१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Friday, 27 September, 2024
भद्रपुर–झापा च्यम्पियन त्रिभुवन आर्मी फुटबल क्लब
२o७९ फाल्गुण १७ बुधबार o७:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भद्रपुर–झापा गोल्डकप : मच्छिन्द्रलाई हराउँदै आर्मी च्यम्पियन

दुईपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको ‘बी’ टोलीले उपाधि हात पार्‍यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार o७:१३:oo

प्रथम भद्रपुर–झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । दुईपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध बनाउँदै आर्मीको ‘बी’ टोलीले सिजनको पहिलो उपाधि जितेको हो । खेलमा आर्मीका गोलकिपर समित श्रेष्ठ नायक बने । निर्धारित ९० मिनेट र अतिरिक्त १४ मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । 

पेनाल्टीमा मच्छिन्द्रका रजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोलकिपर समित श्रेष्ठले रोकेका थिए । आर्मीका सेसेहाङ आङ्देम्बेको प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोके । पेनाल्टीमा आर्मीका जितेन्द्र कार्की, सन्तोष केसी, रिपु भुलन, सुशान्त चौधरीले गोल गरे । मच्छिन्द्रका दिवाकर चौधरी, कप्तान सुजल श्रेष्ठ र दिपेश घलेले गोल गरे ।

जितसँगै आर्मीले नगद १३ लाख हात पारेको छ भने उपविजेता बनेको मच्छिन्द्रले ७ लाखमा चित्त बुझायो । भद्रपुर–झापा च्याम्पियन बनेसँगै आर्मीले यो सिजनको उपाधिविहीन यात्रा तोडेको छ । आर्मीले झापा गोल्डकपको पाँच संस्करणमध्ये चारवटा संस्करणको उपाधिसमेत हात पारिसकेको छ । यसपटक बिर्तामोडमा हुने झापा गोल्डकपलाई रोकेर भद्रपुरमा भद्रपुर–झापा गोल्डकप आयोजना गरिएको थियो । 

दुवै टोली दश खेलाडीमा सीमित
फाइनल खेलमा ६९औँ मिनेटपछि दुवै टोली दश खेलाडीमा सीमित भएका थिए । आर्मीका सुदिल राई र मच्छिन्द्रका विदेशी खेलाडी ओमोलाजा कारिमबीच विवाद भएपछि रेफ्री कविन व्यञ्जनकारले दुवैलाई रातो कार्ड देखाउँदै बाहिर पठाए । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टोलीले अवसर बनाए । तर, दुवैले पाएका मौकालाई सदुपयोग गर्न नसक्दा फाइनलको निर्णय पेनाल्टीबाट लिइएको थियो । खेलको ६३औँ मिनेटमा बक्सभित्र अनमार्क रहेका मच्छिन्द्रका प्रशान्त अवस्थीले गरेको कडा प्रहार आर्मीका समितले नियन्त्रणमा लिए । ६४औँ मिनेटमा सौर लिम्बूले बक्सबाट गरेको प्रहार किपर विशालले सहजै समाए । ७६औँ मिनेटमा छिरिङ गुरुङको क्रसमा बक्समा अनमार्क रहेका ओलावालेको प्रहार दोस्रो बार हुँदै बाहिरियो । 

खेलाडीले विश्राम पाएनन्
४८ घन्टामा तेस्रो खेल खेल्दा मच्छिन्द्रका स्टार खेलाडी विमल घर्तीमगर र पुजन उपरकोटी फाइनलमा मैदान उत्रिएनन् । मच्छिन्द्रको अग्रपंक्तिमा स्ट्राइकर विमलको अभाव देखिन्थ्यो । खेलको अधिकांश समय मच्छिन्द्रले आर्मीलाई दबाबमा राख्यो । तर, उसको फिनिसिङ कमजोर हुँदा गोल निस्कन सकेन । मच्छिन्द्रका विदेशी स्ट्राइकर आफिज ओलावाले अपेक्षाकृत चल्न सकेनन् । मच्छिन्द्र सोमबार काठमाडौंमा भएको केपी ओली कप खेलेर राति नै झापा पुगेको थियो । जसका कारण खेलाडी थकित देखिन्थे ।

ए डिभिजन लिग तयारीस्वरूप भएका नकआउट प्रतियोगिता आयोजना भए पनि खेलाडीले विश्राम पाएका छैनन् । मछिन्द्रले पछिल्लो १३ दिनमा आठ खेल खेलिसकेको छ । बुधबार केपी अ‍ोली कपको फाइनल काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दा १४ दिनमा ९ खेल पूरा हुनेछ । आर्मीले दुई टोली बनाएर खेलेका कारण खेलाडीले विश्राम पाए । आर्मीको पहिलो टोलीले केपी अ‍ोली कप खेलेको थियो । तर, कमजोर व्यवस्थापक भएको मच्छिन्द्रले एकै खेलाडीलाई दुई प्रतियोगितामा मैदान उतारेको थियो । 

विधागत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व 
विधागत पुरस्कारमा उपविजेता बनेको मच्छिन्द्रका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीका समित, उदीयमान खेलाडी मच्छिन्द्रका सौरभ लिम्बू, उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भएका छन् । उच्च गोलकर्ता सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिष चौधरी भए । उनीहरूले समान दुई गोल गरेका थिए । विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाएका छन् ।