
बाबुले पेट्रोल छर्केर आगो लगाउँदा कोहलपुरका दुई वर्षीय बालकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका– १ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार बेलुका पत्नी गंगा विक र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । बाबुले लगाएको आगोले दुई वर्षीय प्रिन्सको उपचारका क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय कोहलपुका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत प्रिन्सको आज बिहान करिब १ बजे मृत्यु भएको उनले बताए । गम्भीर घाइते गंगालाई शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ । उनको घाँटी र ढाडमा आगोले पोलेको छ ।
भानुभक्तले पत्नी गंगालाई पाँच लाख रुपैयाँको हिसाब देखाउन भनेपछि विवाद भएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको समयमा भानुभक्तकी दिदी पनि घरमै थिइन् ।
सामान्य विवादमा भानुभक्त पत्नी गंगा र छोरा प्रिन्समाथि पेट्रोल छर्केर आगो लगाएर फरार भएका थिए । उनलाई नेपाल–भारत सीमानाकाबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । ‘भारत छिर्नै लाग्दा भानुभक्तलाई जमुनाहबाट पक्राउ गर्न सफल भएका छौँ,’ डिएसपी मल्लले भने । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।