मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी बाजुरा
२०७९ फाल्गुण २७ शनिबार ०६:४७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपचार नपाएर अकालमै ज्यान गुमाउँछन् सुत्केरी

बाजुराका आमाहरूको कथा

Read Time : > 3 मिनेट
गगन अयडी, बाजुरा
२०७९ फाल्गुण २७ शनिबार ०६:४७:००

गर्भवतीले नियमित स्वास्थ्य जाँच, आराम र पोषिलो खानेकुरा नपाउने, तर कडा परिश्रम गर्नुपर्ने र सुत्केरी गराउन स्वास्थ्य संस्थामा नजाँदा बाजुरामा सुत्केरी आमाहरूको मृत्युदर बढिरहेको छ । पोषिलो खानेकुराको अभावमा हुने कुपोषणले अत्यधिक रक्तस्राव हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने गरेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका– २ बजेडीकी १७ वर्षीया गर्भवती लक्ष्मी लुहार गत १६ फागुनमा स्वास्थ्य परीक्षणका लागि ब्रह्मतोला स्वास्थ्य चौकी पुगिन् । नौ महिनामा पहिलोपटक उनले आफ्नो पेटमा जुम्ल्याहा शिशु हुर्किरहेको थाहा पाइन् । स्वास्थ्यकर्मीले गर्भका शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जानकारी गराएपछि श्रीमान् प्रकाशसँगै उनी खुसी हुँदै घर फर्किन् । 

तर, १० दिन नबित्दै उनीहरूको परिवारमा बज्रपात भएको छ । बिहीबार बिहानदेखि सुत्केरी बेथा लागेकी लक्ष्मीले समयमै उपचार नपाएर ज्यान गुमाएकी छिन् । उनले जन्माएका दुई छोरीमध्ये एकको मृत्यु भएको छ । बिहान १० बजेतिर लक्ष्मीलाई बेथाले च्याप्न थालेपछि पति प्रकाशले गाउँकै महिला स्वयंसेविका कल्पना जैसीको घर पुगेर हेरिदिन आग्रह गरे । तर, उनले आफूलाई सुत्केरीबारे केही जानकारी नभएको जवाफ दिइन् । पत्नीलाई स्वास्थ्य चौकी लैजान स्ट्रेचर मागे, त्यो पनि कल्पनाले गाउँकै अर्को घरमा लगेको जवाफ दिइन् । 

यता घरमा लक्ष्मीको बेथा बढ्दै थियो । गाउँमा नपाएपछि प्रकाशले दुई घन्टा हिँडेर ब्रह्मतोला स्वास्थ्य चौकी पुगेर स्ट्रेचर ल्याए । त्यतिवेलासम्म लक्ष्मीले एउटी छोरी जन्माइसकेकी थिइन् । अर्को शिशु जन्माउन नसकेर थप गाह्रो हुँदै गइरहेको थियो । पति प्रकाशसहितले दिउँसो १२ बजेपछि लक्ष्मीलाई ब्रह्मतोला स्वास्थ्य चौकी पुर्‍याए । त्यहाँ उनले अर्की छोरीलाई जन्म दिइन् । 

तर, लक्ष्मीको रक्तस्राव रोकिएन । अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य चौकीले बेलुका ४ बजे अछामको बयलपाटा अस्पताल रेफर गर्‍यो । बयलपाटा लैजाँदै गर्दा लक्ष्मीले बाटोमै प्राण त्यागिन् । ‘स्वास्थ्यकर्मीले सुरुमा अवस्था ठीकै छ नआत्तिनुस् भनेका थिए, तर केही घन्टापछि सुत्केरीको अवस्था जटिल भयो, यहाँ सकिन्न अछामको बयलपाटा लैजानुस् भने,’ प्रकाशले भने, ‘समयमै रेफर गर्न सुझाव पनि दिएनन् ।’ पेटमा दुईवटा बच्चा रहेको जानकारी पनि १० दिनअघि मात्रै थाहा पाएको उनले बताए ।

ब्रह्मतोला स्वास्थ्य चौकी इन्चार्ज पदम भण्डारीले अत्यधिक रक्तस्राव र कम उमेरका कारण बच्चा जन्माउन गाह्रो भएर लक्ष्मीको मृत्यु भएको बताए । ‘रक्तस्राव धेरै भयो, कम उमेरका कारण बच्चा जन्माउन पनि गाह्रो भयो । समयमै उपचार नपाउँदा लक्ष्मीको ज्यान गयो । जिल्लामा सुविधासम्पन्न अस्पताल भइदिएको भए उनीलगायत कतिपय सुत्केरीले अकालमै ज्यान गुमाउनुपर्थेन,’ उनले भने । जटिल केस भएकाले आफूले बयलपाटा रेफर गरेको उनले बताए । लक्ष्मीले स्वास्थ्य चौकीमा जन्माएकी छोरीको पनि मृत्यु भइसकेको भण्डारीले बताए । 

चार वर्षमा उपचार अभावमा ११ सुत्केरीले गुमाए ज्यान
समयमै उपचार नपाएर बाजुरामा पछिल्ला चार वर्षमा ११ सुत्केरीले अकालमै ज्यान गुमाइसकेका छन् । ०७६ मा पाँच, ०७७ मा एक, ०७८ मा दुई र ०७९ मा तीन सुत्केरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर, वास्तविक तथ्यांक अझ धेरै रहेको स्थानीयको भनाइ छ । गत फागुन पहिलो साता बडीमालिका नगरपालिका– १ की २६ वर्षीया जानकी विक लुहार र पुसमा बुढीगंगा नगरपालिका– ६ की  २० वर्षकी नितु जैसीको मृत्यु भएको थियो ।

त्यस्तै, ०७८ मा त्रिवेणी नगरपालिका किम्नीकी २० वर्षीया जौलादेवी विक र हिमाली गाउँपालिका– ४ तिथिचौरकी २१ वर्षीया गंगा चदाराको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो । ०७७ मा बुढीनन्दा नगरपालिका– ४ की अम्बकला रोकायाले ज्यान गुमाएकी थिइन् । ०७६ मा जगन्नाथ गाउँपालिका– ५ की ३५ वर्षीया पुल्ती रावल, बडीमालिका नगरपालिका– ७ की वसन्ती नेपाली र बुढीनन्दा नगरपालिका– १० की ३५ वर्षीया निर्मला बोहराको मृत्यु भएको थियो । सोही वर्ष त्रिवेणी नगरपालिका– १ की ३७ वर्षकी रेजिया नेपाली, बुढीगंगा नगरपालिका– ७ की २० वर्षीया कमला उखेडले पनि ज्यान गुमाए । 

लक्ष्मीका पति प्रकाशले कमजोर आर्थिक अवस्थाका कारण एम्बुलेन्सको व्यवस्था गर्न नसकेको बताए । ‘स्वास्थ्य चौकीले गाडी खोजेर बयलपाटा अस्पताल लैजान भन्यो । मेरो आर्थिक अवस्था कमजोर भएका कारण एम्बुलेन्स खोज्न सकिएन,’ उनले भने, ‘सरकारले दुर्गमका सुत्केरी महिलाको उद्धारका लागि हेलिकोप्टर चार्टर गर्ने व्यवस्था मिलाएको सुनिन्छ, तर हामीजस्ता गरिब परिवारलाई कसैले नहेर्ने रहेछ ।’ कक्षा ८ मा पढ्दा–पढ्दै लक्ष्मीले गत वर्ष प्रकाशसँग प्रेमविवाह गरेकी थिइन् । आर्थिक रूपमा विपन्न उनको परिवारका स्थानीय हंसराज जैसीको घरमा बस्दै आएको छ । परिवारमा सासू–ससुरा, दाइ–भाउजू र बहिनी रहेको प्रकाशले बताए । 

बुढीगंगा नगरपालिकाकी उपमेयर माया कुँवरले सुत्केरी महिलाको समयमै उपचार नपाएर ज्यान जानु दुःखद भएको बताइन् । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा सुत्केरीले अकालमै ज्यान गुमाउनुपरेको उनको भनाइ छ । ‘अहिलेको घटनाबारे स्वास्थ्यकर्मीबाट समयमै आफूहरूलाई जानकारी आएको भए लक्ष्मीलाई हेलिकोप्टरको व्यवस्था गरेरसमेत उद्धार गरिन्थ्यो । जानकारी नै पाइएन,’ उनले भनिन् । लक्ष्मीको मृत्यु भइसकेपछि मात्रै आफूलाई नगरपालिकामा जानकारी आएको उनले बताइन् । 

समयमै उपचार नपाएर बाजुरामा पछिल्ला चार वर्षमा ११ सुत्केरीले अकालमै ज्यान गुमाइसकेका छन् । ०७६ मा पाँच, ०७७ मा एक, ०७८ मा दुई र ०७९ मा तीन सुत्केरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर, वास्तविक तथ्यांक अझ धेरै रहेको स्थानीयको भनाई छ । 

गत फागुन पहिलो साता बडीमालिका नगरपालिका– १ की २६ वर्षीया जानकी विक लुहार र पुसमा बुढीगंगा नगरपालिका– ६ की  २० वर्षकी नितु जैसीको मृत्यु भएको थियो । त्यस्तै, ०७८ मा त्रिवेणी नगरपालिका किम्नीकी २० वर्षीय जौलादेवी विक र हिमाली गाउँपालिका– ४ तिथिचौरकी २१ वर्षीय गंगा चदाराको अत्यधीक रक्तस्रावका कारण मृत्यु भएको थियो ।

०७७ मा बुढीनन्दा नगरपालिका– ४ की अम्बकला रोकायाले ज्यान गुमाएकी थिईन । ०७६ मा जगन्नाथ गाउँपालिका– ५ की ३५ वर्षीया पुल्ती रावल, बडीमालिका नगरपालिका– ७ की वसन्ती नेपाली र बुढीनन्दा नगरपालिका– १० की ३५ वर्षीया निर्मला बोहराको मृत्यु भएको थियो । सोही बर्ष त्रिवेणी नगरपालिका– १ की ३७ वर्षकी रेजिया नेपाली, बुढीगंगा नगरपालिका– ७ की २० वर्षीया कमला उखेडले पनि ज्यान गुमाए । 

बडीमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले गर्भवतीले आराम गर्न नपाउने, पोषिलो खानेकुरा नपाउने, कडा परिश्रम गर्नुपर्ने बाध्यताले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उनले बताए । नेपालीको औसत आयु ६९.२ बर्ष भएपनि बाजुराका बासिन्दाको आयु ५९ वर्ष मात्रै छ । त्यसमा पनि १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने सरकारकै तथ्यांक छ । गरिबीका कारण अधिकांश बाजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाह बताए ।