
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको मर्म र भावनाभन्दा दायाँबायाँ नजाने स्पष्ट पारेका हुन् ।
‘संविधान राज्यको मूल कानुन हो । निकै मिहिनेत गरेर अहिले प्रमुख दलहरूको समझदारीबाटै यो संविधान बनाइएको हो,’ उनले भने, ‘सत्तासाझेदार दल संविधान र संघीयता कार्यान्वयनमा प्रतिबद्ध छौँ । प्रधानमन्त्रीका नाताले संविधानको रक्षाका निम्ति अन्तिमसम्म प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
प्रस्तावमाथिको छलफलमा भाग लिँदै एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन उचित थियो भन्ने धारणा लगातार दुई दिनसम्म बैठकमा उठेको भन्दै त्यो गठबन्धनकै धारणा हो कि ? भनी प्रश्न उठाएका थिए ।
प्रचण्डले सत्तागठबन्धनका दलहरू न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको भन्दै प्रतिनिधिसभा विघटन ठीक कि बेठीक भन्ने बहसतर्फ जान नचाहेको बताए ।
उनले भने, ‘सदन विघटन सही थियो कि थिएन हाम्रो विषय होइन । भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा पुर्याउने हुन सक्छ । संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध छौँ ।’