संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान हुँदै छ। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।
बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयपरिसरमा मतदानको व्यवस्था गरिएको थियाे, तर मतदानका क्रममा सांसदलाई मोबाइल साथमा लैजान दिने वा नदिने भन्ने विषयमा विवाद हुँदा निर्धारित समयमा निर्वाचन सुरु हुन सकेको छैन ।
कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात् आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का थिए । यसैगरी, महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल थिए ।
समितिले उम्मेदवारी दरखास्त दिन मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ ।