१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

‘जोखिम मोल्न’ तराईबाट पहाड उक्लेका रञ्जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:३९:oo

सम्भावना खोज्न अझै धेरै युवा कि विदेश रोज्छन् कि त तराई झर्ने गरेका छन्। तर, झापाका एक युवक भने आफूले विदेशमा वर्षौँ दुःख गरेर कमाएको धन लगानी गर्न जोखिम मोलेर विकट पहाडी जिल्ला भोजपुर पुगेका छन्।

उनी हुन् सुगम जिल्ला झापाको कन्काई नगरपालिका सुरुंगाका ३५ वर्षीय रञ्जित गिरी। उनले अमेरिकामा १० वर्ष र कतारमा केही वर्ष सुरक्षागार्डको रूपमा काम गरे। कति वेला रकेट लन्चर लागेर मरिन्छ भन्ने जोखिम मोलेरै उनले वैदेशिक रोजगारीबाट करिब दुई करोड जम्मा गरे।

वैदेशिक रोजगारीबाट उनले पैसा त कमाए, तर त्यो पैसा केमा लगानी गर्ने भन्ने उनलाई कुनै मेसो थिएन। आफ्नो चाहनाअनुसारको उद्यमको विषय उनले भेट्टाएका थिएनन्। चर्चैचर्चामा उनलाई हजुरबुबाहरूको थातथलो भोजपुर गएर चिया बगान खोल्न सकिने परिवार र साथीभाइको सुझाव आयो। भोजपुरको टेम्केमैयुङ  गाउँपालिका– ३ मा उनका हजुरबाहरूले आर्जेको प्रशस्त खर्क  (चरिचरन क्षेत्र) थियो ।  परिवार र साथीभाइको सुझाव उनको मनमा गड्यो ।

केही समयको अध्ययनपछि उनयले भोजपुर जिल्ला चियाखेतीका लागि उपयुक्त रहेको पाए। आफ्ना पुर्खाले त्यत्तिकै छाडेको सय रोपनीसहित थप ५० रोपनी जग्गा लिजमा लिएर उनले चिया बगान बनाए। बगानको नामकरण गरे ‘गरस’ अर्थात् गंगा, रञ्जित र सञ्जीव । गंगा उनकी दिदी हुन् भने र सञ् व भाइ हुन्। अहिले युवा उद्यमी रञ्जितले खोलेको गरस चिया उद्योग नै भोजपुरको पहिलो उद्योग बनेको छ।

दुई करोड लगानी गरेर उनले १० वर्षअघि सुरु गरेको चिया बगानले आम्दानी पनि दिन थालिसकेको छ। विषादीरहित चिया भएकाले बजार पनि धेरै राम्रो रहेको रञ्जितको भनाइ छ। उत्पादन भएको चिया बिक्री गर्न उनले कसैलाई गुहार्न परेको छैन। केही वर्षपछि उत्पादन अझै बढेर जाने र आफ्नो ब्रान्डले अझै धेरै चर्चा पाउने उनको विश्वास छ। विदेशमा जोखिम मोलेर कमाएको पैसा लगानी गरेर उजाड पहाडलाई हराभरा बनाएका रञ्जित भन्छन्, ‘सिर्जनशील उद्यमीहरू विदेश र मधेसमा हराइरहेका रहेछौँ। तर, लगानीको अवसर पहाडमा छ।’

एक करोड लगानीमा रिसोर्ट पनि सञ्चालन 
आफ्नो वैदेशिक रोजगारको कमाइलाई भोजपुरको भेडाबाख्रा चराउने खर्क (नागी)मा जोखिम मोलेर लगानी गरेका रञ्जित अझै सन्तुष्ट भएनन्। यसैले देशकै चर्चित पर्यटकीय स्थलका रूपमा चिनिएको टेम्केमैयुङ गाउँपालिका– ३ चखियामा उनले रिसोर्ट पनि खोलेका छन्। यही वैशाख अन्तिम हप्तादेखि रिसोर्ट सञ्चालनम ल्याउने उनको तयारी छ।

टेम्केमैयुङमा बाह्रै महिना पर्यटकको ओइरो लाग्ने गरेको छ। सँगै सञ्चालनमा आएको मुन्धुम मार्गको लोकप्रियता पनि ह्वात्तै बढ्दो छ। यसैले स्थानीयस्तरमा सुविधासम्पन्न होटेलको अभाव खड्किरहेको छ। स्थानीयले केही होटेल, लज र होमस्टे सञ्चालन गरे पनि त्यो पर्यटकको हैसियतअनुसारको नभएको रञ्जितको बुझाइ छ। उनले भने, ‘यसैले मैले स्टारस्तरको सेवा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालन गरेको हुँ।’

रञ्जित आफूले रिसोर्टमा गरेको लगानीले शतप्रतिशत प्रतिफल दिनेमा विश्वस्त छन्। किनभने टेम्केमैयुङ यस्तो क्षेत्र हो जहाँबाट सातवटा रमाणीय हिमालसहित काठमाडौंको धरहरा र कोसी ब्यारेज पनि प्रस्ट देखिन्छ। यसैले मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि चिसो हावापानी र रमणीय खर्कसमेत भएको टेम्केमा आउने पर्यटकको संख्या दिनानुदिन बढ्दो छ। 

आएका पर्यटकलाई राम्रो सेवा सुविधा दिएर पथ प्रदर्शन गर्न सकेमा थप पर्यटक तान्न सकिने उनको दाबी छ। ‘टेम्केमा जसले लगानी गरे पनि खेर जाँदैन । किनभने यो देशकै सयवटा पर्यटकीय गन्तव्यमा परेको क्षेत्र हो। यहाँ पर्यटकले अध्ययन–अनुसन्धान पनि गर्न सक्छन्,’ रञ्जितले भने। मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि अहिले धनकुटाको लेगुवाघाट हुँदै भोजपुरका रमणीय स्थान घुमफिर गर्दै खोटाङको दिक्तेल बजार हेर्दै हलेसी महादेवको दर्शन गर्ने पर्यटकको संख्यामा पनि वृद्धि भइरहेको छ।

तराईबाट पहाडमा लगानी गरेर उद्यमी बन्न पुगेका युवा रञ्जित गिरी पहाडमा उद्यम गर्नेहरूलाई सम्भावना नै सम्भावना भए पनि राज्यको उदासीनताले जनशक्तिको भने अभाव रहेको उनी बताउँछन्। उनका अनुसार पहाडमा युवा जनशक्ति नहुँदा चिया बगानका लागि कर्मचारीको धेरै खाँचो छ। रिसोर्टमा पनि स्थानीयस्तरमा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन। भएका केही युवा राजनीतिमा लागेका छन्। त्यसैले बाहिरबाट जनशक्ति ल्याएर काम गराउनुपर्ने उनको बाध्यता छ । उनीहरू पनि धेरै टिक्दैनन्।

रञ्जितको तीनै तहका सरकारसँग एउटै आग्रह छ– अब पहाडमा लगानी गर्ने र युवालाई पहाड फर्काउने नीति ल्याउनुपर्छ । ‘सरकारले पहाड फर्केने परिवारलाई लगानीसहित प्रोत्साहन गर्नुपर्छ। यसो भए सुनसान बनेको पहाडको जीवन फेरि फर्कन्छ,’ रञ्जित विश्वस्त सुनिए।

ad
ad