१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ६ बुधबार ०६:११:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

यसरी एकै ठाउँ  उभिए शेखर–गगन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ६ बुधबार ०६:११:००

सोमबार रातिसम्म दलको नेताको उम्मेदवारीलाई डा. शेखर कोइराला र महामन्त्री गगन थापाले प्रतिष्ठा बनाएका थिए । १४औँ महाधिवेशनमा समूहका तर्फबाट सभापतिमा लडेको र अहिले समूहको प्रमुख नेता भएकाले दलको नेतामा आफ्नो उम्मेदवारी स्वाभाविक हुनुपर्ने डा. कोइरालाको तर्क थियो । महामन्त्री थापाले गत ४ मंसिरको निर्वाचनमा संसदीय दलको नेताका लागि लड्ने सार्वजनिक घोषणा गरेको र कांग्रेसमा पुस्तान्तरणका लागि आफ्नो उम्मेदवारी नै उचित हुने दलिल पेस गरेका थिए । तर, सोमबार रातभरका घटनाक्रम र मंगलबार बिहानका भेटघाटपछि डा. कोइराला पछाडि हटे र महामन्त्री थापालाई दलको नेताको उम्मेदवारका लागि प्रस्तावक बने । 

समूहभित्र सहमतिकै आधारमा एकजना उम्मेदवार बन्न दबाब थियो । समूहको रक्षाका लागि सल्लाहमा एकजना मात्र लड्ने अवस्था बनाउन दबाब दिए पनि कोइराला र थापा सोमबार रातिसम्म टसमस थिएनन् । सोही कारण सोमबारका दुई भेला निष्कर्षहीन बनेका थिए । सोमबार सहमति नबनेपछि मंगलबार बिहान ८ बजे लैनचौरस्थित होटेल एम्बेस्डरमा इतर समूहका नेताहरूको निर्णायक छलफल बोलाइएको थियो । 

दुई नेता मिलाउन लागिपरेका एक केन्द्रीय सदस्यका अनुसार सोमबारको बैठकमा इतर समूहका नेताले गगनको पक्षमा माहोल रहेकाले ‘हार्ने चुनाव’मा उनलाई नै उठाउँदा उपयुक्त हुने सुझाएका थिए । गगन उठेको अवस्थामा अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेतको समर्थन रहने र समूह बलियो बन्ने नेताको सुझाव थियो । कोइरालाले आफू लड्ने औपचारिक रूपमा मुख खोलेका थिएनन्, तर आफूनिकटसँग निरन्तर छलफल गरिरहेका थिए । 

इतर समूहका अर्का एक नेताका अनुसार सोमबार साँझको बैठकपछि कोइरालाले आफूनिकटसँग गगनलाई नै अघि सार्ने मनसाय राखेका थिए । मंगलबार बिहान ८ बजेको बैठकअघि नै गगन शेखरलाई भेट्न महाराजगन्जस्थित निवासमा पुगेका थिए । यही भेटमै शेखर र गगनबीच ‘भविष्यमा समेत सहकार्य गर्ने’ गरी संसदीय दलको उम्मेदवारीमा सहमति गरेको निकट एक नेताले बताए । 

महाराजगन्जको भेटमा गगनले संसदीय दलमा आफूलाई सहयोग गरे र १५औँ महाधिवेशनमा सभापतिका रूपमा शेखरलाई अगाडि सार्ने र समूहलाई बलियो बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए । यही विषयमा दुई नेताबीच भद्र समझदारी बन्यो । र, नेताहरू समूहको बैठकका लागि हिँडेका थिए । उम्मेदवारी मनोनयनमा पत्रकारसँग कुरा गर्दै शेखरले गगनस“गको भद्र सहमतिको पुष्टि हुने गरी आफूहरूबीचको समझदारी १५औँ महाधिवेशनमा देखिने बताएका थिए । 

मंगलबार बिहान एम्बेस्डर होटेलको बैठकमा सुरुमा नै शेखरले आफूले गगनलाई प्रस्ताव गर्ने जानकारी गराए । यसले इतर समूहका नेता–कार्यकर्तामा खुसियाली छाएको थियो । तर, यस विषयलाई औपचारिक रूपमा जानकारी गराउन भने सिंहदरबारस्थित बसेरा होटेलमा इतर समूहको बैठक बसेको थियो । सो बैठकमा महामन्त्री शर्मा पनि सहभागी भए । 

सहमहामन्त्री जीवन परियारले पार्टीको भविष्य हेरेर दुई नेता एक ठाउँमा उभिएको तर्क गरे । उनी इतरको निर्णयले युवा पुस्ताको प्रतिनिधित्व गरेको बताउँछन् । ‘उहाँहरूले सबै विषयको समीक्षा गरेर र पार्टीको भविष्य हेरेर निर्णय लिनुभयो । यसले परिवर्तनको आवाजलाई सुनेको छ,’ उनले भने । दुई नेता मिलाउन समन्वय गरिरहेका नेता डा. गोविन्दराज पोखरेलले सहमतिले पार्टीमा रक्तसञ्चारको गराएको टिप्पणी गरे । ‘शेखरको निर्णयले उहाँ म्यान अफ दी म्याच बन्नुभएको छ, यसले पार्टीमा एकखाले रक्तसञ्चार गराएको छ । इतर समूह झनै सशक्त बनेर आएको छ,’ पोखरेलले भने । 

दुई नेतालाई समझदारीमा ल्याउन भूमिका खेलेका नेता गेजा शर्मा वाग्ले इतरमा विश्व र प्रदीपको प्रवेशले गगन थप बलियो बनेको बताउँछन् । ‘जनताको चाहना र कांग्रेस कार्यकर्ताको भावना सम्मान गर्दै कांग्रेसको भविष्य, रूपान्तरण र पुस्तान्तरणका लागि शेखर कोइराला र प्रदीप पौडेलजीले गगनजीलाई समर्थन गर्नु स्वाभाविक हो, यो सरप्राइज होइन, देश र कांग्रेसको भविष्यका लागि उपयुक्त र विवेकसम्मत निर्णय हो,’ वाग्लेको भनाइ छ ।