मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १४ आइतबार
  • Sunday, 01 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १८ शनिबार १२:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्दा रहेछन् : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १८ शनिबार १२:४८:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिसनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन्।

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले कोष कमिसनको पछि लाग्ने गरेको बताएको जिकिर गरे।

‘हाम्रो प्रवृत्ति कस्तो भयो भने– मन्त्री भइसकेपछि गाडीबाट तल नझर्ने, कर्मचारी सीमित जागिर मात्रै खाने हो भन्ने ठान्ने, विकास कोषका साथीहरू कहाँबाट कमिसन आउँछ, खालि त्यतै मात्रै लाग्ने,’ उनले भने।

मन्त्री किराँतीले पशुपति क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको बताए। दर्शनार्थीहरूले आफूलाई ट्वाइलेट कता छ भनी सोधेको र आफू पनि टवाइलेट खोज्दै हिँड्नुपर्ने अवस्था आएको उनको गुनासो थियो।

मन्त्री किराँतीले भने, ‘त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर, अब संस्कृति जनतामा कस्तो भने– कुकुर डोहोर्‍याउँदै जाने, मर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लास्टिकमा फोहोर फ्याँकेर हिँड्ने। हामी सबै सुध्रिनुपर्ने देखिन्छ।’