नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा राज्यको विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गमा नेपाली सेनाले बिहीबार बिहानदेखि पदयात्रा सुरु गरेको हो।
पृथ्वीजयन्तीलाई लक्षित गर्दै गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ३० जनासहितको टोली पदयात्रामा निस्किएको छ। टोली बिदाइको क्रममा पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले नेपालको इतिहासलाई जगेर्ना गर्न पदयात्रा सुरु गरिएको बताए। नेपालको एकीकरणको उदगमस्थल गोरखा जिल्लाले नेपालको गौरवमय इतिहास बोकेको उनले उल्लेख गरे। उनका अनुसार नेपाल एकीकरणको सम्बन्धमा राष्ट्रनिर्माता तथा नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्यांकन र देशभक्ति भावनालाई आत्मासात् गरी सेनाले पदयात्रा सुरु गरेको हो।
नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाले देश र जनताका लागि बफादारीसाथ काम गर्दै आइरहेको बताउँदै राष्ट्रिय एकताको सन्देश दिन पदयात्रा सुरु गरिएको बताए। स्थानीयहरूको महत्वपूर्ण पहलकदमीमा नै पदयात्राले निरन्तरता पाएको उनले बताए।
पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, टर्च, बाजागाजासहित नेपाली सेनाका टोली सहभागी छन्। नेपाली सेनाका कम्पनीहरू (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सबुज र बबर्दबहादुर)ले झन्डासहित यात्रा सुरु गरेको टोलीको नेतृत्व रिपुमर्दन गणका उपसेनानी बम बोगटीले गरेका छन्।
गोरखा दरबारबाट हिँडेको टोली जोरचौतारा, ताप्ले, अश्राङ बोर्लाङ हुँदै बिहीबार साँझ गोरखा–धादिङ सीमाक्षेत्रको घाटबेँसीमा पुगेर टर्च र झन्डा धादिङको शिवदल गणलाई हस्तान्तरण गर्ने विष्टले जानकारी दिए। शिवदल गणले नुवाकोटको जबरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि सोही टोलीले उक्त झन्डा र टर्च काठमाडौंसम्म पुर्याउने गणपति विष्टले बताए।
पुस २६ गते काठमाडौं पुग्ने टोली २७ गते हनुमानढोकामा आयोजना हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको कार्यक्रममा सहभागी हुनेछ। इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तत्कालीन सेनाले प्रयोग गरेका मार्गहरूको पहिचान गर्न नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो।