मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ६ सोमबार
  • Thursday, 19 December, 2024
रवीश कुमार
२o७८ बैशाख ६ सोमबार o९:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लखनउ अर्थात् हालको ‘लासनउ’

भारतको अहिलेको संकट वैज्ञानिक बाटो छाडेर जनतालाई मूर्ख बनाउने अहंकारले निम्त्याएको हो

Read Time : > 2 मिनेट
रवीश कुमार
नयाँ पत्रिका
२o७८ बैशाख ६ सोमबार o९:o९:oo

भारतलाई विश्व गुरु बनाउने नाममा सोझा जनतालाई ठग्नेहरू तिनै जनतासामु निकै निर्दयी रूपमा प्रस्तुत भएका छन् । आमसर्वसाधारण मात्र होइन, हरेक तप्काका मानिस अस्पतालको भित्र–बाहिर बेवास्तामा परेका छन् । उनीहरूको तड्पाइ बेवास्तामा परेको छ । शनिबार लखनउबाट वरिष्ठ पत्रकार विनय श्रीवास्तवले ट्विटरमा सहयोग मागिरहेका थिए । उनी अक्सिजनको मात्र काम हुँदै गएको बताइरहेका थिए । कोही सहयोगका लागि नपुगेकाले विनय श्रीवास्तवको मृत्यु भयो । 

धर्मको राजनीतिको नाममा कार्यकर्ताको भिड निकाल्न सक्नेहरूसँग एक वर्षको अवसर थियो । यो अवधिमा कुनै पनि आपत्कालीन स्थितिका लागि स्वास्थ्य व्यवस्थालाई तयार गर्न सकिन्थ्यो तर गरिएन । त्यही कारणले लखनउ अब ‘लासनउ’ बनेको छ । अन्य सहरको अवस्था पनि यही छ । परिस्थिति कस्तो बनेको छ भने भाजपासम्बद्ध व्यक्तिले समेत आफन्तजनलाई अस्पताल र अक्सिजन पुर्‍याउन सकिरहेका छैनन् । अघिल्लो हप्ता कसैका लागि अस्पतालको प्रबन्ध गर्न त कसैका लागि अक्सिजन अनि अरू कसैका लागि इन्जेक्सनका लागि कैयौँपटक फोन गर्नुपर्‍यो । सफलताको दर भने शून्य ।

मभित्र पनि लुकिछिपी संक्रमण बसिरहेको रहेछ । आरटी–पिसिआरमा त नेगेटिभ देखियो, त्यस्तै रगतका विभिन्न जाँचमा पनि केही देखिएन । तर, मेरा डाक्टर मलाई कोभिड छ भन्नेमा निश्चित थिए । मेरो गन्धको क्षमता पनि हराएको छ । हालसम्म म ठिकै छु । धेरैले म किन प्राइम टाइम लिएर आइरहेको छैन भन्ने प्रश्न गरेकाले केवल सूचनाका लागि मात्र यति भन्न आवश्यक ठानेँ । नत्र आमजनताको तुलनामा मेरो कथा त्यति महत्वपूर्ण छैन । जसमाथि देशभक्ति नामको दुकान चलाउनेहरूले गद्दारी गरेका छन् र विनाअक्सिजन तिनलाई मर्न छाडिएको छ । 

धर्मका नाममा कार्यकर्ताको भिड निकाल्न सक्नेसँग एक वर्षको अवसर थियो । यो अवधिमा कुनै पनि आपत्कालीन स्थितिका लागि स्वास्थ्य व्यवस्थालाई तयार गर्न सकिन्थ्यो, तर गरिएन । त्यसैले लखनउलाई ‘लासनउ’ बनाइयो । अन्य सहरको अवस्था पनि योभन्दा भिन्न छैन । 

अहिले राष्ट्रवाद कहाँ छ, जसले आफ्ना जनतलाई अस्पतालमा भेन्टिलेटर र एम्बुलेन्स दिन सकेको छैन । चितामा प्रयोग हुने काठको भाउ बढेको छ । मानिसहरू आफन्तबारे चिन्तित छन् । भारतको अहिलेको संकट वैज्ञानिक बाटो छाडेर जनतालाई मूर्ख बनाउने र सम्झिने अहंकारले निम्त्याएको संकट हो । जनता यसको मूल्य चुकाइरहेका छन् । यसबीच पनि आइटी सेल सक्रिय भएको छ । गुजरातमा मानिस मरिरहेका छन्, त्यसप्रति ऊ लज्जित छैन । तर, महाराष्ट्रमा पनि मानिस मरिरहेको कुरा बताइँदै छ । 

जसरी नोटबन्दीको समयमा आमसर्वसाधारणले खुत्रुकेमा राखेको पैसासमेत मूल्यहीन भएको पाएका थिए, त्यस्तै भयावह स्थिति अहिले देखिएको छ । जाली नेताले अक्सिजनको व्यवस्था गर्न नसकेकाले आममानिस मरिरहेका छन् । भोलि तिनै नेता महान् पल्टिनेछन् । धर्मको मुद्दा कम हुनेछैन । कतै कुनै मस्जिद र कतै मन्दिरको मुद्दा आउनेछ । र, उनीहरू जनताका रक्षकका रूपमा अघि आउनेछन् । तर, जब अक्सिजन दिएर रक्षा गर्ने वेला भने उनीहरू दृश्यमा देखिएका छैनन् । 

यदि भारतमा व्यवस्थित लोकतन्त्र हुन्थ्यो भने सरकारमाथि आपराधिक मुद्दा चल्थ्यो । यो समय आमजनताले हिम्मत हारे पनि झुटो आशा राख्न हँुदैन, जसमाथि क्रूरता भएको छ, जसलाई पहिले धर्मको नशा दिइयो । अहिले आएर तिनै जनताको पिठ्युँमा छुरा हानिएको छ ।

जाली मानिसहरूको समूह आधा जनसंख्या बिमारी हुँदा कुनै पनि अस्पताल फेल खाने दाबी गरिरहेका छन् । तर, मूर्खहरूले यो बताएनन् कि तिनले कति अस्पताल बनाए, कति भेन्टिलेटर लगाए र कति परीक्षण केन्द्र बनाए ? पत्रकारहरू ‘प्रधानमन्त्री केयर फन्ड’को पैसा कहाँ गयो भनेर प्रश्न गरिरहेका छन्, तर जवाफ दिने आवश्यकता पनि ठानिएको छैन । अहंकारले आकाश छोएको वेला जो छ । 

अहिले सम्पूर्ण प्रयास लासका समाचार हटाउनेमा केन्द्रित छ । गोदी मिडिया सक्रिय हुनेछन् । एक–दुई दिन पर्खिनुस्, स्थिति नियन्त्रणमा आएको खबर आउनेछ । फेरि प्रधानमन्त्रीले कसरी रात–रातभर जागेर यो सब ठीक गरे भन्ने रिपोर्ट आउन थाल्छ ।

फेरि जनताले महान् शासकको शासन रहेको विश्व गुरु भारतमा बाँचेको अनुभव गर्नुहुनेछ । मोदीजीलाई महान् देखाउनका लागि रामदेवको दबाई बेच्ने डा. हर्षवर्धनलाई बर्खास्त गरिने एउटा सम्भावना पनि कायम छ । बस, यस्तै दुई–चार हेडलाइनको आवश्यकता छ । हेडनलाइनमा कुनै कमी हुनुहुदैन । जाबो अक्सिजन कम भएर के भयो र ? 
(रवीश भारतका पत्रकार हुन्) रवीशको वालबाट