१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सी–जेलेन्स्कीबीच महत्वपूर्ण फोनवार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:५o:oo

 चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र किभ दुवै देशले बताएका छन् । ‘राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोनवार्ता भएको छ,’ जेलेन्स्कीले ट्विटरमा लेखेका छन् ।

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकिफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घन्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए । ‘युक्रेन संकटमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्तिवार्तालाई बढावा दिनु हो,’ सिसिटिभीले भनेको छ । सिसिटिभीले चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गरी लेखेको छ, ‘चीनले न त अर्कोतिरबाट वाण हान्नेछ, न त आगोमा इन्धन थप्नेछ, संकटको फाइदा उठाउने कुरा चीनले कहिल्यै सोचेको छैन ।’

‘आणविक मुद्दाको सामना गर्दा सम्बन्धित सबै पक्ष शान्त र संयमित रहनुपर्छ, आफ्नो र सम्पूर्ण मानवजातिको भविष्य र नियतिमा साँच्चै ध्यान केन्द्रित गर्नुपर्छ र संयुक्त रूपमा संकटको व्यवस्थापन र नियन्त्रण गर्नुपर्छ,’ सीले भने । बेइजिङले युक्रेन द्वन्द्वमा आफू तटस्थ रहेको बताउँदै आएको छ, तथापि उसले रुसले सानो छिमेकी मुलुकमाथि गरेको आक्रमणको अहिलेसम्म विरोध गरेको छैन । जेलेन्स्कीले आफ्ना चिनियाँ समकक्षी सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् । फेब्रुअरीमा बेइजिङले युक्रेनको संकटको ‘राजनीतिक समाधान’का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो । दस्ताबेजमा चीनलाई तटस्थ पार्टीको रूपमा चित्रित गरिएको छ र दुवै पक्षलाई शान्तिवार्तामा प्रवेश गर्न आग्रह गरिएको छ ।

‘सबै देशको सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई प्रभावकारी रूपमा कायम राख्नुपर्छ’ भन्ने उक्त पत्रको पहिलो बुँदा थियो । तर, चीनले युक्रेन युद्धको विशिष्टतासँग यो कसरी सम्बन्धित छ भन्नेबारे विस्तार गर्न अस्वीकार गर्दै आएको छ । पत्रमा बेइजिङले रुस र युक्रेनलाई शान्तिवार्ता पुनः सुरु गर्न आह्वान गर्दै ‘वार्ता अनि वार्ता नै एक मात्र व्यावहारिक समाधान हो’ भनिएको छ । ‘अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्तालाई बढावा दिने सही दृष्टिकोणप्रति प्रतिबद्ध रहनुपर्छ, द्वन्द्वका पक्षहरूलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न मद्दत गर्नुपर्छ र वार्ता पुनः सुरु गर्नका लागि परिस्थिति र प्लेटफर्म सिर्जना गर्नुपर्छ,’ पत्रमा भनिएको छ ।

ad
ad