१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २४ बुधबार
  • Sunday, 29 September, 2024
समाचार प्रिन्ट संस्करण

गोकर्णेश्वरका मेयर रिसाल र प्रशासकीय अधिकृतविरुद्ध मुद्दा चलाउन सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २४ बुधबार o९:५३:oo

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खेलमैदान बनाउने भन्दै विनाअनुमति जथाभावी डोजर चलाउने गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठराज सापकोटाविरुद्ध मुद्दा चलाउन निकुञ्जले सिफारिस गरेको छ ।

नगरपालिकाले निकुञ्जको मध्यवर्ती क्षेत्रमा विनाअनुमति डोजर चलाएपछि निकुञ्जले छानबिन गरेको थियो । सो क्रममा अनुगमन समितिले मेयर र कार्यकारी अधिकृतको दोष देखिएपछि निकुञ्जले अभियोगपत्र दर्ता गरेर कारबाही अघि बढाउन सहायक संरक्षण अधिकृत सिर्जना श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकेको छ । 

संरक्षण क्षेत्रको अनुमतिविना रूख कटान र विकास निर्माण गरे एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (६) मा निकुञ्ज क्षेत्रमा डोजर चलाउने, रूख कटान गर्नेमाथि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, ०२९ को दफा ३० अनुसार निकुञ्ज तथा वन क्षेत्रमा विनाअनुमति डोजर चलाउन वा अन्य कुनै गतिविधि गर्न पाइँदैन । 

यसअघि छानबिन समितिले रूख कटान भएको र बफर जोनमा विनाअनुमति डोजर चलाइसकेको प्रतिवेदन निकुञ्जलाई हस्तान्तरण गरिसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालका अनुसार त्यस क्षेत्रमा डोजर चलाउन र रूख कटान गर्न कुनै अनुमति लिइएको छैन । 

१५ फागुनमा निकुञ्जका शाखा अधिकृत आनन्दराम श्रेष्ठ, सहायक संरक्षक सिर्जना श्रेष्ठ, नासु हरिभक्त सिग्देल, रेन्जर लब गुरागाईंले अनुसन्धान गरी १८ फागुनमा प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमा विनाअनुमति डोजर चलाएको र रूख कटान गरेको उल्लेख छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ र २ मा पर्ने गराडोल जन्तरे टोलनजिकै खेलमैदान बनाउन डोजर चलाइएको हो ।

त्यसका लागि डिपिआर र इआइएसमेत गरिएको छैन । नगरपालिकाले हचुवामा डोजर चलाएपछि निकुञ्जले आपत्ति जनाउँदै आएको छ । उक्त क्षेत्रमा खेलमैदान बनाउन १९ वटा ठूला र ४९ वटा साना रूख कटान भएका छन्, तर ती रूखसमेत मिलेमतोमा बिक्री गरिएको छ ।