
मच्छिन्द्र फुटबल क्लबले बुधबार केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै मच्छिन्द्रले सिजनको दोस्रो उपाधिका रूपमा केपी ओली कप जितेको हो । यसअघि मच्छिन्द्रले सातौँ राजर्षि जनक कप हात पारेको थियो । २४ घन्टाको अन्तरमा मच्छिन्द्रले दुई फाइनल खेल्दा एकमा सफलता चुम्यो ।
मंगलबार झापामा भएको भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र त्रिभुवन आर्मी क्लबसँग टाइब्रेकरमा स्तब्ध भएको थियो । लगातार दोस्रो फाइनलको टाइब्रेकर सामना गरेको मच्छिन्द्रका खेलाडी केपी ओली कपमा भने दबाबमा देखिएनन् । निर्धारित समयको १–१ को बराबरीपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भयो ।
टाइब्रेकरमा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ नायक रहे । उनले सातदोबाटोका अब्दुल लतिफको पेनाल्टीलाई रोक्दै टोलीलाई उपाधि दिलाए । सातदोबाटोका अब्दुलले तेस्रो पेनाल्टी प्रहार गरेका थिए । पेनाल्टीमा मच्छिन्द्रका रन्जित धिमाल, दिवाकर चौधरी, कप्तान सुजल श्रेष्ठ, पुजन उपरकोटीले गोल गरेका थिए । सातदोबाटोका लागि नीरज चौधरी, दीपेनराज सिंह र एकराज बुढाथोकीले गोल गर्न सफल भए ।
खेलको पाँचौँ मिनेटमै सातदोबाटो क्लब सम्हालिन नपाउँदै ओलावाले अफिजले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । मच्छिन्द्रको अग्रता लामो समयसम्म रहेन । खेलको १८औँ मिनेटमा सातदोबाटो खेलमा फर्कंदै १–१ को बराबरी गोल ग¥यो । सातदोबाटोका कप्तान सुदीप गुरुङको पासमा जर्डन जुनियर ओभानाले बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले मौका बनाए पनि सदुपयोग गर्न सकेनन् ।
फाइनलअघि रंगशालाको मैदानमा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । उपाधि विजेता मच्छिन्द्रले १० लाख र उपविजेता सातदोबाटोले ५ लाख रुपैयाँ पाएका छन् । फाइनल पुग्ने क्रममा सोमबार मच्छिन्द्रले आयोजक केपी ओली फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।