
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचार काण्डमा परेका ठूला पदका व्यक्तिलाई पनि सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन् । विश्वका विभिन्न मुलुकमा उच्च ओहोदामा रहेकाहरु भ्रष्टाचारको काण्डमा सर्वश्वहरणसहित जेल गएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले भ्रष्टाचारको आवाज सदन, सडक, सामाजिक सञ्जाल, सबैतिर सुनिए पनि कहिँकतै कारवाही नभएको भन्दै आपत्ति जनाए । भ्रष्टाचारले गर्दा युवाहरुको भविष्य समेत बर्बाद भएको उल्लेख गर्दै उनले त्यसबाट मुक्त गराउन पनि भ्रष्टाचारीहरुमाथि कडा कारबाही हुनुपर्ने भनाइ राखे ।
‘आज भ्रष्टाचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएका छन् । ‘अख्तियार दूरुपयोग निवारण आयोग’लाई ‘अख्तियार दूरुपयोग अनुसन्धान आयोग’ बनायौं । तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अनुसन्धानमै सीमित रह्यो,’ सांसद शाहीले भने ।