१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ पौष ५ मंगलबार ११:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिउँद लागेसँगै बन्द भयो विद्युत् निर्यात, आन्तरिक माग धान्न आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार ११:१९:oo

हिउँद लागेर आन्तरिक उत्पादन घटेपछि भारततर्फ गरिने विद्युत् निर्यात बन्द भएको छ । नेपालले जेठयता ११ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार भारततर्फको विद्युत् निर्यात शून्य छ । साथै, आन्तरिक माग धान्न उल्टै भारतबाट विद्युत् आयात गर्न थालिएको छ ।

सोमबार मात्रै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)बाट २३९.५५ मेगावाट प्रतिघन्टासम्म विद्युत् खरिद गरिएको छ । औसतमा प्रतियुनिट नौ रुपैयाँ ४८ पैसामा विद्युत् खरिद गरेको प्राधिकरणको दैनिक तथ्यांकमा उल्लेख छ । गत सातादेखि नै सामान्य रूपमा विद्युत् आयात हुँदै आए पनि सोमबार भने उच्च मात्रामा विद्युत् आयात भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणले गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्र्री गर्दै आएको थियो । देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको चार सय मेगावाटबराबर विद्युत् भारतमा बिक्री गरिएको थियो । अहिले सुक्खा यामका कारण उत्पादन घटेसँगै निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । ‘उत्पादन कम भएपछि विद्युत् निर्यात बन्द नै भइसक्यो,’ उनले भने, ‘साथै, स्वदेशी माग पूर्ति गर्न भारतबाट विद्युत् आयात पनि गर्न थालेका छौँ ।’

आइतबारसम्म नेपालबाट सात मेगावाटसम्म विद्युत् निर्यात भइरहे पनि सोमबारबाट विद्युत् निर्यात पूर्ण रूपमा बन्द भएको उनको भनाइ छ । यद्यपि, अफ–पिक आवरमा बिहार प्रदेशले आंशिक रूपमा बिजुली पैँचोस्वरूप मागेको उनले बताए । 

नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर)मा आधारित छन् । बर्सातमा खोलामा पानी बढी हुँदा विद्युत् उत्पादन पनि बढी हुन्छ । त्यतिवेला भारतमा निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँद लागेसँगै खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ । जसले गर्दा यहाँको माग धान्न उल्टै भारतबाट विद्युत् आयात गर्नुपर्ने स्थिति छ । 

नेपालमा विद्युत्को कुलजडित क्षमता २३ सय मेगावाट छ । तर, अहिलेको विद्युत् उत्पादन भने १४–१५ सय मेगावाट प्रतिघन्टा हाराहारी छ । तर, विद्युत्को पिक डिमान्ड भने १७ सय मेगावाट छ । यसरी अपुग हुने विद्युत् भारतबाट आयात गर्न सरु गरिएको प्राधिकरणको भनाइ छ । पिक आवरमा भने कुलेखानी, कालीगण्डकीजस्ता जलाशययुक्त आयोजना सञ्चालन गरेर उत्पादन बढाइएको प्राधिकरणको भनाइ छ । 

जेठसम्म आयात गरिने 
जेठ लागेपछि भने हिमालका हिउँहरू पग्लिएर खोलामा पानीको सतह बढ्छ । त्यसपछि भने विद्युत् उत्पादन बढ्न थाल्छ । तर, जेठभन्दा यता भने सुक्खायाम कायमै हुने कारण विद्युत् उत्पादन अझै घट्ने भएकाले जेठसम्म विद्युत् आयात नै गर्नुपर्ने प्राधिकरणको अनुमान छ । आगामी असारदेखि भने विद्युत् निर्यात नै गर्न सकिने प्रवक्ता भट्टराईले बताए । 

‘सुक्खायामका कारण खोलामा पानीको सतह कम भएर विद्युत् उत्पादन अझै घट्नेछ । यद्यपि, यहीबीचमा नयाँ आयोजनाहरू पनि सञ्चालनमा आउन सक्छन्,’ उनले भने, ‘त्योअनुसार यो वर्ष कति विद्युत् आयात गर्नुपर्छ भनेर यकिन अनुमान भइसकेको छैन । जेठसम्म विद्युत् आयात गर्नैपर्छ । असारपछि भने हामी विद्युत् निर्यात गर्ने अवस्थामा पुग्छौँ ।’ प्राधिकरणले गत आवमा भने १५ अर्ब ४६ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो ।

११ अर्बको विद्युत् निर्यात
नेपालले व्यावसायिक रूपमा पहिलोपटक गत जेठ १९ देखि भारतमा विद्युत् बिक्री गर्न थालेको थियो । त्यसमा हालसम्म आउँदा ११ अर्ब रुपैयाँबराबरको विद्युत् बिक्री भएको प्राधिकरणको प्रारम्भिक तथ्यांकले देखाएको छ । 

 

ad
ad
ad
ad