मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २४ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २४ शुक्रबार १o:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गैँडाकोटमा खुल्यो नारायणी बिच रिसोर्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २४ शुक्रबार १o:५६:oo

नवलपुरको गैँडाकोट नगरपालिकामा ‘नारायणी बिच रिसोर्ट’ सञ्चालनमा आएको छ । नारायणगढपारि कुसुमघाटको नारायणी किनारमा समुद्रको झल्को दिने गरी रिसोर्ट सञ्चालनमा आएको हो ।रिसोर्टको गैँडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले उदघाटन गरिन् । भोटेकोसी किनारमा ‘सुकुटे बिच रिसोर्ट’ सञ्चालन गरिरहेका महेन्द्रसिंह थापाले गैँडाकोटमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्षसमेत रहेका उनले गैँडाकोटमा पर्यटनको सम्भवना देखेर रिसोर्ट खोलेको बताए ।

६ कट्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा २१ कोठा सञ्चालनमा आइसकेको र सातवटा कोठा थपिने क्रममा रहेको थापाले बताए । ‘हामीले विदेशको सामुद्रिक किनारकै झल्को दिने गरी रिसोर्ट र त्यस्तै सेवा दिनेछौँ,’ उनले भने, ‘हामीले पाहुनालाई जेट स्काइज र जेट बोटबाट समुद्रमा जस्तै नारायणी नदीमा जलयात्रा गराउँछौँ ।’ अहिले पनि जेट बोट चढेर नारायणीमा रिसोर्टबाट देवघाट पुगेर रिसोर्टमै फर्किन सकिन्छ । 

रिसोर्ट, जेट स्काइज, जेट बोटलगायतका पूर्वाधारमा २० करोड रुपैयाँभन्दा बढी लगानी हुने थापाले बताए । ‘अहिलेसम्म १५ करोड खर्च भइसकेको छ, अझै आधुनिक प्रविधियुक्त जेट स्काइज र जेट बोट थप्दै छौँ,’ उनले भने, ‘हामीले थाइल्यान्डको सामुद्रिक मज्जा स्वदेशकै नारायणी नदीमा उपलब्ध गराउन खोजेका हौँ ।’ 

चितवनको सौराहा, मेघौली, देवघाट र नवलपुरको अमलटारी, सिजी शाश्वतधामलगायत क्षेत्रमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर यस्तो सेवा सुरु गरेको उनको भनाइ छ । पछिल्लो समय नारायणीमा जेट बोटको मज्जा लिनका लागि पर्यटकको भिड नै लाग्ने गरेको छ । 

रिसोर्टले स्थानीय उत्पादनहरू तरकारी, अन्नबाली खपत गर्नुपर्ने गैँडाकोटकी उपमेयर कोइरालाले बताइन् । देशको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिएको चितवनमा नारायणगढ, सौराहा, मेघौली, कसारालगायत क्षेत्रमा होटेल तथा रिसोर्टको बहार आए पनि नवलपुरतर्फको गैँडाकोट क्षेत्रमा भने होटेल रिसोर्टमा त्यति ठूलो लगानी हुन सकेको थिएन । ठूलो लगानीको रिसोर्ट सञ्‍चालनमा आउँदा गैँडाकोट क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने स्थानीयको अपेक्षा छ ।