१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Saturday, 28 September, 2024
२o८o बैशाख ४ सोमबार ११:२८:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ताल र हिमाल हेर्न ‘पाँचपोखरी’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार ११:२८:oo

पाँचपोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।पाँचपोखरीमा पाँचवटा पोखरी छन् ।

पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । इन्द्रावती नदीको उद्गमस्थल हो, पाँचपोखरी । यहाँ मन्दिर, वासका लागि पाटी, होटेल, सार्वजनिक चर्पीहरू बनाइएका छन् ।

पाँचपोखरी पदयात्राका क्रममा देखिएका उच्च पहाडी र हिमाली जैविक विविधता, अनुपम प्राकृतिक सौन्दर्य, जुगल हिमशृंखलाको सुन्दरताले यो यात्रालाई अविस्मरणीय बनाउँछ । अझ रोचक त पाँचपोखरी गाउँपालिकाले छिम्तीमा बनाएको मानवनिर्मित झरनाले लोभ्याउँछ । 

पहिलो दिन : काठमाडौंदेखि देउराली
काठमाडौंदेखि भोताङ र छिम्तीसम्म नियमित बससेवा उपलब्ध छ । मेलम्ची हुँदै लगभग ५–६ घन्टाको यात्रापछि भोताङ पुग्न सकिन्छ । त्यहाँबाट लगभग तीन घन्टा पैदल हिँडेपछि देउराली पुगिन्छ । यहाँ मानवनिर्मित झरनाले यात्रालाई अझ रोमाञ्चक बनाउँछ । ठूलो भिरमा लार्के खोलाको पानी ल्याएर यो झरना बनाइएको हो । 

दोस्रो दिन : देउरालीदेखि नोस्याङ पाटी
नोस्याङ पाटी पुग्न उकालो अनि जंगलको बाटो छ । बीचमा खर्क अनि खाने–बस्ने ठाउँ पनि छन् । मैजाङ्बु, टुपीडाँडा, तापखर्क हुँदै नोस्याङ पाटी पुगिन्छ । नोस्याङ पाटीमा वासका लागि होटेल छन् । नोस्याङ पाटी दृश्यावलोकनका लागि उपयुक्त छ । यहाँबाट जुगल हिमाल रेन्ज, दोर्जे लाक्पा, गन्छेपो हिमाल देख्न सकिन्छ । तलतिर हरियाली डाँडाहरूको मनोरम दृश्य देख्न सकिन्छ ।

तेस्रो दिन : नोस्याङ पाटीदेखि पाँचपोखरी
नोस्याङ पाटीबाट करिब चार घन्टा हिँडेपछि पाँचपोखरी पुगिन्छ । दायाँ र बायाँ ठुल्ठूला ढुंगाबीचमा सानो बाटो छ, जसलाई किंवदन्तीअनुसार दक्षिणढोका भनिन्छ । यो गेट हुँदै सातघुम्ती कटेर लौरीविनायक हुँदै यात्रा गर्नुपर्छ । साँझपख तास्योङ डाँडा पुगेर जुगल हिमालको मनोरम दृश्यावलोकन गर्न पनि सकिन्छ । 

चौथो दिन : पाँचपोखरीदेखि टुपीडाँडा

बिहानै उठेर पूजापाठ गरी ओरालो चार घन्टा हिँडेर टुपीडाँडा वा देउराली फर्किन सकिन्छ । 

पाँचौँ दिन :  छिम्ती हुँदै काठमाडौं फर्किन सकिन्छ । बिहानै छिम्तीबाट काठमाडौंका लागि बस चढ्न सकिन्छ ।