१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १२ मंगलबार o९:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देउवा हठको तीन नेताले गरे आलोचना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार o९:o२:oo

चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भन्दा महत्वहीन ठानियो : कोइराला

कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरूबीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानिएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै आफूहरूले चुनावअघि गठबन्धन नगरौँ भन्दा त्यसलाई महत्वहीन ठानिएको बताएका हुन् । 

‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आमनेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ उनले भनेका छन् ।

तर, कोइरालाले पछिल्लो घटनाक्रमले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको प्रस्ट पारेका छन् । सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ । ‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वाभाविक होइन । साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन,’ कोइरालाले भनेका छन्, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूका घरआँगनमा आउनेछौँ ।’ उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने पनि उल्लेख गरेका छन् । ‘किन यस्तो परिस्थिति निर्माण भयो भनेर हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्नेछौँ,’ कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौँ ।’ 

अब पुनः कांग्रेसलाई उठाइन्छ : थापा

कांग्रेस महामन्त्री गगन थापाले पार्टीलाई पुनः उठाउने बताएका छन् । हातमा आएको सत्ता र अवसर पार्टी नेतृत्वकै कमजोरीका कारण गुमेपछि पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन सोमबार उनले कांग्रेसलाई पुनः जरैबाट उठाउने बताएका हुन् । 

सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरेर मात्र गठबन्धनबारे निर्णय गर्छु भन्नुभए पनि आफूहरूसँग कुनै कुराकानी नगरेको उनको भनाइ थियो । गठबन्धनको निर्णय गर्दा सभापतिले बोलाउनेमा आफू पनि पर्नेमा विश्वस्त भए पनि नबोलाएपछि अपमानित भएर पोखरा आएको उनले बताए । ‘हिजो (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाको फोन कुर्दाकुर्दा आएन । पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद हुँ । यहाँ एकदम अपमानित भएर आएको छु,’ उनले भने ।

हारजितको प्रकरण सकिएकाले अब पुनः कांग्रेसलाई उठाइने उनले बताए । ‘हारजितको कुरा एकछिन आयो, गयो । कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो । त्यो कुरा फेरि बनाइन्छ । हामी कांग्रेस पार्टीलाई सुदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौँ,’ उनले भने । 

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लबजस्तो देखिएको थापाको भनाइ थियो । ‘एउटा पूर्वप्रधानमन्त्रीले अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कतिपटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा सामान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ,’ उनले भने ।

पाँच वर्षपछि च्याम्पियन बन्छौँ : शर्मा

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यसपटक समूह चरणमा जितेर हारेको कांग्रेस आगामी पाँच वर्षपछि डिफेन्डिङ च्याम्पियन बन्ने बताएका छन् । यसपटक आफूहरू जितेर पनि हारेर आएको उनको भनाइ थियो ।

‘अस्ति वर्ल्डकपमा सबैभन्दा धेरै गोल एम्बाप्पेले गरे, तर कप भने अर्केले जित्यो । यसपटकको निर्वाचनमा सबैभन्दा धेरै गोल हामीले गर्‍यौँ, तर पनि कप अर्कोले जित्यो । अबको पाँच वर्षपछि हामी डिफेन्डिङ च्याम्पियनलाई हराउँछौँ र च्याम्पियन बन्छौँ,’ शर्माले भने । हाल सिर्जना भएको राजनीतिक घटनाक्रमलाई कांग्रेसले गहिरो विश्लेषण गरी आउँदा दिनका लागि थप यात्रा तय गर्ने उनले बताए । शर्माले आइतबारको घटना कांग्रेसका लागि एउटा टर्निङ प्वाइन्ट रहेको बताए । 

निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले नेपालको निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने उनले टिप्पणी गरे । समूह चरणमा कांग्रेसले जुन अंक पाएको छ, त्यो सुरक्षित नै रहेको शर्माले बताए ।

ad
ad
ad
ad