प्रधानमन्त्री नरेन्द्र मोदीले खोप लगाए । र, खोप लगाएको तस्बिर ट्विटरमा सार्वजनिक गरे । सबभन्दा राम्रो कुरा के हो भने प्रधानमन्त्रीले एम्स जाँदै गर्दा सामान्य बाटोको प्रयोग गरे । उनको रुटलाई सुरक्षित रुटमा रूपान्तरण गरिएन । अत्यधिक सुरक्षामा जेलिएको जीवन कहिलेकाहीँ सामान्य हुँदैन, त्यसैले प्रधानमन्त्रीले कहिलेकाहीँ यसको आनन्द लिनु राम्रो हो ।
सामान्य बाटोबाट गुड्दै गर्दाको आनन्द कति सामान्य हुन्छ त्यो त व्यक्तिमा निर्भर गर्छ । भिडियोमा प्रधानमन्त्रीको कार एउटा अटोको छेउबाट गुज्रिँदै गरेको देखिन्छ । अटोमा बसेर दिल्ली घुमौँ भन्ने मन त उनलाई पनि हुँदो हो । कहिलेकाहीँ यस प्रकारको यात्रा गर्नु बेठीक होइन । खुला हावामा सास लिने उनलाई पनि अधिकार छ ।
तर, जसरी ‘गोदी मिडिया’का पत्रकार उनको पछि–पछि दौडिरहेका थिए, त्यसले यस यात्राको क्षणिक सुखलाई प्रोपोगन्डामा बदलिदियो । कैयौँ पत्रकार त अरूलाई व्यंग्य गर्नतर्फ लागे । लाग्थ्यो हतास हुन पुगेका गोदी मिडियालाई प्रधानमन्त्रीले खुसी हुनका लागि नै एउटा भिडियो दिएका हुन् ।
‘गोदी पत्रकार’ जोसँग एउटा पनि खोजी समाचार हुँदैन उनीहरू हिजो किन खुसी देखिन्थे ? वास्तवमा उनीहरू भन्न खोज्दै थिए– हामीसँग समाचार नभए पनि प्रधानमन्त्रीको यात्राको व्यहोरा भने छ । हिजो ‘गोदी पत्रकार’लाई समाजमा प्रासंगिक हुने सुख प्राप्त भएको थियो । न्युज रुममा यस्ता पत्रकारहरूको समय सोमबार निकै राम्रोसँग बित्यो । यसै भिडियोको आडमा उनीहरूले हामी प्रधानमन्त्रीको प्रचारमा लागेका थियौँ भनेर सम्पादकलाई पनि भ्रममा पारे । सम्पादक पनि आफ्नो ठाउँबाट लागेकै होलान् ।
जुन सूचना प्रधानमन्त्री आफैँले सार्वजनिक गरेका हुन्, त्यो त न्युज रुममा बसेको जो कोहीले पनि समाचार बनाउन सक्छ । यसमा न मिहिनेत लाग्छ न त कुनै जोखिम हुन्छ । धेरै पत्रकार यसैगरी आफ्नो तलब पकाइरहेका छन् । तपाईंले उनीहरूको ट्विटरमा गएर हेर्नुभयो भने एउटा पनि त्यस्तो समाचार पाउनुहुन्न जसलाई पत्रकारिता भनिन्छ । विगतमा जसरी उनीहरूलाई तपाईंसँग समाचार के छ र त्यसमा समाचारीय तत्व के छ ? भनेर सोध्ने हो भने सबैले दाँत देखाउनेबाहेक केही गर्न सक्दैनन् । त्यसैले मोदीको नाम जप र तलब लेऊ । बरु यहाँ त जसले समाचार खोजेर ल्याउने गर्छ ऊ नै ग्लानिले भरिएको जीवन बाँच्दै छ ।
हिजो खोप लगाउने एउटी नर्स केरलकी र अर्की पड्डुचेरी हुन् भन्नका लागि सम्पूर्ण मिडिया लागिपरेको थियो, त्यसले यो सबै संयोग होइन भन्ने देखाउँछ, किनभने ती क्षेत्रमा निर्वाचन भइरहेको छ । के यस्तो गर्नु राम्रो हो ?
अब कुरा गरौँ प्रधानमन्त्रीको त्यो तस्बिरको, जसमा उनी खोप लगाउँदै छन् । प्रधानमन्त्रीले आफ्नो ट्विट्मा खोप लगाउँदै गरेकी नर्स कहाँ कि हुन् भनेर लेखेनन् । तर, जसरी हिजो खोप लगाउने एउटी नर्स केरलकी र अर्की पड्डुचेरीकी हुन् भन्नका लागि सम्पूर्ण मिडिया लागिपरेको थियो, त्यसले यो सबै संयोग होइन भन्ने देखाउँछ ।
किनभने ती क्षेत्रमा निर्वाचन भइरहेको छ । के यस्तो गर्नु राम्रो हो ? प्रधानमन्त्रीले नर्सको यसरी चयन गर्नु के गलत होइन ? बरु उनले कुन नर्स राम्रो हो भनेर चयन गर्नुपर्ने हुन्थ्यो । तर, ‘गोदी पत्रकार’ नर्स कहाँकी हुन् भनेर उफ्री–उफ्री चिच्याइरहेका थिए ।
प्रशंसा गर्ने नाममा उनीहरूले हाम्रो प्रधानमन्त्रीको सोच निर्वाचनसम्म मात्रै सीमित छ भनेर भनिरहेका थिए । ‘गोदी पत्रकार’ले जतिवेला पनि प्रधानमन्त्रीलाई वाचाल मानिसका रूपमा मात्रै किन प्रस्तुत गर्छन् ? अनि विनासुरक्षा एम्ससम्म यात्रा गरेको विषयमा पनि वाहवाही गर्छन् । यस्तो अवस्थामा यो प्रोपोगन्डाको हिस्सा होइन भनेर कसरी भन्ने ?
सवाल त के हो भने प्रधानमन्त्री, गृहमन्त्री अथवा अन्य केन्द्रीय मन्त्रीहरूले हिजो रामदेवको औषधि किन लगाएनन् ? रामदेवको औषधिको लोकार्पण गर्न दुईजना केन्द्रीय मन्त्री गएका थिए । जुन औषधि जनताका लागि राम्रो भन्दै लोकार्पण गर्दै हुनुहुन्छ त्यो आफैँले किन लगाउनुहुन्न ? हिजो दिनभरि यो प्रश्न हाम्रा मिडियामा विलुप्त थियो । आफूले खोप लगाउने र रामदेवलाई औषधि बेच्न दिने दोहोरो नीति लिन प्रधानमन्त्रीलाई शोभा दिन्छ र ?
(रवीश कुमार भारतका पत्रकार हुन्) मिडियाभिजीलबाट