१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Friday, 09 May, 2025
उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो। तस्बिर : विदुर कटुवाल/नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १५:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रणबाहिर, उच्च जोखिममा बस्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १५:४९:oo

सुक्खा मौसम सुरु भएसँगै उदयपुरको चुरे र महाभारत वन क्षेत्रमा डढेलो  फैलिएको छ। जिल्लाका दुई वन डिभिजन कार्यालयका अनुसार हालसम्म झन्डै ६० हेक्टर वन क्षेत्रमा डढेलो फैलिएको हो।

सुक्खा मौसमको समयमा हावाहुरीको कारण डढेलो नियन्त्रणबाहिर गएको वन डिभिजन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले बताए। 

उनले भने, ‘गाईघाट डिभिजन कार्यालयमातहतमा ४० हेक्टर वन क्षेत्रमा डढेलो फैलिएको छ। यता वन डिभिजन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत भोगेन्द्र मण्डलले कटारी क्षेत्रमा हालसम्म २० हेक्टर क्षेत्रमा डढेलो लागेको बताए। उनले भने, ‘महाभारत र चुरे वन क्षेत्रमा डढेलो लागेको छ। नियन्त्रणमा लिने काम पनि जारी रहेको छ।’

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निभाउने काम गरेको वन अधिकृतहरूको भनाइ छ। चुरे तथा महाभारत क्षेत्रको भूबनोटले गर्दा डढेलो नियन्त्रणबाहिर गएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अधिकृत मण्डलले बताए। 

केही परेको पानीका कारण डढेलो नियन्त्रणमा आए पनि गर्मी मौसम बढेसँगै डढेलो नियन्त्रणबाहिर गरेको छ। वनमा लागेको डढेलो गाउँबस्तीमा नजिकै आएपछि चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिकाले दमकल प्रयोग गरी बस्तीनजिकका आगो नियन्त्रणमा लिइएको थियो। 

डढेलोको जोखिममा मानवबस्ती 

वन क्षेत्र नजिक रहेका स्थानीय डढेलोको कारण त्रसित बनेका छन्। चुरे र महाभारतका वननजिक रहेका मानवबस्ती ढडेलोका जोखिममा परेको वन डिभिजन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले बताए । उनले भने, ‘जंगलको डढेलो बस्तीमा पस्ने खतरा भएकाले स्थानीय नियन्त्रणका लागि जुट्ने गरेका छन्।’

चुरे क्षेत्रमा पर्ने बेलका, चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिका, उदयपुरगढी र रौतामाई गाउँपालिका क्षेत्रका मानवबस्ती जोखिममा परेको वन कार्यालयहरूले जनाएका छन्। 

वन डिभिजन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत भोगेन्द्र मण्डल भन्छन्, ‘डढेलो गाउँ पस्ने जोखिम बढेपछि स्थानीयहरू पनि डढेलो नियन्त्रणमा जुट्ने गरेका छन्।’

किन लाग्छ डढेलो ?

डढेलो लगाएपछि वनमा नयाँ घाँस उम्रिने विश्वासमा सर्वसाधारणले वनमा डढेलो लगाउँछन्। जनचेतना अभावका कारण स्थानीयले लगाउने आगो हुरीका कारण फैलेर वन सखाप हुने गरेको छ । यसरी लाग्ने डढेलो बस्ती पुग्दा जनधनको क्षति हुने गरेको छ। 

‘नयाँ घाँस पलाउने विश्वासले डढेलो लगाउने गर्छन्,’ त्रियुगा नगरपालिका– ११ की गायत्रा काफ्लेले भनिन्, ‘डढेलोका कारण अमूल्य जडीबुटी, बोटबिरुवा नष्ट हुने गरेको छ।’ 

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र ठेकेदारसमेतको मिलेमतोमा डढेलो लगाउने गरेको स्थानीयवासीको बताउँछन्। 

‘वनमा डढेलो लगाएपछि वनका रूख मर्ने भएकाले त्यसलाई बिक्री गर्न पाइन्छ,’ उदयपुरका स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरेले भने, ‘त्यसका लागि ठेकेदार र वनका पदाधिकारी मिलेर ढडेलो लगाउँछन्। तर, डढेलो लगाउनेको पहिचान गरी कारबाही गरेको अहिलेसम्म नसुनिएको छैन।’

डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी साहले सर्वसाधारणकै हेलचेक्य्राइँका कारण अनि नयाँ घाँस पलाउने भन्दै डढेलो लगाउने प्रवृत्तिका कारण चुरेको डढेलो लागेको बताए।