
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।
कांग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री थापाले बिहीबार शीतलनिवासमा पत्र बुझेका छन् । उनले शुक्रबारदेखि कार्यभार सम्हाल्नेछन् ।
थापा आपूर्तिमन्त्री हुँदा दक्षिण एसियाको पहिलो नेपाल–भारत सीमापार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सुरुवात भएको थियो । थापासँग संयुक्त राष्ट्रसंघको उच्च ओहोदामा काम गरेकोसमेत अनुभव छ ।
राष्ट्रपति पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवर नियुक्त गरेका छन् । पौडेलले सचिवालयसमेत हेर्ने गरी डा. सुरेशचन्द्र चालिसेलाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरिसकेका छन् ।