१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
२o८१ चैत २९ शुक्रबार ११:२१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम सरकार

औद्योगिक विकासलाई प्राथमिकतामा राख्न जनप्रतिनिधिको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार ११:२१:oo

सुदूरपश्चिम प्रदेश सरकार लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ । सुदूरपश्चिमको विकासका लागि आन्तरिक तथा बाह्य लगानी जुटाउने उद्देश्यले सरकारले आगामी १ र २ असोजमा लगानी सम्मेलन गर्न लागेको हो । सुदूरपश्चिमको विकासका विभिन्न योजनाहरूको पहिचान सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने सरकारको तयारी छ । मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा केही न केही लगानी आउने गरी सम्मेलन गर्न लागिएको बताएका छन् । उनले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रका योजनाहरू पहिचानको गृहकार्य भइरहेको जानकारी दिए ।

सरकारले प्रदेशका लगानी सम्मेलनमा प्रस्तुत गरिने योजना छनोट गर्न ८८ वटै स्थानीय तहलाई उच्च प्राथमिकतामा रहेका एक–एकवटा योजना सिफरिस गरेर पठाउन भनेको छ । लगानी सम्मेलनको तयारीस्वरूप सरकारले प्रदेश सभा र प्रदेशभरिका स्थानीय तहका जनप्रतिनिधिसँग बिहीबार धनगढी छलफल गरेको छ। 
प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले उद्योग, पर्यटन, कृषि, जडीबुटी क्षेत्रका योजनालाई प्राथमिकता दिएर ‘सोकेस’मा राख्न सरकारलाई सुझाव दिएका छन्। बझाङको बुंगल नगरपालिका प्रमुख जयबहादुर धामीले प्राकृतिक स्रोतको उपयोग हुने उद्योगमा लगानी आवश्यक रहेको बताए। 

‘यहाँ प्रशोधन गर्ने सुविधा नहुँदा बहुमूल्य जडीबुटी कच्चा पदार्थको भारत जान्छ, त्यहाँबाट बनेर आएको औषधि हामीले महँगाेमा खरिद गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग भएका कच्चा पदार्थ किन प्रयोग गर्न सक्दैनौँ ?’ उद्योग स्थापना गरेर पहाडका डाँडाहरूमा रहेका अर्बौँ मूल्यका सिलेट निकासी गर्न सकिने उनको भनाइ थियो। सुदूरपश्चिम प्रदेश सभा सदस्य रामेश्वर चौधरीले कृषिसँग सम्बन्धित उद्योगहरूलाई प्राथमिकता दिएर सोकेसका लागि योजनाहरू बनाउन सुझाव दिए।

उनले यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहेको बताए । सरकारले बर्सेनि अर्बौँ रुपैयाँको मल आयात गरिरहेको उल्लेख गर्दै उनले सुदूरपश्चिममा रहेको फोस्फोरसको उपयोग गरेर मल कारखाना स्थापना गर्न सके देशले नै लाभ लिने बताए। चौधरीले सुदूरपश्चिममा उद्योग स्थापनाका लागि सरकारले सहुलियत दिनुपर्ने बताए । ‘उद्योगका लागि चाहिने जग्गा, विद्युत् आदिमा सहुलियत दिनुपर्छ,’ उनले भने । ‘साइपालमा अथाह जडीबुटी छन् । यातायातको सुविधा नहुँदा ढुवानीको समस्या छ,’ साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले भने, ‘यहाँ भएका जडीबुटी प्रशोधन गर्ने उद्योग भए आम्दानीको स्रोत बन्छ ।’  

प्रदेश सभा सदस्य शिवसिंह ओलीले सम्मेलनअघि लगानीको वातावरण बनाउन जोड दिए। कृषि, उद्योग र जडीबुटी क्षेत्रका योगदानको डिपिआर बनाएर सम्मेलनमा पेस गर्न सुझाव दिए। ‘सुदूरपश्चिममा खानीसम्बन्धी अध्ययन भएर पनि उत्खनन हुन सकेको छैन । २० मेगावाटमुनिका जलविद्युतका योजना प्रदेश बनाउन सक्ने अधिकार छ, तर एउटामा पनि लगानी गर्ने वातावरण बनेको छैन,’ उनले भने, ‘कृषि, उद्योग, जडीबुटी क्षेत्रका योजनाको डिपिआर बनाएर सम्मेलनमा जाऔँ ।’

स्थानीय तहका जनप्रतिनिधिको बैठकले नीति तथा कानुनमा आवश्यक सुधार गरी सुदूरपश्चिममा लगानीको वातावरण निर्माण गरिदिन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। मित्रराष्ट्र तथा दातृ निकायहरूलाई सुदूरपश्चिममा सहायता तथा लगानी गर्न आह्वान गर्ने निर्णय पनि बैठकले गरेको मुख्यमन्त्री शाहले जानकारी दिए । एउटा पनि औद्योगिक क्षेत्र नरहेको सुदूरपश्चिममा ठुला उद्योग पनि छैनन् । कैलालीको डुडेझारी र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापनाको काम वर्षौँदेखि अगाडि बढ्न सकेको छैन । प्रदेशमा पहिलोपटक हुन लागेको लगानी सम्मेलनले लगानी भित्र्याउन केही न केही मद्दत पुग्ने अपेक्षा गरिएको छ ।