Skip This
इलेक्ट्रोनिक पसल छाडेर व्यावसायिक कुखुरापालनमा रमेका अर्जुन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १३:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

इलेक्ट्रोनिक पसल छाडेर व्यावसायिक कुखुरापालनमा रमेका अर्जुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १३:o७:oo

धेरैजसो युवायुवती देशमा भविष्य छैन भन्दै विदेश पलायन भइरहेका छन्। राज्यले स्वदेशमा बसेर केही गरौँ भन्ने वातावरण नबनाएको भनिरहँदा सल्यानका एक व्यक्ति भने इलेक्ट्रोनिक पसल छोडेर व्यावसायिक कुखुरापालनमा रमाइरहेका छन्। सल्यान त्रिवेणी गाउँपालिका– ६ लुहामका अर्जुन श्रेष्ठले कुखुरा पालेर मासिक झन्डै चार लाख आम्दानी गर्दै आएका छन्।

इलेक्ट्रोनिक पसलमा भविष्य नदेखेपछि कृषि पेसामा आबद्ध भएको उनको भनाइ छ। श्रेष्ठले लुहाम बजारस्थित आफ्नै घरमा लामो समयसम्म इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका थिए। तर, प्रविधिको विकाससँगै पसलबाट सोचेजस्तो प्रतिफल आउन छोडेपछि कुखुरापालनमा जोडिएको उनले बताए।

विगत १० वर्षदेखि गण्डकी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर कुखुरापालनमा लागेका उनलाई पहिलो गाँसमै ढुंगाजस्तै भएको थियो कुखुरापालन । ‘पसलबाट आम्दानी हुन छोडेपछि कुखुरापालनमा लागियो, तर पहिलो वर्ष नै कुखुरा मर्दा र अन्डाले  बजार भाउ नपाउँदा ६ लाख घाटा भएको थियो,’ उनले भने। घाटा भए पनि हरेश नखाई उनी निरन्तर कुखुरापालनमा लागिरहे। पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानले अनुदान दिएपछि घाटालाई केही कम गर्न मद्दत पुगेपछि कुखुरापालनलाई निरन्तरता दिन सहज भएको उनले बताए।

अन्डा बिक्रीबाट मासिक तीन लाखभन्दा बढी आम्दानी
व्यावसायिक रूपमा लेयर्स जातका कुखुरापालन गर्दै आएका श्रेष्ठसँग अहिले झन्डै दुई हजार कुखुरा छन्। जसले दैनिक कुल १७ सयदेखि १८ सय अन्डा दिँदै आइरहेका छन्। यो वर्ष अन्डाले बजार भाउ पाउँदा निकै राहत मिलेको उनको भनाइ छ। फर्मबाट नै प्रतिक्यारेट पाँच सयका दरले बिक्री भइरहेको उनले बताए। ‘दैनिक १७ सय अन्डा मात्र बिक्री भयो भने १२ हजार दैनिक आम्दानी हुन्छ । यो वर्ष अन्डाको बजार मूल्य पनि राम्रो छ,’ उनले भने।

अन्डा बिक्री हुँदैन कि भनेर यो वर्ष बजारको चिन्ता लिनु नपरेको श्रेष्ठको भनाइ छ। ‘बजारको मागअनुसार अहिले अन्डा पुर्‍याउन धौधौ भइरहेको छ,’ उनले भने। कुखुरापालनमा ३५ लाख लगानी गरेका श्रेष्ठ आफ्नो अनुभवले कृषि पेसालाई निरन्तरता दिन सके प्रतिफल पाउन समस्या नहुने बुझाएको बताउँछन्।

व्यावसायिक अन्डा उत्पादनमा लागेका उनलाई त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको ‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ले पनि निकै राहत दिएको छ। पालिकाकाले किसानलाई प्रतिअन्डा ५० पैसा उपलब्ध गराउँदै आइरहेको छ। कृषिलाई नै मुख्य पेसा बनाएका किसानलाई पालिकाले पनि सहयोग गर्दै आइरहेको छ। श्रेष्ठ यो वर्ष पालिकाको उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भएका छन्।

ad
ad
ad
ad