मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव राजविराज
२०७९ माघ ५ बिहीबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नर्सिङ कलेज : करोडौँको भवन ठडियो, सञ्चालनको टुंगो छैन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ माघ ५ बिहीबार १६:५७:००

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरभित्र नर्सिङ कलेजको भवन निर्माणकार्य सकिएको करिब नाै  महिना पुगेको छ  । तर, कलेज सञ्चालनको टुंगो भने अझै लाग्न सकेको छैन ।

कलेज सञ्चालनको पूर्वतयारी समयमै नसक्दा झन्डै सात करोड लागतमा निर्माण भएको पूर्वाधार प्रयोगविहीन भएको छ । पूर्वाधार निर्माण सम्पन्न भए पनि त्यसलाई सञ्चालन गर्ने नीति, कानुन तथा कार्यविधि समयमै तयार नगर्दा नर्सिङ कलेजको भवन प्रयोगविहीन हुन पुगेको हो ।

तत्कालीन सांसद उपेन्द्र यादवबाट सांसद कोषको पाँच करोड ८० लाख र बाँकी प्रदेश सरकारबाट गरी कुल ६ करोड ९२ लाख रुपैयाँ लगानीमा कलेज  निर्माण गरिएको हो । ठेकेदार कम्पनी कन्तेक–चक्रेश्वरी जेई जेभीले नर्सिङ कलेजको भवन निर्माण सम्पन्न गरेर गत असोजमै राजविराज नगरपालिकालाई हस्तान्तरण गरेको हो । तर, वैशाखमा निर्माण सम्पन्न भएको कलेज नाै महिना हुँदासमेत सञ्चालनमा आउन सकेको छैन ।

राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले दुई–चार दिनभित्रै कलेजको उद्घाटन हुने बताए । नर्सिङ कलेजमा पढाइ सुरु हुने मितिबारेको प्रश्नमा उनले उद्घाटनलगत्तै सुरु हुने उल्लेख गरे ।

यो कलेज रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत छ । तर, प्रतिष्ठान सञ्चालनसम्बन्धी कानुन निर्माण हुन नसक्दा नर्सिङ कक्षा सुरु हुन नसकेको प्रतिष्ठानका निर्देशक डा. रञ्जितकुमार झाले बताए  । प्रतिष्ठानको ऐन कानुन नबनेसम्म पढाइ सञ्चालन हुन सक्ने अवस्था नरहेको उनले बताए ।

‘हामीले रामराजा प्रतिष्ठानको ऐन–कानुन बनाएर मन्त्रालयमा पठाइसकेका छौँ,’ उनले भने, ‘प्रतिष्ठानसम्बन्धी ऐन–कानुन निर्माणलगत्तै आवश्यक जनशक्ति पूर्ति गरी पढाइ सुरु हुन्छ,’ उनले भने ।