कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको एक पार्क व्यवस्थापन गरिँदै छ । भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर बजारसँगै रहेको ‘भीमदत्त बाटिका’ व्यवस्थापन गर्न लागिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनेको पार्क उचित व्यवस्थापनकाे अभावमा अस्तव्यस्तजस्तै भएको थियो । अहिले स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै बजारकै मुटुमा रहेको पार्क व्यवस्थापन गरिन लागिएको छ ।त्रिकोणात्मक रहेको पार्क उचित व्यवस्थापन अभावका कारण प्रवेश गर्न लायक थिएन ।
भीमदत्त नगरपालिका सरकारमातहत रहेको पार्क हरेक वर्ष ठेक्का लगाइथ्यो, केही मानिस मात्रै पार्क अवलोकनका लागि आउँथे, तर केही वर्ष वर्षयता उचित व्यवस्थापन अभावका कारण तीनतिरै पार्कभरि जंगली झाँडी र केही ठूला, साना होचा पुट्कापाट्की बिरुवा मात्रैले मानिसको आकर्षण थिएन । महेन्द्रनगर प्यालिङ सहरसँगै झन्डै साढे तीन दशकअघि बनेको पार्क अहिले सजावट गर्न नगरपालिकाले अग्रसरता देखाएको छ । पार्कको तीनतिर पक्की सडक रहेको छ । चालू आर्थिक वर्ष ०७९/८०मा भीमदत्त नगरपालिका स्थानीय सरकार आफैँले पार्किङ शुल्क संकलन गरिरहेको छ । प्रतिव्यक्ति १० रुपैयाँ र विद्यार्थी, बालबालिकाका लागि पाँच रुपैयाँ निर्धारण गरेको छ ।
भीमदत्त नगरपालिका आफैँले पार्क व्यवस्थापनका लागि कामकाज अघि बढाएको छ । भीमदत्त नगरपालिका– १८ का वडासदस्य हेमबहादुर बस्नेत पार्क व्यवस्थापनका लागि खटिएका छन् । आफ्नो वडामा भएकाले उनले नगरपालिका घचघच्याएर पार्कलाई बच्चादेखि वृद्धसम्मका मानिसलाई अवलोकनकर्ता बनाउने योजना अघि सारेर पार्क व्यवस्थापनमा कस्सिएका छन् । वडासदस्य बस्नेतले पार्कको बाहिर प्यारामिटरमा एक महिनाअघि नै सरसफाइ गरिएको बताए ।