राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुर्याएको बताएकी हुन्।
प्रेस जगतलाई राज्यले अंकुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिएन्। उनले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले महासंघको साधारणसभासहित मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालयसमेत उद्घाटन गरिन्।
साधारणसभामा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले अहिले पनि कर्णालीलाई चिन्न नसकेको टिप्पणी गरे। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताए।
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आजभन्दा १५ वर्षअघि आफू सञ्चारमन्त्री हुँदा श्रमजीवी पत्रकारको हितमा काम गरेको बताए। उनले राष्ट्रिय राजनीतिका सन्दर्भमा सरकार गठनका लागि कुनै सहमति नभएको उल्लेख गरे।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले राजनीतिक संकट समाधानमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए। यस्तै, लोकतान्त्रिक समाजवादीका केशव झाले परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वसभापति हरिहर विरहीले सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको आवश्यकता रहेको बताए। महासंघका पूर्वअध्यक्ष किशोर नेपालले संविधानको भावनाअनुरूप दल र नेपालको राजनीतिक प्रणाली जान नसकेको औँल्याए। भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यको सहभागिता छ।