१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २२ शुक्रबार ११:२२:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

विन्टर डिप्रेसनबाट जोगिन घाममा बस्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार ११:२२:oo

अनिद्रा, काममा ध्यान केन्द्रित गर्न नसक्ने, निराशा बढ्नेजस्ता लक्षण दुई हप्ताभन्दा बढी देखिएमा सिजनल अफेक्टिभ डिसअर्डर वा विन्टर डिप्रेसन भएको मानिन्छ । शरीरमा भिटामिन डीको कमी तथा विभिन्न कारणले दिमागमा सेरोटोनिन र मेलाटोनिन नामक रसायनको गडबडी भएर यस्तो डिप्रेसन निम्तिन्छ । घाममा कम बस्ने मानिसहरूमा प्रायः यस्तो समस्या देखिन्छ । 

हिउँदमा देखिने डिप्रेसनका लक्षण गर्मी सुरु भएपछि अधिकांशमा आफैँ हराएर जाने गर्दछन् । केही प्रतिशतमा भने सिजनल देखिएको डिप्रेसन लामो समयसम्म रहने र सिभियर भएर जाने सम्भावना रहन्छ । सामान्यतया वंशानुगत गुण, आर्थिक, सामाजिक कारण वा विनाकारणसमेत डिप्रेसनको समस्या निम्तिने गर्छ । भावनात्मक रूपमा कमजोर रहने व्यक्तिहरू यस्तो समस्याबाट बढी प्रभावित भइरहेका हुन्छन् । 

कसरी थाहा पाउने ?
विन्टर डिप्रेसन भएमा निराशा बढ्ने, दिक्क लाग्ने, उदास रहने, अनिद्रा र भोक नलाग्नेजस्ता लक्षण देखिन्छन् । डिप्रेसन सिभियर हुँदै गएमा निराशापन अत्यधिक बढ्ने, ध्यान केन्द्रित गर्न नसक्नेजस्ता लक्षणले दैनिक क्रियाकलापमा प्रत्यक्ष असर गर्छन् । पर्याप्त मात्रामा घाम ताप्ने गर्नाले यस्तो समस्या धेरै हदसम्म नियन्त्रणमा आउँछ । 

चिकित्सकको सल्लाह कति आवश्यक ? 
समस्या देखिएमा मनमा कुरा गुम्स्याएर राख्नुहुँदैन । सामान्य लक्षण देखिएमा समस्याको बारेमा साथीभाइसँग कुरा सेयर गर्न सकिन्छ । यस्तो गर्दा मन हल्का हुन्छ । जटिल खालका लक्षण देखिएमा चिकित्सकबाट काउन्सिलिङ लिने वा औषधिसमेत प्रयोग गर्न सकिन्छ । 

घाम नै नलाग्ने स्थानमा बस्नेहरूका हकमा उपचारका लागि लाइट थेरापी गरिन्छ । तर, नेपालमा लामो समयसम्म घाम नै नलाग्ने अवस्था नरहेकाले लाइट थेरापी आवश्यक पर्दैन ।

घाम ताप्दाका फाइदा 

राम्रो मुड : सूर्यको प्रकाशबाट भिटामिन डी प्राप्त हुन्छ । यसले मस्तिष्कलाई ऊर्जाशील बनाउँछ र विभिन्न रोगबाट हामीलाई जोगाउँछ । भिटामिन डीको लेभल बढ्दा मुड फ्रेस हुन्छ ।

स्वस्थ तौल : इडिनवर्ग र साउथह्याम्पटन विश्वविद्यालयका अध्ययनकर्ताहरूका अनुसार युभी रेजले निट्रिक अक्साइड उत्पादन गर्छ । यस प्रोटिनले मोटोपन र टाइप २ डाइबेटिज कम गर्न सहयोग गर्छ ।

राम्रो निद्रा : हरेक दिन बिहान १५ मिनेट घाम ताप्दा राम्रो निद्रा पर्ने विभिन्न अध्ययनले देखाएका छन् । उच्च रक्तचाप नियन्त्रणका लागि पनि घाम ताप्नु फाइदाजनक हुने युनिभर्सिटी अफ इडिनवर्गको अध्ययनले देखाउँछ । 

सावधानी : तपाईं लामो समय घाम ताप्दै हुनुहुन्छ भने केही सावधानी अवश्य अपनाउनुपर्छ । हल्का कपडा लगाएर मात्रै घाममा बस्नुस्, जसकारण घामको विकिरण छालामा प्रत्यक्ष पर्न पाउँदैन र विभिन्न समस्याबाट जोगिन सकिन्छ । 

यी कुरामा ध्यान दिनुस् 

फलफूल प्रशस्तै खानुस् : फलफूल र हरियो सागपात धेरैभन्दा धेरै सेवन गर्नुस् । तातो सुप र माछा खानुस् । गाँजर र आलुले पनि चिसोमा प्रतिरोधी क्षमतालाई बलियो बनाउन सहयोग गर्छन् । 

प्रशस्तै पानी पिउनुस् : गर्मीमा मानिसहरू प्रायः पानी पिइरहन्छन् । तर, जाडोमा पनि शरीरलाई त्यति नै पानीको आवश्यकता पर्छ भन्ने स्मरण गर्न आवश्यक छ । चिसो बढ्दा कतिपयले अल्कोहल, कफी र चियाको सेवन पनि बढाउँदै लग्छन् । जसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यसबाट टाढा रहन जरुरी छ । 

न्यानो भएर बस्नुस् : यदि तपाईं लामो समय बाहिर बिताउनुहुन्छ, विशेषगरी बिहान–बेलुकीको समय बाहिर निस्कनुहुन्छ भने तपाईंले शरीरलाई न्यानो बनाइराख्ने कपडा लगाउनुपर्छ । नत्र, चिसोयाममा धेरै समस्या देखिन्छन् । मोजा, पन्जा, टोपी, चेस्टगार्डलगायतको प्रयोग गर्न नभुल्नुस् । 

व्यायाम गर्नुस् : जाडोमा बिहानै हिड्न निस्कनु राम्रो हुँदैन । हल्का घाम लागेपछि मात्रै बाहिर हिँड्न निस्कनुस् । कुनै न कुनै शारीरिक गतिविधिमा सक्रिय भइरहनुपर्छ । जिम सेन्टर वा घरमै पनि योग तथा व्यायाम गर्न सकिन्छ । यसले मस्तिष्क र शरीरलाई चलायमान बनाउँछ र अल्छीपन हटेर जान्छ । शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, मुड फ्रेस बन्छ र निद्रा राम्रो पर्छ ।