१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १३ बुधबार o६:२२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कुवेतको जितले हङकङ र युएईमाथि दबाब

सिंगापुरमाथिको जितले कुवेत सेमिफाइनल दौडमा फर्किंदा हङकङ र युएईमाथि दबाब परेको हो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार o६:२२:oo

कुवेतले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा मंगलबार सिंगापुरमाथि चार विकेटको जित निकालेको छ । समूह ‘बी’मा कुवेतको जितसँगै सेमिफाइनलमा पुग्ने समीकरण रोमाञ्चक बनेको छ । कुवेतले तीन खेलबाट चार अंक बटुलेको छ । यस समूहमा हङकङ पाँच अंकका साथ शीर्ष स्थानमा छ । चार अंक जोडेको युएई दोस्रो स्थानमा छ । समान चार अंक बटुलेको कुवेत तेस्रो स्थानमा छ । बहराइन तीन अंकका साथ चौथो स्थानमा छ । यस समूहमा सिंगापुर लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह बीबाट सेमिफाइनल पुग्ने दुई टोली अन्तिम खेलबाट छिनोफानो हुनेछ । सिंगापुरमाथिको जितपछि कुवेत पनि अन्तिम चारको दौडमा फर्किएको छ । जसबाट शीर्ष स्थानको हङकङ र युएईमाथि दबाब परेको छ । यी चारै टोलीले आ–आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । अब हङकङले कुवेतको सामना गर्नेछ । युएईले बहराइनविरुद्ध खेल्नेछ । कुवेतको जितले हङकङको सेमिफाइनल पुग्ने सम्भावना गणितीय आधारमा मात्र रहनेछ । 

अर्को खेलमा युएई बहराइनसँग अप्रत्याशित हारको सामना गर्दा प्रतियोगिताबाट बाहिरिने सम्भावना देखिन्छ । बहराइन र कुवेतले अन्तिम खेलमा जित निकाल्दा हङकङ समूह चरणबाट बाहिरिन सक्छ । रमाइलो पक्ष के छ भने हङकङ, युएई र बहराइनबीचको अन्तिम खेल क्वार्टरफाइनलजस्तै हुनेछ । जित निकाल्ने टोली नै सेमिफाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिनेछ । समूह एमा नेपालले एक खेलअगाडि नै सेमिफाइनल स्थान बनायो । समूह एमा नेपाललाई कुनै समस्या छैन । यसैगरी, समूह एमा साउदी अरेबिया र ओमानबीचको विजेता सेमिफाइनल पुग्नेछ । यो खेल पनि क्वार्टरफाइनलजस्तै हुनेछ । 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’को विजेताले समूह ‘ए’को उपविजेतासँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल शनिबार र फाइनल सोमबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा भाग लिनेछ । एसिसी प्रिमियर कपको विजेताले भारत र पाकिस्ताविरुद्ध खेल्नेछ । एसिसी प्रिमियर कपको शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ ।

कुवेत चार विकेटले विजयी
त्रिवि मैदानमा सिंगापुरले पहिलो ब्याटिङ गरेको ३१.४ ओभरमा सबै विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । त्रिवि मैदानको आउट फिल्ड राम्रो नभएकाले सिंगापुर र कुवेतबीचको खेल ३५ ओभरमा छुट्याइएको थियो । सहज लक्ष्य पाएको कुवेतले २६.३ ओभरमा ६ विकेटको नोक्सानीमा एक सय १८ रन बनायो । कुवेतले पनि जित सहजै निकाल्न सकेन । मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा कुवेतले संघर्ष गर्नुपरेको थियो । 

ओपनर अदनान आइड्रेसले कुवेतको ब्याटिङ इनिङ्समा सर्वाधिक ३८ रनको योगदान दिए । उनले २८ बलमा दुई चौका र तीन छक्का प्रहार गरेका थिए । कुवेतले चार विकेट गुमाउँदा स्कोर बोर्डमा ६४ रन जोडेको थियो । मध्यक्रमका मित भास्कारले ५० बलको सामना गरी २७ रन बनाए । त्यसपछि युनिस पटेलले २५ बलमा २१ रनको योगदान दिए । 

यसअघि ब्याटिङ गरेको सिंगापुरविरुद्ध कुवेतका बलर मोहमद अस्लामले घातक बलिङ गरेका थिए । अस्लामले ८.४ ओभरमा २० रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । उनको आफ्नो स्पेलमा दुई मेडन ओभर पनि फ्याँकेका थिए । सिंगापुरका लागि ओपनर अमात्या काउलले ६० बलमा ४५ रन बनाएका थिए । उनले नौ चौका ठोके । त्यसपछि जसप्रित सिंहले २८ रन बनाए । सिंगापुरको ब्याटिङमा आठ खेलाडीले दोहोरो रन नै बनाएनन् । 


मलेसिया पाँच बलअघि विजयी
मूलपानी मैदानमा समूह ‘ए’को खेलमा मलेसियाले कतारमाथि तीन विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको कतारले ३५ ओभरमा आठ विकेट गुमाएर दुई सय १५ रन बनाएको थियो । मलेसियाले ३४.१ ओभरमा सात विकेटको क्षतिमा दुई सय १६ रन जोडेको थियो । मलेसियाका लागि साएद अजिजले ६६ बलमा ८० रन जोडे । अहमाद फैजले २६ बलमा ३३ रन बनाए । कतारका लागि इमालले ६८ बलमा ५६ रन बनाए । कुराम साहजादले ४१ रन बटुले ।