१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ७ मंगलबार ११:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा पहिलोपटक श्रीअयुतचण्डी र श्रीमहागणपति महायज्ञ हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ७ मंगलबार ११:०१:००

नेपालमा पहिलोपटक श्रीअयुतचण्डी महायज्ञ एवं श्रीमहागणपति महायज्ञ हुने भएको छ । कुल ५७ दिन लामो महायज्ञको विधिवत् सुरुवात २७ फागुनमा भएको छ । पशुपतिनाथ एवं वनकाली क्षेत्रमा भूमिपूजन सुरु भएको हाे। महायज्ञको मूल कार्यक्रम वैशाख १५ देखि २४ गतेसम्म आयोजना हुनेछ । मारवाडी सेवा समिति नेपालको तत्वावधानमा महायज्ञ सुरु भएको हो । 

महायज्ञका प्रमुख यजमान वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार नेपालमा पहिलोपटक यति ठूलो महायज्ञ आयोजना हुन लागेको हो । उनका अनुसार एक सय (१००) कुण्डीय विराट श्रीअयुतचण्डी एवं श्रीगणपति महायज्ञ हुन लागेको हो । 

‘फागुन २७ गते भूमिपूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान संकल्पपूर्वक आभ्युदयिक श्राद्ध (नान्दीमुख), नवग्रह पूजा, मातृका पूजासहित भएको छ,’ शास्त्रीले भने, ‘फागुन २८ गते पञ्चमी तिथिदेखि श्री दुर्गासप्तसती, श्री गणेश अथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य पाठ आरम्भ भएको छ । महामण्डलेश्वर स्वामी प्रखरजी महाराजको सत्संकल्पमा ०८० वैशाख १० गते देखि २५ गतेसम्म महायज्ञको पूर्णतातर्फ उन्मुख हुनेछ ।’ २५१ ब्राह्मणद्वारा १०० कुण्डीय विराट श्रीअयुतचण्डी महायज्ञ एवं श्रीगणपति महायज्ञ, श्रीमदभागवत कथा, सन्त सम्मेलन एवं श्रीकृष्ण रासलीला कार्यक्रम हुनेछ । 

महायज्ञको उद्देश्य स्वआत्मनिर्भर नेपाल, आर्थिक उन्नति, औद्योगिक क्रान्ति, राष्ट्रको अभ्युदय, स्वरोजगार एवं स्वावलम्बन रहेको वास्तुविद् शास्त्रीेले बताए । वैशाख १५ देखि महायज्ञमा ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा दश हजार (१०,०००) श्रीदुर्गासप्तसती पाठ र चालीस हजार (४०,०००) श्रीगणपति अथर्वशीर्ष पाठ गरिने कार्यक्रम छ ।

शास्त्रीका अनुसार यसैगरी एक हजार  श्रीदुर्गासप्तसती पाठ तथा चार हजार श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिनेछ । ‘प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पती गरी एक सय यजमानदम्पतीको सहभागिता रहनेछ । यस महायज्ञमा जम्मा एक करोड दश लाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुनेछ,’ शास्त्रीले भने । मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलका अनुसार महायज्ञअन्तर्गत जगदगुरु रामानुजाचार्य स्वामी राघवाचार्यले  श्रीमदभागवत कथाको प्रवचन गर्ने कार्यक्रम छ । 

महायज्ञको आकर्षणका रूपमा वृन्दावनबाट आउने रासलीला टोलीले  शास्त्रीय आयामलाई समेटी लीला मञ्चनसमेत गर्ने तय भएको समितिका महासचिव प्रमोद अग्रवालले जानकारी दिए । वास्तुविद् शास्त्रीका अनुसार महायज्ञमा सहभागी १०० यजमानहरूको प्रायश्चित्त कार्यक्रम ९ वैशाखमा हुनेछ । महायज्ञ प्रत्येक दिन बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुनेछ ।

यज्ञशालामा महाआरती प्रत्येक दिन साँझ ६ बजे हुनेछ भने महायज्ञको पूर्णाहुति वैशाख २४ गते अपराह्न साढे १२ बजे हुनेछ ।  श्रीमदभागवत कथा  वैशाख १० गतेदेखि २४ गतेसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि ६ बजेसम्म हुनेछ । सन्त सम्मेलन  वैशाख ११ गतेदेखि २३ गतेसम्म हरेक दिन अपराह्न  २ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । विद्वत् सभा वैशाख १० गतेदेखि हुनेछ । यज्ञमा ब्राह्मणद्वारा सन्ध्योपासन, वेद पारायण–स्वअध्याय हुनेछ ।