
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीले निर्णय गरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुपरेको बताएका छन्। पदाधिकारी र कार्यसम्पादन समिति बैठकमा दुईथरी विचार आएपछि आफूले विवाद समाधानका लागि बीचको बाटो लिएको उनले स्पष्टीकरण दिए।
‘दुईवटा विचार आएपछि यस्तो विषयमा विवाद गर्नुहुन्न, बीचको बाटो लिनुपर्छ र हामी तथष्ट हुनुपर्छ भन्ने आफ्नो विचार राखेँ,’ कोइरालाले नयाँ पत्रिकासँग भने, ‘पार्टीले निर्णय गरेपछि मत त हाल्नैपर्याे। तैपनि हामी तटस्थ बस्नुपर्थ्यो भन्नेमा म अहिले पनि छु।’
मंगलबार कार्यसम्पादन बैठकको निर्णयअनुसार प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो। केही नेताले फरक मत राखे पनि शेखर कोइराला मौन बसेको विषयमा आलोचना भइरहँदा उनले मध्यमार्गी बाटो रोजेको प्रतिक्रिया दिएका हुन्।
प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस सरकारमा नगएको भन्दै उनले पार्टीका नेता–कार्यकर्ता निराश हुनु नपर्ने तर्क गरे। संसदमा प्रभावकारी प्रतिपक्षको भूमिका खेल्ने बताउँदै उनले भने, ‘पार्टीका साथीहरू निराश हुनुपर्ने कारण छैन। हामी सत्ता पक्ष होइनौँ। कांग्रेसले सरकारमा कोही पठाएको छैन र पठाउँदैन पनि। हामी प्रतिपक्षमा छौँ। प्रतिपक्षको बेन्च कांग्रेसकै हो।’