गरेका थिए । 

चुनावी घोषणापत्रअनुसार चालू आर्थिक वर्षमा बजेट नआएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले आगामी आवको बजेटमार्फत वृद्धभत्ता बढाउने तयारी गरेको हो । यसअघि २७ माघमा सिरहामा आयोजित एक कार्यक्रममा पनि प्रधानमन्त्रीले वृद्धभत्ता बढ्ने बताएका थिए । त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरलले काठमाडौं महानगरपालिकाको एक कार्यक्रममा बोल्दै आगामी वर्षको बजेटबाट वृद्धभत्ता बढ्ने बताएका थिए ।  

वृद्धभत्ता मासिक एक हजार बढ्ने सम्भावना
अहिले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकले मासिक १ हजार रुपैयाँ वृद्धभत्ता र १ हजार रुपैयाँ स्वास्थ्य उपचार खर्चसहित २ हजार रुपैयाँका दरले भत्ता पाउँदै आएका छन् । दलित ज्येष्ठ नागरिकले भने ६० वर्षदेखि नै यस्तो भत्ता पाउँछन् । त्यस्तै, विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जाति तथा बालबच्चाले पनि भत्ता पाउँदै आएका छन् । हाल सामाजिक सुरक्षाभत्ता लिने नेपालीको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको आर्थिक सर्वेक्षण ०७४÷७५ मा उल्लेख छ । त्यसमध्ये १२ लाख ८ हजार १ सय ३३ जना वृद्धले सामाजिक सुरक्षा भत्ता लिएका थिए । ११ लाख १२ हजार ५७ जना ७० वर्षमाथिका वृद्धवृद्धाले उपचार खर्च पाएका थिए । 

चालू आर्थिक वर्षमा सरकारले सामाजिक सुरक्षाका लागि ४३ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ७० वर्षमाथिका वृद्धवृद्धाले पाउँदै आएको भत्ता मात्रै दोब्बर बनाइयो भने पनि सामाजिक सुरक्षामा थप २८ अर्ब ९९ करोड रुपैयाँ बजेट बढाउनुपर्ने हुन्छ । त्यस्तै, १ हजारका दरले वृद्धभत्ता बढाउँदा थप १४ अर्ब ४९ करोड रुपैयाँ बजेट बढाउनुपर्ने हुन्छ । अझ एकल महिला, अपांग, लोपोन्मुख जातिसमेतलाई भत्ता बढाउँदा त्यो आकार अझै ठूलो हुनेछ ।अर्थमन्त्री डा. खतिवडा वितरणमुखी बजेटको पक्षमा नभएका कारण वृद्धभत्ता बढीमा १ हजार रुपैयाँका दरले बढ्न सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । 

यस्तो वृद्धभत्ता वृद्धिको ‘ग्राफ’
तत्कालीन एमाले नेतृत्वकै सरकारले आर्थिक वर्ष ०५१/५२ को बजेटमार्फत वृद्धभत्ता सुरु गरेको थियो । ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मासिक १ सय रुपैयाँका दरले वृद्धभत्ता दिन सुरु गरिएको थियो । ०५१/५२ मा सुरु भएको वृद्धभत्ता ०६१/६२ मा आइपुग्दा बढेर एक सय ७५ रुपैयाँ मासिक पुग्यो । त्यसपछि ०६९/७० मा मासिक ५ सय रुपैयाँ पुग्यो । त्यस्तै, कांग्रेस नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष ०७२/७३ को बजेटबाट ५ सय रुपैयाँको वृद्ध भत्तालाई दोब्बरले बढाएर १ हजार रुपैयाँ पु-याएका थिए । त्यसपछि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत वृद्धभत्तालाई दोब्बरले बढाएर मासिक २ हजार बनाएका थिए । त्यसका लागि उनले उक्त आवका लागि ३२ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । 

सबै नेपालीको बैंक खाता र ‘स्वास्थ्य बिमा’ अभियान सुरु
सरकारले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा’ तथा ‘खोलाैँ बैंक खाता’ अभियानको थालनी गरेको छ । नयाँ वर्षको अवसर पारेर आइतबारदेखि ‘ज्येष्ठ नागरिक स्वास्थ्य बिमा’ तथा ‘खोलाैँ बैंक खाता’ अभियानको थालनी गरिएको हो । प्रधानमन्त्री केपी ओलीले आफ्ना बुबा र सासूलाई चेक हस्तान्तरण गरेर खोलौँ बैंक खाता अभियान सुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली र प्रधानमन्त्रीपत्नी राधिका शाक्यकी आमा धनमाया शाक्यले आइतबार नै वाणिज्य बैंकमा खाता खोलेका हुन् । प्रधानमन्त्रीले उनीहरूलाई चेक हस्तान्तरण गर्दै सो अभियानको थालनी गरेका हुन् । त्यस्तै, सरकारले निःशुल्क स्वास्थ्य बिमा गरिदिएका वृद्धवृद्धालाई प्रमाणपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्रीले स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरे ।

सबै नेपालीको बैंक खाता खोल्ने अभियानस्वरूप सरकारले खोलौँ खाता अभियान सञ्चालनमा ल्याएको हो । यस अभियानमा खाता खोल्नेहरूलाई बैंकले १ सय रुपैयाँ आफैँले जम्मा गरिदिन्छन् । परिचय खुल्ने प्रमाणपत्र लिएर गएपछि बैंकले सहजै खाता खोलिदिन्छन् । अर्थमन्त्री खतिवडाले आफू्ले समेत १ सय रुपैयाँ थपेर खाता खोल्न सबैलाई आग्रह गरे ।