![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/ful2023-04-15-07-15-45.jpeg)
सिराहाको लहान नगरपालिका १२ र २२ स्थित सलहेश फूलबारीमा हरेक वर्ष १ वैशाखमा फुल्ने फूल हेर्न लाग्ने मेलामा शुक्रबार दर्शनार्थीको भिड लाग्यो । नयाँ वर्षको फूलबारीको मध्यभागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रूखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न झापा, सुनसरी, मोरङ, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाबाट आएका दर्शनार्थीको मेलामा भिड लागेको हो ।
मेलामा छिमेकी मुलुक भारत बिहारको सहरसा, सुपौल, पूर्णिया, दरभंगा, पटनासम्मका दर्शनार्थीसमेत आएका थिए । आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रूपमा लिइने सुनाखरी फूलको माला हेर्न हरेक वर्षको नयाँ वर्षको दिन छिमेकी भारत र स्वदेशका हजारौँ मानिसको भिड लाग्ने गर्दछ ।
सलहेश गाथामा उल्लेख गरिएअनुसार फूलबारीधाम जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिका– ७ मा पर्ने महिसोथामा जन्मिएका लोकनायक सलहेशको प्रणयस्थल थियो । किंवदन्तीअनुसार महिसोथाबाट हात्ती चढेर सलहेश लहान गोविन्दपुरमा पर्ने माणिकदहमा स्नान गरी फूलबारीधाममा आएर फूल टिपी महिसोथामा पुगेर पूजाअर्चना गर्थे । तेह्रौँ शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेमसम्बन्ध रहेको भए पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने जनविश्वास रहेको सलहेश गहवरका पुजारी ४७ वर्षीय इन्द्रदेवसिंह धामी बताउँछन् ।