मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण ९ मंगलबार २०:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा ‘मिसन ग्रासरुट’ अभियान सुरु, चार केन्द्रीय नेतालाई १२ पालिका

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ९ मंगलबार २०:२४:००

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान गुल्मीमा सुरु भएको छ । अभियानअन्तर्गत दुई महिनासम्म बस्तीस्तरसम्म पुगेर पार्टी सदस्यता नवीकरण र विस्तारमार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने योजना छ। 

अभियानका लागि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले प्रतिनिधि छनाेट र भूगोलअनुसार कार्यविभाजन गरेको नेकपा एमाले गुल्मीका कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिए।   

नेकपा एमाले गुल्मीले अभियानमा खटिने सबै नेतालाई पार्टी कार्यालयमा मंगलबार प्रशिक्षणसहितको कार्ययोजना दिएको छ । केन्द्रीय प्रतिनिधि पोलिटब्युरो सदस्य ठाकुर गैरे र जिल्ला प्रतिनिधि नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म विश्वकर्मासहितको टोलीले कालीगण्डकी, सत्यवती र रुरु क्षेत्र गाउँपालिकामा अभियान सञ्चालन गर्नेछन्। 

त्यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र खड्का र नेकपा एमाले जिल्ला कमिटी उपसचिव सावित्रा आचार्यले रेसुंगा, धुर्कोट र मदानेमा ‘मिसन ग्रासरुट’ अभियानको जिम्मेवारी पाएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिए। 

त्यस्तै, इस्मा, मालिका र मुसिकोटमा ‘मिसन ग्रासरुट’ सञ्चालन गर्न नेकपा एमाले केन्द्रीय कमिटी सदस्य बलराम अधिकारी र जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जिम्मेवारी पाएको काउछाले बताए । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सिर्जना काफ्ले र जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण सुनार चन्द्रकोट, छत्रकोट र दरबार गाउँपालिकाको जिम्मेवारीमा रहेका छन्। 

यो अभियानमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रका ३ सय ५३ जना नेताहरू खटिनेछन् । यो अभियान ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा रहेका २ करोड ९२ लाख १ हजार ४ सय ६६ जनसंख्याबीच सञ्चालन हुनेछ । जहाँ १ करोड ७६ लाख ७३ हजार १ सय ९५ मतदाता छन्। 

स्थानीय तहको निर्वाचनमा सबै पालिकामा एमालेका पार्टीका अध्यक्षका उम्मेदवारले ३८ लाख २१ हजार ६ सय २० मत प्राप्त गरेका थिए । भने गत आमनिर्वाचनमा सिंगो देशबाट समानुपातिकतर्फको २८ लाख ४५ हजार ६ सय ४१ मत पार्टीले हासिल गरेको थियो । संगठन विभागको अभिलेखमा अहिले १० लाख ७९ हजार २ सय ९ पार्टी सदस्यको विवरण छ। 

यसलाई औसतमा हिसाब गर्दा १ जना केन्द्रीय नेताको जिम्मामा २ पालिका, १९ वडा, ८२ हजार ७ सय २४ जनसंख्या तथा ५० हजार ६६ मतदाता पर्छन् । एकजना केन्द्रीय सदस्यको जिम्मामा औसत ३ हजार ५७ पार्टी सदस्य पर्ने नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए। 

पार्टीको भूगोल, विभाग र फाँटहरूमा जिम्मेवारी तोकिएका सबै पोलिटब्युरो र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । स्थायी कमिटीका सदस्यलाई अनुगमनको जिम्मेवारीमा खटाइएको छ । सबै केन्द्रीय सदस्यलाई हाल जिम्मा लिएको जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको श्रीपालीले जानकारी दिए। 

केन्द्रीय र जिल्ला प्रतिनिधिको उपस्थितिमा पालिका कमिटीको बैठक आयोजना गर्ने, राम्रो सम्भावना भएका युवा र सम्भावनायुक्त अन्य व्यक्तिलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने, भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने, विदेशमा रहेका सदस्यको हकमा भर्चुअल माध्यमबाट र टेलिफोनबाट सम्पर्क गरेर नवीकरण गरिने भएको छ । धेरैभन्दा धेरै टोल कमिटी गठन र पुनर्गठन गर्ने एमालेको लक्ष्य छ ।