१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार o७:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एकै खेलमा ३६ छक्का र ६८ चौका

वासिम र अरविन्दको शतकीय इनिङ्सको मद्दतमा युएईले सिंगापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले हरायो । युएईले ५० ओभरमा सबै विकेट गुमाएर चार सय ७१ रन योगफल बनायो ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार o७:५१:oo

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएई र सिंगापुरबीचको खेलमा कुल ३६ छक्का र ६८ चौका प्रहार भएका छन् । उत्कृष्ट फर्ममा रहेको युएईका ब्याट्सम्यानले एकै इनिङ्समा २६ छक्का र ४१ चौका प्रहार गरे । लक्ष्य पछ्याउँदा सिंगापुरका ब्याट्सम्यानले १० छक्का र २७ चौका ठोकेका छन् । ब्याट्सम्यानबीच चौका र छक्का प्रहार गर्ने होडबाजी चलेको प्रतिस्पर्धामा कुल सात सय ७१ रन बन्यो । जुन प्रतियोगिताकै एक उच्चतम योगफलको रेकर्ड रह्यो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता नरहेको खेल भए पनि एसिसीको तथ्यांकमा भने रेकर्डहरूले भरिएको छ । प्रिमियर कपमा सर्वाधिक योगफल तथा बाउन्ड्री प्रहार भएको खेलका रूपमा युएई र सिंगापुरबीच रहनेछ । समूह बीको आफ्नो तेस्रो खेलमा दुवै टोलीका ब्याट्सम्यानले आकर्षक स्ट्रोक लगाउँदा बलर खर्चिलो देखिए । सिंगापुरका ओपनर बलर आदित्य भार्गावले चार विकेट लिन आठ ओभरमा ८५ रन खर्चे । उनले प्रतिओभर १०.६२ रन खर्चेका थिए । 
यसैगरी, सिमर थिलिपानले नौ ओभरमा ९९ रन दिए । युएईविरुद्ध अक्षय पुरी सर्वाधिक रन दिने बलर बने । उनले तीन ओभरमा ४० रन दिएका थिए । युएईका ब्याट्सम्यान हावी भएको खेलमा सिंगापुरका भिनोथ बास्करण मात्र किफायती बलर भए । उनले १० ओभरमा ६१ रन खर्चेर दुई विकेट हात पारे । युएईका बलर सचित शर्माले चार ओभरमा ३२ रन खर्चेर दुई विकेट हात पारे । त्यसपछि जुनिद सिद्दिकीले ६ ओभरमा ४३ रन खर्चंदै एक विकेट हात पारे । 

चार सय ७२ रनको लक्ष्य
अघिल्लो खेलमा हङकङसँग स्तब्ध भएको युएईले सिंगापुरविरुद्धका ब्याट्सम्यान सिंगापुरविरुद्ध खनिए । युएईले त्रिवि मैदानमा पहिलो ब्याटिङ गरी ५० ओभरमा सबै विकेट गुमाएर चार सय ७१ रन बनाएको थियो । प्रत्युत्तरमा सिंगापुरले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७० रन बनाएको थियो । युएईले यो खेल दुई सय एक रनको निकै फराकिलो अन्तरले जित्यो । सानदार जितसँगै युएई चार अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेको हङकङले चारै अंक जोडेर शीर्ष स्थान बलियो बनाएको छ । रनरेटमा हङकङ युएईभन्दा बलियो देखिएको छ । तीन खेल गुमाएको सिंगापुर पाँचौँ स्थानमा छ । बहराइन र कुवेतले समान दुई खेलबाट दुई अंक हात पारेका छन् । बहराइन तेस्रो तथा कुवेत चौथो स्थानमा छन् ।

दुई शतकीय इनिङ्स
युएईका ब्याट्सम्यानद्वय मुहमद वासिम र भृत्या अरविन्दले सिंगापुरविरुद्ध शतकीय इनिङ्स खेलेका छन् । कप्तान वासिमले ८२ बलमा एक सय ६० रन जोडे । यस क्रममा उनले सर्वाधिक १६ छक्का र नौ चौका प्रहार गरे । प्रतियोगितामा दोस्रो शतक लगाउने क्रममा अरविन्दले १३३ बलमा सात छक्का र १७ चौका प्रहार गर्दै सर्वाधिक एक सय ७४ रनको योगदान दिए । यसैगरी, आर्यन खानले केवल ५० बलमा नौ चौका र तीन छक्का प्रहार गरी ७४ रन बनाए । 

कप्तान वासिम र अरविन्दबीच दोस्रो विकेटका लागि दुई सय ४६ रनको विशाल साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले २.४ देखि २७.५ ओभरसम्म ब्याटिङ गर्दै युएईलाई बलियो स्थितिमा राखे । दोस्रो विकेटको साझेदारीमा वासिम र अरविन्दले प्रतिओभर ९.१ रनरेटमा ब्याटिङ गरेका थिए । वासिमले ६२ बलमा शतक लगाए । उनले ७९ बलमा व्यक्तिगत एक सय ५० रनको योगफल कटाए । 

यसैगरी, अरविन्दले ९६ बलमा सय रन जोडे । त्यसपछि अरविन्दले एक सय २६ बलमा एक सय १५० रन बनाए । युएईले ४७.५ ओभरमा चार सय ५० रन बनाएको थियो । यसअघि युएईले ४४.६ ओभरमा चार सय रन र ४१.३ ओभरमा तीन सय ५० रन बनाएको थियो । 

सिंगापुरको ब्याटिङमा दुई अर्धशतक
लक्ष्य पछ्याएको सिंगापुरको ब्याटिङमा दुई अर्धशतक बन्यो । थिलिपानले ५६ बलमा ५२ रन र मनप्रित सिंहले ६४ बलमा ६६ रनको योगदान दिए । सिंगापुरले १०.२ ओभरमा चार विकेट गुमाएर ६६ रन बनाएको थियो । मध्यक्रमका ब्याट्सम्यानले युएईका बलरविरुद्ध डटेर सामना गरेका थिए । मनप्रितले पाँच चौका र चार छक्का प्रहार गरे । थिलिपानले चार चौका र तीन छक्का ठोके । सुरेन्द्रानले ५७ बलमा ६ चौकाको सहयोगमा ३८ रन जोडे । 

यसैगरी, समूह एको खेलमा ओमानले मलेसियामाथि आठ विकेटको जित निकाल्यो । मूलपानी मैदानमा भएको प्रतिस्पर्धामा मलेसियाले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । प्रत्युत्तरमा ओमानले ४१.४ ओभरमा दुई विकेट गुमाएर दुई सय २८ रन जोड्यो । ओमानका लागि भिरन्दिप सिंहले १४४ बलमा ९४ रन बनाए । यसैगरी, मुहमदले ६० बलमा ५५ रन जोडे । 

साउदी अरेबियाको सामना गर्दैै नेपाल
उपाधि दाबेदार नेपालले सोमबार मूलपानी क्रिकेट मैदानमा साउदी अरेबियाको सामना गर्दै छ । नेपालले पहिलोपटक मूलपानीमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । समूह ‘ए’मा लगातार दुई जित निकालेको नेपालले तेस्रो जितसँगै सेमिफाइनल स्थान बनाउने लक्ष्य राखेको छ । नेपालले पहिलो खेलमा मलेसिया तथा दोस्रो खेलमा ओमानमाथि सानदार जित निकालेको थियो ।

यस समूहमा साउदी अरेबियाले पनि एक जित निकालेको छ । नेपालका ब्याट्सम्यान र बलर उत्कृष्ट फर्ममा छन् । पछिल्ला दुवै खेलमा ब्याटिङ र बलर समान रूपमा चम्केका थिए । साउदी अरेबियाका खेलाडी ब्याटिङ र बलिङमा संघर्षरत देखिएका छन् । 


 

ad
ad
ad
ad