मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष २१ बिहीबार ०८:४१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफलाई हराएको संकटा उपाधिनजिक

Read Time : > 1 मिनेट
२०७९ पौष २१ बिहीबार ०८:४१:००

संकटा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ४–१ ले पराजित गर्दै संकटाले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । उपाधिका लागि अब संकटाले चर्च ब्वाइज युनाइटेड क्लब र पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकाबीचकोे विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ । ०७६ सालमा उपाधि चुमेको संकटा दोस्रोपटक ट्रफीनजिक पुगेको हो ।

संकटाले अन्तिम दुई स्थान रक्षा गर्ने क्रममा दुई विभागीय टोलीलाई पराजित गर्‍यो । संकटाले क्वार्टरफाइनलमा बाई पाएको त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको थियो । एपिएफले अन्तिम आठमा धरान फुटबल क्लबलाई हराएको थियो । संकटाको जितमा दुई विदेशी खेलाडी निर्णायक बनेका थिए । विदेशी खेलाडीले समान दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा म्यान अफ दी म्याच स्टेफन बिनोङले संकटालाई १–० को अग्रता दिलाए । मेसुकेको पासमा स्टेफनले सहजै अग्रता गोल गरे । खेलको ४३औँ मिनेटमा मेसुकेले संकटालाई २–० को स्थितिमा राखे । 

स्टेफनले मिलाइदिएको क्रसपासमा मेसुकेले डिबक्सनजिकैबाट उत्कृष्ट गोल गर्न सफल भए । पहिलो हाफमा दुई गोलले अग्रता लिएको संकटाका लागि खेलको ६१औँ मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गरे । आन्द्रेले दिएको लामो पासलाई उनले गोल गर्दै संकटालाई ३–० को बलियो स्थितिमा राखे । खेलको ७४औँ मिनेटमा एपिएफका हरि कार्कीले खेललाई ३–१ को अवस्थामा झारे । खेलको ५६औँ मिनेटमा युवराज खड्काको स्थानमा मैदान कार्की छिरेका थिए । डिबक्सभित्र विकु तामाङले मिलाएको पासमा कार्कीले गोल गरेका थिए ।८६औँ मिनेटमा संकटाका लागि मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दा संकटा ४–१ ले विजयी भयो । मैदानको मध्यभागबाट आन्द्रेले दिएको पासमा मेसुकेले गोल गरे । 

सुधारिएको खेल
संकटाका प्रशिक्षक सल्यान खड्गीले एपिएफविरुद्ध सुधारिएको खेल भएको प्रतिक्रिया दिएका छन् । ‘विभागीय टोलीविरुद्ध योजनाअनुसार खेल भयो, आजको खेलमा केही सुधार पनि भयो,’ खड्गीले भने, ‘खेलाडीले मिहिनेतसँगै राम्रो खेले ।’ एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडीले केही गल्ती गरेका कारण गोल व्यहोरेको जनाए । ‘संकटाविरुद्धको खेलमा खेलाडीले केही गल्ती गरेका थिए,’ महर्जनले भने, ‘खेलाडीले प्राप्त गोल अवसर सदुपयोग गर्न सकेनन्, हारभन्दा पनि टोलीले कस्तो प्रदर्शन गर्‍यो भन्ने महत्वपूर्ण हुन्छ ।’