मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ९ बिहीबार ०७:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मध्यपहाडी राजमार्गका पेटी ठेकेदारद्वारा ५३ मजदुरको ज्याला ठगी

Read Time : > 1 मिनेट
२०७९ चैत ९ बिहीबार ०७:५२:००

गमौडीका विपन्न समुदायका ५३ जना कामदारको मेट (नाइके) बनेर मध्यमहाडी राजमार्गको काममा लैजाने लालबहादुर खड्का अहिले निकै पीडामा छन् । दुई वर्षअघि मुख्य ठेक्काको जिम्मा लिएको कन्काई मोतीदान कम्पनीबाट पेटी ठेक्का लिएका मगदुल बरालमार्फत उनीसँगै ५३ जना कामदारले दुई महिना काम गरे । तर, हालसम्म पनि  करिब चार लाख मजदुरहरूले पाएका रकम पाएका छैनन् ।

मजदुरहरूले आफूले काम गरेको हाजिरी ल्याएर जिल्ला प्रशासनमा उजुरी गरेको पनि डेढ वर्ष पुगिसक्यो । न्यायको आसमा दैलेख गमौडीका ६५ वर्षीय खड्कबहादुर खड्का सिमेन्टले खाएको खुट्टा देखाउँदै न्याय माग्न जिल्ला प्रशासन, जिल्ला प्रहरी र मध्यपहाडी राजमार्ग आयोजनामा धाइरहेका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट न्याय नपाएपछि अहिले उनीहरू प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसँग गुनासो गर्न आएका छन् । पेटी ठेकेदारले रासनबापत पनि लाखौँ रकम उधारो नतिरेको स्थानीय व्यापारी मञ्जु थापाको गुनासो छ । 

 कन्काई मोतीदानले आफूले जिम्मा पाएको काम रकम कमिसन राखेर पेटी ठेकेदार लाल शुभम् भन्ने कम्पनीको अनुज खड्कालाई जिम्मेवारी दियो । अनुज खड्काले पुनः केही कमिसन आफूलाई राखेर मगदुल बराल, गणेश बिसी, जयलाल बोहरालगायतलाई पेटी ठेक्कामा लगायो । पेटी ठेकेदारहरूले हामी नै मुख्य ठेकेदार हौँ भन्दै किर्ते कागज देखाएर उधारोमा सामान लिनुका साथै कामदारलाई काममा लगाए । कतिपय व्यापारीको विश्वास जितेर नगदसमेत लिन भ्याए । कामदार र स्थानीय व्यापारीको रकम ठगेर भागेपछि मात्रै उनीहरू पेटी ठेकेदार भएको थाहा पाएको स्थानीयहरूले बताए । 

अन्यायमा परेका कामदारसँग मुख्य ठेकेदारसँग रकम असुल गर्ने प्रमाण छैन ।  गलत नाम राखेर कम्पनीको नाम बेच्दै पेटी ठेकेदारले जनता ठगे । तर, अहिले मुख्य ठेकेदार काममा आएका छन् । मुख्य ठेकेदारले भने प्रमाण माग्ने गरेको कारण स्थानीय व्यापारी तथा मजदुर अलमलमा परेका छन् ।

दैलेखको मध्यपहाडी राजमार्गअन्तर्गत विभिन्न खण्डमा पेटी ठेक्काको जिम्मा लिएर ठगी गर्नेहरूलाई तुरुन्त झिकाउन मुख्य ठेकेदार कम्पनी र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले निर्देशन दिएका छन् । जनता ठगी गरेर भाग्न कसैले नपाउने भन्दै उनीहरूको विस्तृत विवरण उपलब्ध गराउन दैलेखमा काम गरिरहेको मुख्य ठेकेदार कम्पनी कन्काई मोतीदानलाई प्रजिअले निर्देशन दिएका हुन् । दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले कानुनअनुसार पीडितहरूको पक्षमा ठगी गर्ने ठेकेदारहरूले कुनै पनि प्रमाण नदिएकाले समस्या भएको बताए । सबैको सहयोगमा ठगी गर्नेहरूको खोजी गरेर कानुनअनुसार प्रक्रिया अगाडि बढाइने उनले प्रतिबद्धता जनाए ।