उपाधि दाबेदार ओमान र युएई एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ओमानले समूह ‘ए’मा साउदी अरेबियामाथि ७२ रनको जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो । युएईले समूह ‘बी’मा बहराइनलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै अन्तिम चारको स्थान पक्का गर्यो । दुवै समूहमा विजेता र उपविजेताको टुंगो लागेको छैन । यसको छिनोफानो बिहीबारको खेलले गर्नेछ ।
समूह एमा चार खेलबाट ६ अंक जोडेको ओमान शीर्ष स्थानमा उक्लेको छ । आयोजक नेपाल पाँच अंकका साथ दोस्रो स्थानमा छ । नेपालले एक खेलअघि नै अन्तिम चारको स्थान पक्का गरेको थियो । समूह एमा नेपालले आफ्नो अन्तिम खेलमा कतारको सामना गर्नेछ । कतारलाई हराउँदा नेपाल समूह विजेता बन्नेछ । नेपालको जितसँगै ओमान उपविजेता हुनेछ । समूह बीमा युएईले ६ अंक जोड्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यस समूहमा बिहीबारै हङकङले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । कुवेतले हङकलाई हराए सेमिफाइनलमा पुग्नेछ ।
हारले हङकङ प्रतियोगिताबाट बाहिरिनेछ । रनरेटका आधारमा यस समूहको विजेता घोषित हुनेछ । बुधबारको प्रतिस्पर्धामा जित निकाल्नुअघिसम्म ओमान र युएईको सेमिफाइनल समीकरण कठिन देखिएको थियो । युएई र ओमान आ–आफ्नो खेलमा पराजित हुँदा प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना उत्तिकै थियो । तर, सानदार जितले दुवै टोली प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् ।प्रतियोगितामा समूह ‘ए’बाट मलेसिया, साउदी अरेबिया र कतार बाहिरिएका छन् । समूह ‘बी’बाट बहराइन र सिंगापुर बाहिरिए ।
सात अर्धशतकको खेल
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एकपछि अर्को कीर्तिमान बनिरहेका छन् । यसै मैदानमा युएईले सर्वाधिक योगफल बनाएको थियो । नेपालले आफ्नो ५०औँ एकदिवसीय र सन्दीप लामिछानेले कम खेलमा एकदिवसीय प्रतिस्पर्धामा सय विकेट लिने विश्व रेकर्ड त्रिवि मैदानमै राखेका थिए । प्रतियोगिताअन्तर्गत बुधबार ओमान र साउदी अरेबियाबीचको खेलमा सात अर्धशतकीय इनिङ भएका छन् । ओमानको ब्याटिङमा पाँच र साउदी अरेबियाका दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेल्न सफल भए ।
पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेटको नोक्सानीमा तीन सय ६६ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा साउदी अरेबियाले ४६.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ९४ रन बनायो । यस खेलमा ओमान ७२ रनले विजयी भयो । ओमानका लागि ओपनर कश्यप प्रजापतिले ५३ बलमा ५१ रन बनाए । उनले ६ चौका र दुई छक्का प्रहार गरे । जतिन्दर सिंहले ७९ बलमा ११ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ८८ रनको योगदान दिए ।
यसैगरी, सोयब खानले ७० बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । कप्तान जेसन मक्सुदले ५४ रन र मोहमद नदिमले ७१ रन बटुले । मक्सुदले ४९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । नदिमले ३८ बलमा ६ चौका र चार छक्का प्रहार गरेका थिए । ओमानले पहिलो विकेटका लागि १७.२ ओभरमा एक सय २५ रनको साझेदारी गरेको थियो ।
प्रत्युत्तरमा साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ९५ रनको योगदान दिए । तेस्रो क्रममा ब्याटिङ गरेका साद खानले ७८ रन जोडे । अब्दुल र सादबीच दोस्रो विकेटका लागि २.६ देखि २९.२ ओभरसम्म एक सय ७८ रनको साझेदारी हुँदा ओमान दबाबमा परेको थियो । साद र अब्दुल एकै ओभरमा आउट हुँदा ओमान खेलमा फर्कियो । यसअघिसम्म साउदी अरेबियाले ओमानमाथि स्तब्ध नतिजा निकाल्ने सम्भावना जीवितै थियो । ओमानका लागि बिलाल खानले ८.५ ओभरमा ७५ रन खर्चेर सर्वाधिक चार विकेट लिए ।
बहराइन एक सय १६ रनमा अलआउट
मूलपानी क्रिकेट मैदानमा महत्वपूर्ण मानिएको खेलमा बहराइन युएईविरुद्ध एक सय १६ रनमै अलआउट भयो । युएईले २७.४ ओभरमा दुई विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । युएईको जितमा भृत्या अरविन्द र रोहन मुस्तफाले अर्धशतकीय योगदान दिए । अरविन्दले ८४ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ६२ रन बनाए । मुस्तफाले ५६ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५० रन जोडे । दुवैले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । युएईले २१ रनमा दुई विकेट गुमाएको थियो ।
यसअघि युएईका आयन खानले कसिलो बलिङ गरेका थिए । उनले १० ओभरमा सात मेडन राखी ६ रन मात्र खर्चेर चार विकेट लिएका थिए । यसैगरी, मुस्तफाले १६ रनमा दुई विकेट हात पारे । बहराइनको ब्याटिङमा हैदर बटले सर्वाधिक २३ रन बनाए । अलीले ४७ बलमा २३ रन तथा वासिक अहमेदले १२ रन जोडे ।