एक धनी मानिस आफ्नो छोराको एउटा खराब बानीबाट निकै हैरान थिए । उनले छोराको त्यो बानी छुटाउन हरसम्भव प्रयास गरे पनि सम्भव भइरहेको थिएन । उनी छोरालाई आफ्नो खराब बानी हटाउन जति सम्झाउँथे, छोराको जवाफ हुन्थ्यो– अहिले म सानै छु । बिस्तारै यो बानी छाडिहाल्छु नि । तर, ऊ कहिल्यै त्यो खराब बानी छाड्न तयार भने हुँदैनथ्यो ।
त्यही समयमा उनको गाउँमा एक महात्मा आएका थिए । ती धनी मानिसले महात्मालाई भेटेर आफ्नो समस्या बताए । महात्माले उनको गुनासो सुनिसकेपछि भने– ठीक छ, तपाईं भोलि बिहान आफ्ना छोरालाई लिएर यही बगैँचामा आउनुहोस् । म प्रयास गरिहेर्छु ।
अर्को दिन ती धनी मानिस छोरालाई लिएर बगैँचामा पुगे । महात्माले बालकलाई सम्बोधन गर्दै भने– बाबु ! आऊ, हामी एकैछिन यो बगैँचाको भ्रमण गरौँ । महात्मा बालकसित कुरा गर्दै अघि बढे, बालक पनि उनीसँगै अघि बढे । कुराकानीका क्रममा महात्माले एउटा रूखको मसिनो बिरुवा देखाउँदै बालकसित सोधे– बाबु, तिमी त्यो बिरुवा उखेल्न सक्छौ ?
बालकले भने– यो त मेरो बायाँ हातको खेल हो । उनले साँच्चै बायाँ हातले तानेर बिरुवा उखेले । महात्मा मुसुक्क मुस्कुराए र दुवै अघि बढे । केही समयपछि महात्माले थोरै हुर्किसकेको बिरुवातर्फ इसारा गर्दै पुनः प्रश्न गरे– त्यो बिरुवा पनि उलेख्न सक्छौ त ? बालक खुसीसाथ बिरुवा उखेल्न लागे । तर, यसपटक उनलाई केही मिहिनेत गर्नुपर्यो । पर्याप्त प्रयासपछि उनले त्यो बिरुवा पनि उखेलिदिए ।
महात्मा केही बोलेनन्, केवल पहिलेझैँ मुस्कुराए । थोरै अघि बढिसकेपछि महात्माले एउटा हुर्किसकेको रूखतिर इसारा गर्दै बालकलाई सोधे– बाबु, तिमी त्यो रूख पनि उखेल्न सक्छौ त ? बालकले आफ्नो भएभरको तागत लगाएर रूख उखेल्ने कोसिस गरे । तर, उनले थोरै हल्लाउन पनि सकेनन् । अन्त्यमा हार मानेर बालकले भने– यो त उखेल्न असम्भव छ ।
बालकको भनाइ सुनेपछि मुसुक्क हाँस्दै महात्माले भने– बाबु, हाम्रा खराब बानीको पनि यस्तै अवस्था हुन्छ । नयाँ छँदै यसलाई उखेल्ने कोसिस गरियो भने त्यसलाई हटाउन सकिन्छ । जतिजति त्यो पुराना हुँदै जान्छ, त्यसलाई हटाउन असम्भव हुँदै जान्छ । महात्माको भनाइ सुनेपछि बालकले पनि आजैदेखि आफ्नो खराब बानी छाड्ने निश्चय गरे ।