गुल्मीमा २४ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ। उन्नत जातको मकै २१ हजार सात सय ७५ र हाइब्रिड मकै दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ। जिल्लामा उन्नत जातको मकै ६४ हजार तीन सय ४६ टन र हाइब्रिड मकै १२ हजार आठ सय ४० टन उत्पादन हुन्छ।
कृषि ज्ञान केन्द्र गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९-८० मा ७७ हजार एक सय ८६ टन मकै उत्पादन भएको छ। पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन्। गुल्मीमा कुल मकै हुने क्षेत्रफलको ११.२४ हेक्टरमा हाइब्रिड मकै लगाइने कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए।
गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो। साधारणतया क्षेत्रअनुसार फागुनदेखि वैशाखसम्म लगाउने मकैलाई बर्खे मकै भनिन्छ। गुल्मीको भूगोलअनुसार मनकामना ३, रामपुर कम्पोजिट, मनकामना १ र देउती जातको मकै धेरै लगाइन्छ। हाइब्रिडमा सिपी ८०८ र ६६६, राजकुमार, जिके ३१४० र ३११४ तथा सुवर्ण जातको मकै धेरै लगाउने गरिएको छ।
गुल्मी बिउमा आत्मनिर्भर
गुल्मीबाट १३ टन उन्नत मकैको बिउ निर्यात हुन्छ भने १८ टन आयात गरिएको छ। त्यस्तै, हाइब्रिड बिउ ५५ टन आयात हुने गरेको ज्ञान केन्द्रले जनाएको छ।
नेपालमा ९२ जातका मकै सूचीकृत छन्। जसमध्ये ५२ जातका मकै आयातित वर्णशंकर (हाइब्रिड) हुन्। दुईवटा नेपाली वर्णशंकर जातहरूसमेत दर्ता छन्। गुल्मीको लागि उन्नत बिउ पाँच सय ५० मेट्रिक टन आवश्यक छ। बिउ उत्पादन करिब चार सय मेट्रिक टन भए पनि गुल्मेली किसानहरूमा सञ्चय गर्ने बानी हटेकाले छर्ने बेलामा बिउको अभाव देखिने गरेको छ। गुल्मीमा १७ वटा संस्थाले मकैको बिउ उत्पादन गर्ने गरेका छन्।
मकै बिउ उत्पादनमा जोड
गुल्मीमा मकैको बिउ उत्पादनमा जोड दिइएको छ। जिल्लामा बिउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत समन्वय समिति गठन, बिउको उपलब्धता र मूल्य निर्धारण, प्राविधिक सहयोग, किसानका लागि बिउ बिजन कार्यक्रम सञ्चालन गरिएको छ।
त्यस्तै, बृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रम, गोदाम घर, संकलन केन्द्रलगायतका पूर्वाधार निर्माण, प्रशोधन तथा प्याकेजिङ गर्ने गरिएको छ। साथै, क्रसिङ र छनोटद्वारा ‘गुल्मी–२’ जातको मकैको बिउ विकास भएको कार्यालयले जनाएको छ।
कृषि ज्ञान केन्द्रले धुर्कोट, छत्रकोट र रेसुंगामा मकै मिसन, धुर्कोट, मालिका, कालिगण्डकी र सत्यवतीमा मकै ब्लक, बिउ आत्मनिर्भर कार्यक्रम, बाली प्रजनन तथा संरक्षण कार्यक्रम, बिउ पुँजी कोष स्थापना, बिउ उत्पादक सञ्जाल गठन, प्रशोधन उद्योग स्थापना, साना सिँचाइ तथा यान्त्रीकरणलगायतका कार्यक्रम सञ्चालन गरेको छ।
बिउको बजार ग्यारेन्टी नहुँदा समस्या
नेपाली मकै बिउको बजार ग्यारेन्टी छैन। जसका कारण मकैको बिउ उत्पादक किसान ढुक्क हुन सकेका छैनन्। मदाने गाउँपालिका– ६ का व्यावसायिक मकै किसान लोकहरि कुँवरले मकैको बिउको ग्यारेन्टी नहुँदा देशबाहिरको बिउमा आकर्षण बढेको बताए। उनले धेरै फल्ने नाममा किसानहरूले विदेशी हाइब्रिड मकै लगाउन थालेकाले समस्या भएको बताए।
स्थानीय उन्नत जातको मकै बिउको मूल्य प्रतिकिलो सरदर एक सय रुपैयाँ छ। हाइब्रिड मकै बिउको मूल्य सात सय रुपैयाँ हुँदा पनि किसानले आयातीत बिउ नै लगाउने गरेका छन्।