मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Thursday, 19 December, 2024
रवीश कुमार
२o७९ पौष १४ बिहीबार o८:५८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हामी भारतका हिंस्रक मानिस

हिंसा सहनु पनि हिंसा हो, हिंसा हुँदै गरेको देख्नु पनि हिंसा हो र हिंसा गर्ने राज्यले अहिंसाको ढोंग गर्नु पनि हिंसा नै हो

Read Time : > 2 मिनेट
रवीश कुमार
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार o८:५८:oo

भारतको आत्मा भट्किरहेको छ । थाहा छैन, उसले आफ्नो स्वर्णयुग कहिले देखेको थियो । कसैले वर्तमान समाजलाई त्यसै युगमा फर्काउने सपना देखाउँदै छन् भने कोही त्यो युगलाई पुनः स्थापित गर्न चाहन्छन् । यो भट्किँदै गरेको आत्मासँग एउटा मात्रै घोडा छ । वेला–वेलामा घोडसवारहरू फेरिने गर्छन् ।

भारतलाई यही भट्किँदै गरेको आत्माको पश्चात्तापले जकडेको छ । यसैकारण तपाईं–हामी हिंसाको कुरा गर्ने नायकका पछाडि उभिन पुग्छौँ । हामी सबैलाई त्यही स्वर्णयुग चाहिएको छ, जसको कुनै अस्तित्व थिएन । भारतीय अतीतको आदर्श यति एकोहोरो छ कि लाग्छ, त्यो स्वर्णयुगमा कसैले झुट बोल्दैनथ्यो । कसैको हत्या नै हुँदैनथ्यो । कसैले कुनै प्रपञ्च रच्दैनथे । जे थियो सबै दैवीय थियो । मानौँ, यस धर्तीमा त्यस्तो कालखण्ड भारतमा मात्रै थियो, अन्यत्र कतै थिएन । अहिंसालाई राम्रो गरी बुझ्नका लागि हामीले पहिले हिंसालाई बुझ्नुपर्ने हुन्छ । र, हिंसालाई बुझ्ने सवालमा इमानदार बन्नुपर्छ ।

प्राचीन भारतको महिमामण्डन आजपर्यन्त जारी छ । वर्तमान यति खोक्रो भइसकेको छ कि अतीतबाट आत्मबल लिने होड मच्चिएको छ । स्वतन्त्रतापछि प्राचीन भारतलाई बुझ्न कैयौँ गहनतम् प्रयास भएका छन्, तर ती सबैलाई कहिले माक्र्सवादी त कहिले राष्ट्रवादी, कहिले दक्षिणपन्थी त कहिले वामपन्थी भनेर खारेज गरियो । इतिहास बुझ्ने समझबीच भइरहेको टकरावले धर्मका नाममा मूर्खतापूर्ण धारणालाई बाहुपाश फैलाउन सहज बनाइरहेका छन् ।

राजनीतिक सत्ताको समर्थनमा धर्मको खोल ओढेका मानिसले प्राचीन भारतबारे जे पनि घोषणा गर्न सक्छन् । त्यसको प्रभाव कति बलियो हुन्छ भने तपाईं बिडी चट्टोपाध्याय, सुविरा जयसवाल, केएम श्रीमाली, डिएन झा, रामशरण शर्मा, रोमिला थापर, कुमकुम रोय, कुणाल चक्रवर्ती, नयनजोत लाहिरी, उपिन्दर सिंह आदिलाई पढ्नुअगावै खारेज गर्न पुग्नुहुन्छ ।

‘पोलिटकल वार रुम’ मा यिनलाई चुनौती दिइन्छ । यिनले लेखेका र यिनले दिएका सन्दर्भलाई लिएर होइन, सरकारले बनाइदिएको धारणामा टेकेर । इतिहास पढ्नु भनेको कुनै निष्कर्षमा पुग्नका लागि मात्रै हुँदैन, बरु त्यस समयलाई हेर्नु र बुझ्नु पनि हो । जो अध्ययनदेखि तर्किने गर्छन्, तिनले नै पढेलेखेकालाई खारेज गरिरहेका हुन्छन् । भारतीय आदर्शवाद यतिवेला सबैमाथि लाद्न थालिएको छ । एकजना प्रधानमन्त्रीको उदय भएको छ, जो स्वयं पुष्पक विमान वैज्ञानिकले भन्दा कैयौँ वर्षअघि पूर्वीय शास्त्रीहरूले अभ्यास गरिसकेको बताउँछन् । प्राचीन भारतको वैज्ञानिकता पनि त्यसैगरी संदिग्ध र अधुरो हुन पुगेको छ, जसरी भारतको दर्शन र सामाजिक यथार्थको, आदर्शवादको महिमामण्डन अधुरो छ ।

हिंसा सहनु पनि हिंसा हो, हिंसा हुँदै गरेको देख्नु पनि हिंसा हो र हिंसा गर्ने राज्यले अहिंसाको ढोंग गर्नु पनि हिंसा नै हो
 

स्वतन्त्रता संग्रामका क्रममा मोहनदास करमचन्द गान्धी, विनायक दामोदर सावरकर, भीमराव अम्बेडकर, जवाहरलाल नेहरू सबैले प्राचीन भारतबाट आदर्श लिएका छन् र आ–आफ्नो प्रभाव विस्तार गरेका छन् । हो, के विषयमा बहस हुन सक्छ भने ती सबैको सोच प्राचीन भारतको धाराबाट मात्रै प्रभावित थियो कि थिएन ?

पश्चिमका अनेक धारा र तत्कालीन यथार्थले पनि तिनलाई अहिंसातर्फ हेर्न उद्वेलित गरिरहेको हुन सक्छ । इतिहासकार उपिन्दर सिंहको पुस्तकमा यसको सविस्तार चर्चा छ । ‘पोलिटिकल भोइलेन्स इन एन्सेन्ट इन्डिया’ नामक पुस्तकको प्रकाशन हावर्ड विश्वविद्यालय प्रेसले गरेको हो । यो पुस्तक तिनले पढ्नुपर्छ, जो हिन्दू–मुस्लिम बहसलाई नियालिरहेका छन् । जसलाई प्राचीन भारतमा चासो छ । तिनले त कहिल्यै पढ्नेछैनन्, जो हिन्दू–मुस्लिमको एकतर्फी बहसमा रमाइरहेका छन् ।

पुस्तकले प्राचीन भारतमा हिंसा र अहिंसालाई लिएर विमर्शको जरा खोतल्ने प्रयास गर्छ । पुस्तकमा अहिंसाका तत्वहरू भारतीय समाजमा कहाँबाट हाबी हुन थालेका थिए भनेर हेर्ने प्रयास गरिएको छ । यससँगै उपिन्दर सिंहले हिंसाका तत्वमा पनि विमर्श गर्ने प्रयास गरेका छन् । तत्कालीन समयमा हिंसा र त्यसको स्वरूपलाई बुझ्ने सन्दर्भमा पनि यो जरुरी छ । राज्यसत्ताको दायरामा हिंसाको स्वरूप भिन्न थियो । पुस्तकको पहिलो अध्याय राजगिर र वैशालीबाट आरम्भ हुन्छ । मगधको राजधानी राजगिर, जो राजनीतिक सत्ताको केन्द्र मात्रै होइन, त्याग र अहिंसालाई पनि जोड दिने विचारको केन्द्र मानिन्थ्यो भन्ने सन्दर्भबाट कुराको सुरुवात हुन्छ । हामीले प्रायः कमै चर्चा गर्ने गरेको सिंहासनका लागि पुत्रद्वारा पिताको हत्या पनि हिंसाको एउटा भिन्नै स्वरूप थियो ।

हामीले समाजभित्र लुकेर रहेको हिंसाको परम्परालाई बुझे मात्र आजका सन्दर्भमा सत्ताको हिंस्रक चरित्र बुझ्न सहज हुन्छ । हाम्रो समाजमा जातीय हिंसाको अमानवीय चक्र आजपर्यन्त जारी छ । सत्ताका हिंस्रक धारणाहरू हामीले भोगिरहेकै छौँ, तर बोल्ने वेलामा हामी आफ्नो राजनीतिक निष्ठा जोगाउने प्रयत्न गर्छौं । जिएन साईबाबालाई नक्सल समर्थक भनेर जेल हालिएको छ । उनले आफ्नी पत्नीलाई पत्र लेखेर उनलाई मर्न छोडिदिएको जनावरलाई जस्तो व्यवहार गरिएको बताएका छन् । उनी ९० प्रतिशत विकलांग छन् । 

हामी सबै हिंसाका सिकार छौँ । हामी जस्तोसुकै हिंसाप्रति सहनशील र बुद्धिहीन भइसकेका छौँ । हामी सबै हिंस्रक हौँ र हिंसाको चक्रमा बाँच्न लागि अभिशप्त छौँ । त्यसैले, अहिंसाको गुणगान गर्नुअगावै त्यो हिंसाको वास्तविक अनुहार एकपटक हेर्नुस्, जुन हामी सबैको हो । हिंसा सहनु, हिंसा हुँदै गरेको देख्नु र हिंसा गर्ने राज्यले अहिंसाको ढोंग गर्नु पनि हिंसा नै हो ।  
(पत्रकार रवीश कुमारको ब्लगबाट)