Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १४ मंगलबार १४:११:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूराजनीतिक अवस्थिति र शक्तिराष्ट्रहरूको सामरिक सामर्थ्यको प्रतिस्पर्धाले सुरक्षा चुनाैती बढ्याे : प्रधानमन्त्री 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १४ मंगलबार १४:११:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको भूराजनीतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्तिराष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धाबाट सुरक्षा चुनाैती थपिएको बताएका छन्।राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। 

उनले भने, ‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ। देशको भूराजनीतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्तिराष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सिमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिलगायतका चुनौतीहरू आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ।’ 

उनले सुरक्षा चुनौतीको सामना गर्न राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधनस्राेतयुक्त बनाउन आवश्यक रहेको औँल्याए। 

सम्बोधनको पूर्णपाठ 

१.  नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका वरिष्ठ अधिकारीहरू सम्मिलित राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा केन्द्रित सि.सं. ८ राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहको शुभअवसरमा आफ्नो समापन मन्तव्य राख्न पाउँदा मलाई ज्यादै खुसी लागेको छ।

२. सर्वप्रथम म यस महत्वपूर्ण तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण सहभागीलाई हार्दिक बधाई ज्ञापन र यहाँहरूको व्यावसायिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु।

उपस्थित महानुभावहरू,

३.  नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको छ। विश्वपरिवेशमा भइरहेका घटनाहरूको कारण राष्ट्रिय सुरक्षाको मामिलामा भएको क्रमिक विकास र परिवर्तन,अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा उदीयमान शक्तिराष्ट्रहरू, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासको साथै राष्ट्रिय रूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनहरूले हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यो तथ्य नेपालजस्ता मुलुकहरूका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ।

४. प्रत्येक राष्ट्रले आ-आफ्नो मूल्य-मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गर्दछ। राष्ट्रिय सुरक्षा भनेकै राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा हो । यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायतलाई पनि सम्बाेधन गर्नु उत्तिकै आवश्यक पर्दछ। त्यसका लागि आमनागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकसित तुल्याउनुपर्दछ।

५. नेपालको संविधानले निर्देशित गरेको नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र संप्रदायमा पारस्परिक सदभाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता छ । सोहीअनुसार राष्ट्रिय सुरक्षा नीति, २०७३ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति (२०७५) कार्यान्वयनमा ल्याइसकिएको छ। यसबाट नेपालका सबै सुरक्षा निकायलाई सबल, सक्षम, सुदृढ, व्यावसायिक बनाउन तथा आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी  प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्नेछ।

उपस्थित महानुभावहरू, 

६. वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ। देशको भूराजनीतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रूपमा शक्तिराष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रूपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सिमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरूलगायतका चुनौतीहरू आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ।

यसको प्रतिवाद एवं समाधानका लागि राष्ट्रिय शक्तिका मुख्य तत्वहरू–  राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन स्राेतले सम्पन्न गराउँदै समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गरी त्यस्ता चुनौतीको डटेर सामना गर्न हामी सक्षम छौँ भन्ने मैले विश्वास लिएको छु। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने पनि म विश्वास दिलाउँछु।

७. तसर्थ, परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्यांकन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी हुन्छ। हाम्रो प्राथमिकता र विश्लेषण सुरक्षा खतराको बहुआयामिक पक्षहरू र त्यसको समाधानको कुशलतामा केन्द्रित हुनुपर्दछ। त्यसैले तपाईंहरूलाई परम्परागत एवं विकसित सुरक्षा खतराका नयाँ आयामहरूको थप गहिरो अध्ययन र विश्लेषण गरी आवश्यक पहलकदमीका लागि पनि म विशेष अनुरोध गर्दछु। 

८. तालिमको समयमा तपाईंहरूमाझ आफ्नो कार्यक्षेत्रमा प्राप्त ज्ञान र अनुभवको साटासाट, राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षसँग सम्बन्धित प्राज्ञहरूबाट ज्ञान प्राप्तिलगायत तपाईंहरूको गहन छलफल भएको कुरामा म विश्वस्त छु। यसबाट राष्ट्रिय सुरक्षासम्बन्धी ज्ञानको दायरा थप फराकिलो भएको र राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर बृहत्तर राष्ट्रिय हितको लागि सम्बन्धित विभिन्न सरकारी निकायहरू तथा गैरसरकारी निकायहरूबीच के–कसरी समन्वयकारी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत यथेष्ट जानकारी भएको विश्वास मैले लिएको छु। यो तपाईंहरूको व्यक्तिगत एवं व्यावसायिक जीवनका लागि समेत ठूलो पुँजी हो।

९. अन्त्यमा, तालिममा सरिक सम्पूर्ण सहभागीहरूलाई नेपाल सरकारको तर्फबाट हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राष्ट्रिय सुरक्षाजस्तो अति महत्वपूर्ण विषयमा उच्चस्तरको तालिम सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रक्षा मन्त्रालय, नेपाली सेना एवं सैनिक कमाण्ड तथा स्टाफ कलेजलगायत सबैलाई हार्दिक धन्यवाद दिँदै सि.सं. ८ राष्ट्रिय सुरक्षा तालिम समापन भएको घोषणा गर्दछु।

धन्यवाद !