![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/sports22023-04-07-07-08-01.jpeg)
उपाधि दाबेदार त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन फुटबल लिगमा दोस्रो हारको सामना गरेको छ । एन्फाको च्यासल मैदानमा बिहीबार भएको खेलमा आर्मी तीनपटकको च्याम्पियन थ्री स्टारसँग १–० ले स्तब्ध भएको हो । थ्री स्टारको जितमा विदेशी खेलाडी अजायी मार्टिन्सले निर्णायक गोल गरेका थिए । तेस्रो जितपछि थ्री स्टार छैटौँ स्थानमा उक्लिएको छ । थ्री स्टारले ६ खेलबाट १० अंक जोडेको छ ।
थ्रीस्टारले तीन जित, एक बराबर र दुई खेलमा हार बेहोरेको छ । हारसँगै आर्मीले पाँचौँ स्थानमा उक्लने अवसर गुमायो । समान खेलबाट आठ अंक जोडेको आर्मी आठौँ स्थानमा छ । सातौँ चरणमा थ्री स्टारले २७ चैतमा सर्वाधिक आठपटकको च्याम्पियन मनाङ मस्र्याङदीको सामना गर्नेछ । आर्मीले २६ चैतमा तेस्रो स्थानको सातदोबाटो युथ क्लबको सामना गर्ने एन्फाको खेल तालिकामा उल्लेख छ ।
मार्टिन्सको निर्णायक गोल
तीन विदेशी खेलाडीको साथ पाएको थ्री स्टार र राष्ट्रिय टोलीका चार खेलाडी रहेको आर्मीबीच प्रतिस्पर्धात्मक खेल भएको थियो । आर्मीका भरत खवास, नवयुग श्रेष्ठ, विकास खवास र विकास तामाङ राष्ट्रिय टोलीमा छन् । आर्मीमा जगजित श्रेष्ठले पाँच खेलपछि पुनरागमन गरेका छन् । घाइतेका कारण जगजित मैदानबाहिर रहँदै आएका थिए । घुँडाको चोट बोकेका सन्नी व्यञ्जनकारले डेढ वर्षपछि घरेलु फुटबलमा थ्री स्टारबाट पुनरागमन गरेका छन् ।
च्यासल मैदानमा मार्टिन्सले खेलको १७औँ मिनेटमा थ्री स्टारलाई १–० को अग्रता दिलाए । मार्टिन्सले कप्तान विक्रम लामाको पास सदुपयोग गर्दै काउन्टर एट्याकमा गोल गरेका हुन् । खेलमा थप गोल नहुँदा मार्टिन्सको गोल नै निर्णायक बन्यो । आर्मीका स्ट्राइकर नवयुग, भरत र दिनेश हेम्जनले राम्रो अवसर चुकाए । थ्री स्टारमा मार्टिन्ससँगै लाकेन लिम्बू, योगेश श्रेष्ठ, आयुष श्रेष्ठ गोल थप गर्नबाट चुके ।
लिगमा चेन्चोको डेब्यु
युवा स्ट्राइकर विमल घर्तीमगरको एक मात्र गोलको सहयोगमा साबिक दुईपटकको विजेता मच्छिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँगको सम्भावित हार टारेको छ । मच्छिन्द्र र हिमालयनबीचको खेल १–१ गोलको बराबरीमा सकियो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा हिमालयनले सुरुवाती अग्रता बनायो । खेलको अन्तिम इन्जुरी समयमा विमलले गोल गरेपछि हिमालयन र मच्छिन्द्रले अंक बाँडे । राष्ट्रिय टोलीबाट खेलेका अधिकांश खेलाडीको साथ पाए पनि मच्छिन्द्रले खेलमा प्रभाव जमाउन सकेन ।
प्लेइङ सेटमा रहँदै भुटानी राष्ट्रिय टोलीका स्ट्राइकर चेन्चोले मच्छिन्द्रबाट डेब्यु गरे । भुटानका लागि सर्वाधिक गोलकर्तासमेत रहेका चेन्चोलाई मच्छिन्द्रले गत साता अनुबन्ध गरेको थियो । उनले पूरा समय मैदानमा बिताए पनि प्रभाव जमाउन सकेनन् । यसअघि चेन्चोले पञ्जाब एफसीलाई इन्डियन सुपर लिगमा बढुवा गराउन भूमिका खेलेका थिए । खेलमा मच्छिन्द्र र हिमालयनले चार विदेशी खेलाडी मैदानमा उतारेको थिए ।
खेलको ८६औँ मिनेटमा भारतीय खेलाडी सत्यम शर्माले पेनाल्टीमार्फत हिमालयनलाई १–० को अग्रता दिलाए । ६ खेल खेलेका सत्यमले लिगमा पहिलो गोल गरेका हुन् । निशान लिम्बूको प्रहार मच्छिन्द्रका रक्षक छिरिङ गुरुङले ह्यान्ड गरेपछि हिमालयनले पेनाल्टी प्राप्त गरेको हो । थप भएको ६ मिनेटको इन्जुरी समयमा विमलले मच्छिन्द्रलाई बराबरीमा ल्याए । ६ खेलपछि हिमालयन र मच्छिन्द्रको समान ६ अंक छ । गोलअन्तरमा हिमालयन नवौँ र मच्छिन्द्र दशौँ स्थानमा रहेका छन् ।