भोलिदेखि यस वर्षको एसइई प्रारम्भ हुँदै छ । यस वर्ष पाँच लाख १६ हजार पाँच सय ७७ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । यस वर्ष जम्मा दुई हजार ३७ परीक्षा केन्द्र निर्धारण गरिएका छन् । परीक्षा सञ्चालनका लागि खटिएका शिक्षक र कर्मचारी सम्बन्धित केन्द्रमा पुगिसकेका छन् । दुर्गम क्षेत्रमा घरदेखि टाढा–टाढा परीक्षा केन्द्र कायम गरिएका परीक्षार्थीसमेत परीक्षा दिनका लागि आआफ्नो परीक्षा केन्द्रमा पुगिसकेका छन् । यसरी परीक्षापूर्वको तयारीका सम्पूर्ण कार्य सकिएका छन् ।
विगतका वर्षभन्दा यस वर्षको एसइईमा केही तात्विक भिन्नता देखिन्छ । खासगरी प्रदेशले परीक्षाको सञ्चालन, व्यवस्थापन र उत्तरपुस्तिका परीक्षण तथा प्रदेशगत रूपमा नतिजा टेबुलेसन कार्यको नेतृत्व गरिरहेको छ भने प्रश्नपत्र निर्माण, नतिजा प्रकाशन, प्रमाणपत्रको छपाइ र वितरणको कार्य राष्ट्रिय परीक्षा बोर्डबाट गरिँदै छ । यसरी संघीयताको मर्मअनुसार एसइईको सञ्चालन र व्यवस्थापन प्रदेशमार्फत गरिने कार्य संस्थागत हुनुलाई सकारात्मक मान्न सकिन्छ ।
उपर्युक्त सन्दर्भ हेर्दा एसइईको सञ्चालन र व्यवस्थापनको सन्दर्भ फेरिएको छ । एसएलसीबाट एसइईमा सीमित भएको छ । तैपनि विगतमा एसएलसी जसरी सञ्चालन हुने गर्थ्याे, त्यसैको तामझाममा देखिने गरी अहिलेका वर्षमा पनि एसइई सञ्चालन हुँदै छ । अहिलेको व्यवस्थाअनुसार एसइई विद्यालय तहको अन्त्यमा सञ्चालन हुने परीक्षा होइन । विद्यालय तहको अन्त्यमा सञ्चालन हुने परीक्षा त १२ कक्षाको परीक्षा हो । एसइई विद्यालय तहको ‘एक्जिट’ होइन । यसपछि उच्च शिक्षातर्फको अध्ययन सुरु हुने पनि होइन । यसपछि पनि विद्यालय तहकै शिक्षामा दुई वर्ष अध्ययन गर्नुपर्ने संरचनागत व्यवस्था छ । तैपनि एसएलसीकै तामझाममा किन एसइई सञ्चालन गरिँदै छ । यसका केही कारणबारे यहाँ चर्चा गर्न आवश्यक छ ।
पहिलो कारण– एसइई परीक्षाको औचित्यबारे विद्यार्थी स्वयं र तिनका अभिभावकलाई बुझाउन सकिएको छैन । दोस्रो कारण– एसइईको नतिजा प्रदर्शन गरेर बढीभन्दा बढी विद्यार्थी आकर्षण गर्ने शैक्षिक संस्थाहरूको नियतलाई नियमन गरेर नियन्त्रणमा राख्न सकिएन । तेस्रो कारण– परीक्षाको मनोसामाजिक भयलाई अन्त्य गर्न सकिएको छैन । परीक्षा विद्यार्थीको सिकाइ सुदृढीकरणका लागि हो, शिक्षकको शिक्षण सबलीकरणका लागि हो, विद्यालयको समग्र सुधारका लागि हो, पाठ्यक्रमलाई सुधार गर्न पृष्ठपोषण प्रदान गर्ने आधार हो भन्ने दृष्टिले परीक्षालाई बुझ्न र ग्रहण गर्न सकिएको छैन । यसरी यी विभिन्न अवस्था सिर्जना हुनुको मूल कारण सिकाइकेन्द्रित शिक्षण क्रियाकलाप कमजोर हुनु नै होे ।
एसइई विद्यालय तहको ‘एक्जिट’ होइन । एसइईपछि उच्च शिक्षातर्फको अध्ययन सुरु हुने पनि होइन । अहिलेको व्यवस्थाअनुसार विद्यालय तहको अन्त्यमा सञ्चालन हुने परीक्षा १२ कक्षाको हो । तैपनि, एसएलसीकै तामझाममा किन एसइई सञ्चालन गरिँदै छ ।
वर्षभरि जति दिन विद्यालय सञ्चालन हुनुपर्थ्याे, जति दिन शिक्षण सिकाइ क्रियाकलाप हुनुपर्थ्याे, शैक्षिक क्यालेन्डरअनुसार जुन रूपमा शिक्षण सिकाइमा सन्तुलन रहुनुपर्थ्याे, विद्यार्थीको सिकाइ उपलब्धिमा शिक्षक जुन हदसम्म जवाफदेही बन्नुपर्थ्याे, विद्यार्थीको सिकाइ सक्षमता जुन ढंगले हासिल हुनुपर्थ्याे अर्थात् पाठ्यक्रमको कार्यान्वयन जसरी प्रभावकारी रूपमा हुनुपर्थ्याे, तत्तत् ढंगले हुन नसक्दा परीक्षाजन्य फोबिया परीक्षा दिने विद्यार्थीमा मात्र होइन, परीक्षा सञ्चालन र व्यवस्थापनमा संलग्न प्रशासनका साथै अभिभावक र समुदायमा समेत सिर्जना हुने गर्छ । त्यो क्रम यद्यपि भंग हुन सकेको छैन ।
लगानी र प्रक्रियालाई उपेक्षा गरेर प्रतिफलमा मात्र ध्यान दिने शैक्षिक पद्धतिका कारण पनि विद्यार्थीमा जसरी पनि राम्रो नतिजा ल्याउनैपर्ने, अभिभावक, विद्यालय र शिक्षक पनि यसका लागि जुनसुकै हर्कत गर्न तयार हुने मनोविज्ञान देखिन्छ । यसबाट परीक्षा शैक्षिक सुधार, विकास र उन्नयनको साधनभन्दा शैक्षिक पद्धतिलाई थप विकृत बनाउने तत्वका रूपमा चित्रित हुन थालेको महसुस हुने गर्छ । यसको सुधार अपरिहार्य छ ।
आफूले सिकाउँदा आफ्नो विद्यार्थीले सिके–नसिकेको जान्ने, बुझ्ने र विश्लेषण गर्न सक्ने शिक्षक नै हो । कसरी सिकाउँदा विद्यार्थी राम्ररी सिक्छ भन्ने भेउ पाउने पनि शिक्षक नै हो । त्यसैले, शिक्षकले नै मूल्यांकन गर्दा विद्यार्थीको सही मूल्यांकन हुन सक्छ । तर, कोभिड १९ को समयमा शिक्षकले गरेको एसइईको मूल्यांकनले विश्वसनीयता कायम गर्न सकेन । कुनै एउटा विद्यालयका ३५ जना विद्यार्थीमा ३५ जनाले नै ४ जिपिए प्राप्त गरेको देखियो । यसरी मूल्यांकनको प्राज्ञिक धर्म बिर्सेर आफ्नो हात जगन्नाथ गर्ने केही शिक्षकका कारण पनि शिक्षक केन्द्रित मूल्यांकनको विकास गर्न कठिन भएको देखिन्छ । यसको असर विद्यार्थीको समग्र मूल्यांकनमा परेको छ ।
एसइई परीक्षा सञ्चालनमा दुई कित्ता देखिन्छ । एउटा कित्तामा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय छन् । यस कित्तामा हुनेहरूमा जसरी भए पनि नतिजा राम्रो ल्याउने मनोविज्ञान छ । अर्काे कित्तामा परीक्षा सञ्चालनमा संलग्न हुने शैक्षिक प्रशासन छ, जसको ध्यान परीक्षालाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रित छ । यस सन्दर्भमा यी दुई कित्ताबीच द्वन्द्व र असमझदारी देखिने गरेको छ । यो अवस्था रहिरहेसम्म परीक्षाको सार प्राप्त गर्न कठिन नै हुनेछ ।
खासगरी एसइई परीक्षा सञ्चालनको सार वस्तुमा ध्यान दिन सकिएको छैन भन्दा हुन्छ । एसइई परीक्षाको केन्द्रबिन्दुमा विद्यार्थी हुनुपर्थ्याे, १४ वर्षको उमेरमा एसइईमा सहभागी हुने विद्यार्थीलाई सहज ढंगले, बाल अधिकारको कदर हुने गरी, उनीहरूको मनोविज्ञानअनुसार परीक्षा सञ्चालनको व्यवस्थापन गर्न सकिएको छैन । हाम्रो परीक्षा सञ्चालन पद्धतिले सहजीकरणभन्दा नियन्त्रण, प्रोत्साहनभन्दा निरुत्साहन, आशावादिताभन्दा निराशा, शिक्षण सिकाइमा विद्यार्थीको आकर्षणभन्दा विकर्षण गरिरहेको देखिन्छ । हामीले प्रयोग गरिरहेको परीक्षा पद्धतिले दशकौँ शिक्षण सिकाइमा संलग्न रहेर जीवन निर्वाहका लागि आवश्यकीय सक्षमताको सुनिश्चितताभन्दा असफलताको भारी बोकाएर लाखौँ विद्यार्थीलाई निराशाको तुवाँलोतर्फ जीवनलाई अभिमुख गरिरहेको छ । यो परीक्षाको धर्म र मर्म हुन सक्दैन ।
अर्काेतर्फ ३५ प्रतिशत सिकाइ उपलब्धिलाई सफलताको मानक ठानिन्छ । यो कति सार्थक छ ? कति औचित्यपूर्ण छ ? एउटा सफल जीवनका लागि यो सिकाइ उपलब्धि कामकाजी छ कि छैन ? कहिल्यै पनि यसतर्फ सोचिएको, विचार र विश्लेषण गरिएको छैन । फलतः निकै पुरानो यो मानक परिवर्तन हुन सकिरहेको पनि छैन ।
बदलिँदो अनिश्चित समय, प्रतिस्पर्धा र विश्वव्यापीकरणले निकै ठूलो चुनौती सिर्जना गरिरहेका वेला १०० कुरा सिकाउँदा १०० भन्दा बढी कुरा सिक्नुपर्ने होइन र ? सिकाइ भनेको शिक्षक विद्यार्थीबीचको अन्तर्क्रिया भएकाले यसले ‘सिर्नजेटिक’ प्रभाव सिर्जना गर्नुपर्ने होइन र ? २ जोड २ बाट ४ हुने नभई ५ हुने सिकाइ अहिलेको आवश्यकता हो । तर, २ जोड २ बाट ३ मात्र नभई कहिलेकाहीँ १ पनि भइरहेको छ । यसबाट चुनौतीपूर्ण भविष्य र प्रतिस्पर्धी विश्वमा खरो र दरो रूपमा उत्रन सक्ने विद्यार्थीको विकास गर्न सकिएला त ? यस सन्दर्भमा हेर्दा हाम्रो शिक्षा प्रणालीको अपेक्षा नै कमजोर छ । यसैका कारण शिक्षकको जवाफदेहिता र कक्षाकोठाको शिक्षण सिकाइको प्रभावकारिता कमजोर हुन गई ३५ प्रतिशत नै हासिल गर्न असमर्थ सिकारुको उत्पादन अवश्यम्भावी हुन गएको छ ।
परीक्षालाई निरन्तर प्रक्रियाका रूपमा आत्मसात् गर्न नसक्ने परम्पराका कारण पनि एसएलसी ‘आइरन गेट’ बनिरह्यो । यो कहल्यै ‘गोल्डेन गेट’मा परिणत हुन सकेन । उहिलेको एसएलसी अहिलेको एसइईमा परिणत भइरहँदा पनि एसएलसीको हाउगुजीबाट रत्तिभर मुक्त हुन सकिएन । परीक्षा भन्नेबित्तिकै विद्यार्थी डराउने अवस्था अन्त्य गर्नतिर कोही लागेन, लाग्न पनि आवश्यक ठानेन । यस अवस्थाले बालमनोविज्ञान र शिक्षा आर्जनमा पार्ने नकारात्मक प्रभावको हिसाब कसैले राख्न सकेन । यसरी परीक्षालाई बालमैत्री बनाउन कोही तयार नहुनु, बरु परीक्षाको सन्त्रास सिर्जना गरेर विद्यार्थी तर्साउने परम्पराबाट परीक्षाको व्यवस्थापन र सञ्चालन हुनु विडम्बनापूर्ण अवस्था हो । यसको अन्त सर्वथा आवश्यक छ ।
परीक्षालाई मनौवैज्ञानिक भयका रूपमा स्थापित त गरिएकै छ । अझ परीक्षा सञ्चालनपूर्व, परीक्षा सञ्चालन अवधि र परीक्षा सञ्चालनपछिको समयमा नपुर्याइने सामान्य सतर्कताका कारण प्रविधि पुस्ताका विद्यार्थी हाम्रो शैक्षिक व्यवस्थापनप्रति असन्तुष्ट हुँदै जाने जोखिम देखिन्छ । जस्तो– दुर्गम क्षेत्रमा परीक्षा सञ्चालन र व्यवस्थापनमा हुने अनियमितताका कारण होम सेन्टरविहीन बनाएर परीक्षाको मुखैमा विद्यार्थीलाई कोसाैँ टाढा पुर्याइएको छ । घरमै बसेर तनावविहीन ढंगले परीक्षा दिन पाउने अवसरबाट विद्यार्थी वञ्चित गरिएका छन् । के यो शैक्षिक व्यवस्थापन, मूल्यांकन प्रक्रिया तथा बाल अधिकारका हिसाबले उपयुक्त हो त ? यसरी नै परीक्षा सञ्चालन अवधिमा विद्यार्थीलाई आइपर्ने स्वास्थ्यजन्य समस्यालाई परीक्षाको नीतिमा समावेश गर्न सकिएको छैन । साथै नतिजा प्रकाशनपछि पनि हुने विभिन्न प्राविधिक तथा प्रशासनिक त्रुटिलाई न्यूनीकरण गर्न र त्यस्ता त्रुटिको द्रुतगतिमा सम्बोधन गर्न आवश्यकीय प्रबन्ध पनि हुन सकिरहेको छैन ।
अहिलेको व्यवस्थाअनुसार एसइई विद्यालय तहको अन्त्यमा सञ्चालन हुने परीक्षा होइन । विद्यालय तहको अन्त्यमा सञ्चालन हुने परीक्षा त १२ कक्षाको परीक्षा हो । एसइई विद्यालय तहको ‘एक्जिट’ होइन । यसपछि उच्च शिक्षातर्फको अध्ययन सुरु हुने पनि होइन । यसपछि पनि विद्यालय तहकै शिक्षामा दुई वर्ष अध्ययन गर्नुपर्ने संरचनागत व्यवस्था छ । तैपनि एसएलसीकै तामझाममा किन एसइई सञ्चालन गरिँदै छ ।
प्रश्नपत्र निर्माणलगायतमा हुने त्रुटि निराकरण गर्न, प्रश्नपत्र नदोहोरिने अवस्थाको सुनिश्चितता हुन सकिरहेको छैन । प्रश्नहरू पनि विद्यार्थीको खास सिकाइको मापन गर्न, विद्यार्थीको सिर्जनशीलता र नवप्रवर्तनशीलतालाई स्थान दिन कत्तिको समर्थ छन् । सोको विश्लेषण प्रायः कम हुने गरेको देखिन्छ । परीक्षा र मूल्यांकनको पाठ्यक्रमको कार्यान्वयनमा के सम्बन्ध छ ? सोको सहसम्बन्ध अध्ययन अनुसन्धान गर्ने र निष्कर्षलाई प्रयोगमा ल्याउन सकिएको देखिँदैन । यद्यपि राष्ट्रिय परीक्षा बोर्डको वर्तमान नेतृत्वले परीक्षा सञ्चालन र व्यवस्थापनमा लिने गरेको पहल र परीक्षा सुधारमा विकास गरेको कार्ययोजना सराहनीय छ । यसको प्रभावकारी कार्यान्वयनबाट एसइई परीक्षा सञ्चालन र व्यवस्थापनमा तात्विक सुधार आउने अपेक्षा गर्न सकिन्छ ।
सारमा भन्दा हाम्रो परीक्षा व्यवस्थापन प्रशासनकेन्द्रित मात्र देखिन्छ । नियन्त्रणमुखी छ । विद्यार्थी र किशोर–किशोरीमैत्री हुन सकिरहेको छैन । अपांगमैत्री रूपमा सञ्चालन हुन सकिरहेको छैन । परीक्षा सञ्चालन र व्यवस्थापनको वातावरण कस्तो हुन सके परीक्षार्थीले आफ्नो सिकाइलाई उत्तरपुस्तिकामा दुरुस्त उतार्न सक्छन् भन्ने विषयमा अध्ययन अनुसन्धान गरी प्राप्त हुने निष्कर्षलाई अवलम्बन गर्ने संस्कारका विकास गर्न सकिएको छैन ।
अन्त्यमा, १४ वर्ष उमेरका बालबालिका संलग्न हुने एसइई परीक्षालाई यिनीहरूको बालमनोभावना, स्तर र उमेरअनुसार बनाउनुपर्छ । यसका लागि शिक्षक, अभिभावक र विद्यालयले सहकार्य गर्नुपर्छ । परीक्षाको दिन रातभर घोकेर अर्थात् घोक्न बाध्य पारेर परीक्षामा सहभागी हुने वा गराउने कार्य उपयुक्त होइन । वर्षभरि विद्यार्थीले सिकेको कुरा तीन घन्टाको परीक्षामा प्रस्तुत गर्न समर्थ बनाउन पनि परीक्षाको मुखमा आफ्ना विद्यार्थी, छोराछोरी तथा परीक्षार्थीलाई विद्यालय, शिक्षक, अभिभावक र परीक्षा प्रशासनले उपयुक्त सहजीकरण गर्न आवश्यक छ । तनाव, दबाब र प्रभावरहित ढंगले सम्पूर्ण विद्यार्थीले परीक्षा दिन सक्ने अवस्थाको सुनिश्चितता गर्न प्रत्येक जिम्मेवार व्यक्ति र संस्थाले अहं भूमिका निर्वाह गरौँ ।
(नेपाल सरकारका उपसचिव सिंह बुढानीलकण्ठ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखामा कार्यरत छन्)