कतारमा भएको विश्वकप फुटबल लक्षित सट्टेबाजी खेलाउन नेपालमा ‘वान एक्स बेट’, ‘मोस्टर बेट’, ‘मेटा बेट’, बेट ३६५ लगायत ‘बेटिङ एप्स’ सक्रिय रहेको खुलेको छ । ‘बेटिङ’का लागि उनीहरूले सयौँको संख्यामा ‘एजेन्ट’ नियुक्त गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
विशेष अप्रेसनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चार दिनको अन्तरालमा चार ‘एजेन्ट’ पक्राउ गरेको छ । उनीहरूसँगको बयानपछि नेपालमा विभिन्न ‘बेटिङ एप्स’का सयौँ ‘एजेन्ट’ सक्रिय रहेको निष्कर्षमा प्रहरी पुगेको हो । सञ्चालनमा आएकामध्ये नेपालीमाझ लोकप्रियचाहिँ ‘वान एक्स बेट’ रहेको प्रहरीको भनाइ छ ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले विश्वकप फुटबल लक्षित ‘बेटिङ एप्स’ सयौँ ‘एजेन्ट’ सक्रिय रहेको बताए । ‘कतारमा जारी विश्वकपलाई लक्षित गरेर विभिन्न ‘बेटिङ एप्स’ सञ्चालनमा रहेको देखिन्छ । उनीहरूले आ–आफ्ना ‘एजेन्ट’ नियुक्त गरेका छन् । यस्ता ‘एजेन्ट’ सयौँ रहेको अनुसन्धानबाट देखिन्छ । त्यसमध्ये केही पक्राउ परेका छन् । केहीविरुद्ध अनुसन्धान जारी छ,’ उनले भने ।
एसपी कृष्ण कोइराला, प्रवक्ता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
कतारमा जारी विश्वकपलाई लक्षित गरेर विभिन्न ‘बेटिङ एप्स’ सञ्चालनमा रहेको देखिन्छ । उनीहरूले आ–आफ्ना ‘एजेन्ट’ नियुक्त गरेका छन् । यस्ता ‘एजेन्ट’ सयौँ रहेको अनुसन्धानबाट देखिन्छ । त्यसमध्ये केही पक्राउ परेका छन् । केहीविरुद्ध अनुसन्धान जारी छ ।
प्रहरीले गत २७ मंसिरमा महोत्तरी गाउँपालिका– १ का २० वर्षीय आदर्श ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको दुई दिनपछि सट्टेबाजमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका– १ का २६ वर्षीय सुजन गौली पक्राउ गर्यो । यही क्रममा आइतबार सट्टेबाजमा संलग्न भक्तपुर चाँगुनारायण नगरपालिका– ९ ताथलीका ३१ वर्षीय सुनील चौगुठी र भक्तपुर सूर्यविनायक नगरपालिका– ८ आदर्शटोलका २५ वर्षीय अजय भेले पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ‘बेटिङ एप्स’मा विभिन्न ‘लेयर’मा ‘एजेन्ट’ नियुक्त हुन्छन् । उनीहरू सधैँ नयाँ ‘एजेन्ट’को खोजीमा हुन्छन् । विशेषगरी सट्टेबाजमा सबैभन्दा धेरै हारेकालाई उनीहरूले ‘एजेन्ट’ बनाउन प्रेरित गर्छन् । २५ प्रतिशतसम्म कमिसन पाउने प्रलोभन दिएर उनीहरूले नयाँ ‘एजेन्ट’लाई प्रेरित गर्ने गरेको प्रहरीको भनाइ छ । ‘सट्टेबाजमा हारेकालाई उनीहरूले ‘एजेन्ट’ बन्न प्रेरित गर्छन् । यसका लागि उनीहरूले २५ प्रतशितसम्म कमिसनको ‘अफर’ दिन्छन् । लोभिएकाहरू ‘एजेन्ट’ बन्छन् । र, उनीहरू नयाँ ग्राहकको खोजीमा जुट्छन् । यही तवरले नेपालमा सट्टेबाज सक्रिय रहेको देखिन्छ,’ कोइरालाले भने ।
प्रहरीका अनुसार नयाँ ‘एजेन्ट’लाई काम गर्न सिकाउन मुख्य ‘अपरेटर’ले ‘स्काइप’, ‘जुम’लगायत सामाजिक सञ्जालमार्फत एक सातासम्म ‘अडियो’ तालिम नै दिने गरेका छन् । तालिममा ‘एजेन्ट’बनाउनेदेखि जितेको रकम भुक्तान गर्नेको तरिका सिकाइन्छ । एजेन्टले बाजी जिते–नजितेको थाहा पाउन ‘रेडी’ नामको नयाँ ‘एप्स’ नै विकास गरेका छन् । सोही ‘एप्स’मार्फत कमिसन रकम प्राप्त गर्ने, हारजितको सूचना थाहा पाउनेलगायत सूचना सञ्चार हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हारजितको रकम बैंक खातमा ‘कन्भर्ट’ गर्ने काम पनि सोही ‘एप्स’मार्फत हुने गर्छ । ‘एप्स’ मोबाइलमा डाउनलोड गरेपछि एजेन्टले नै नयाँ एजेन्टलाई ‘पासवार्ड’ उपलब्ध गराउने गरेको एसपी कोइरालाले बताए ।
‘हारजितको सूचना थाहा पाउनेदेखि कमिसनबापतको रकम प्राप्त गर्ने सूचना सञ्चारका लागि यिनीहरूले नयाँ खालको एप्स नै बनाएका छन् । ‘रेडी’ नामको उक्त एप्समार्फत उनीहरू आन्तरिक तवरले सूचना आदानप्रदान गर्छन् । जितको रकम बैंक खातामा ‘कन्भर्ट’ गर्ने काम पनि यिनीहरू सोही एप्समार्फत गर्ने गरेको अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।
प्रहरीका अनुसार यस खालको सट्टेबाजमा ‘क्रिप्टोकरेन्सी’ पनि प्रयोग हुने गरेको देखिन्छ । ‘क्रिप्टो’मार्फत नै हारजितको रकम भुक्तानी हुने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । यसका लागि ‘जिटिल वालेट’ प्रयोग हुने गरेको छ । प्रहरीले पछिल्लोपटक चार सय ४५ त्यस्ता वालेट रोक्का गरेको छ । सट्टेबाजको आशंकापछि प्रहरीले अवैध रूपमा सञ्चालनमा रहेको त्यस्ता ‘डिजिटल वालेट अकाउन्ट’ बन्द गरेको हो । विभिन्न सेवाप्रदायक कम्पनीका उक्त वालेटमाथि अनुसन्धान जारी रहेको एसपी कोइरालाले बताए ।
सट्टेबाजको रकम भुक्तानीमा बैंक पनि सामेल हुन सक्ने
सट्टेबाजको आशंकापछि प्रहरीले अवैध रूपमा सञ्चालनमा रहेको चार सय ४५ ‘डिजिटल वालेट अकाउन्ट’ बन्द गरेको छ । जसमध्ये सर्ट लिस्टमा परेका २६ वालेटबाट सात करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ कारोबार भएको खुलेको छ । उक्त वालेटलाई प्रहरीले प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ । तर, नेपालमा खुलेका अधिकांश ‘डिजिटल वालेट’ बालेट सट्टेबाजमा प्रयोग भएको प्रहरीको दाबी छ । एउटा वालेटबाट कम्तीमा पनि एक करोड रुपैयाँको कारोबार हुने गरेको प्रहरीको भनाइ छ । ‘डिजिटल वालेट’ सधैँ राष्ट्र बैंकको निगरानीमा रहन्छ । किनकि राष्ट्र बैंकको स्वीकृतिविना त्यस्ता वालेट खोज्न पाइँदैन । वालेटमार्फत भएका सबै कारोबार बैंकको निगरानीभित्र रहन्छ । एउटा वालेटबाट अस्वाभाविक तवरले छोटो अवधिमा करोडौँ रुपैयाँको कारोबार भएको छ । तर, बैंकले त्यस्ता कारोबार किन र कसरी भइरहेको छ निगरानी गर्दैन । बरु, खुला तवरले कारोबार गर्न छुट दिन्छ । यसर्थ, सट्टेबाजको रकम भुक्तानीमा बैंक पनि सामेल हुन सक्ने प्रहरीको दाबी छ ।
२० वर्षीय युवकको बैंकमा साढे दुई करोड
गत २७ मंसिरमा प्रहरीले २० वर्षीय आदर्श ठाकुरलाई सट्टेबाजको अभियोगमा पक्राउ गर्यो । प्रहरीले उनको बैंक खाता अनुसन्धान गर्दा नबिल बैंकमा ६९ लाख ६ हजार पाँच सय २३, सिद्धार्थ बैंकमा ४५ लाख ५३ हजार पाँच सय २३ र एनआइसी एसिया बैंकमा ८८ लाख २४ हजार एक सय ५५ गरी कुल दुई करोड ३६ लाख ३३ हजार एक सय ३८ रुपैयाँ फेला पर्यो । उनले सबै रकम सट्टेबाजका लागि एजेन्ट जुटाइदिएबापत संकलन गरेका थिए । प्रहरीका अनुसार उनले रसियन बेटिङ एप्लिकेसन ‘वान एक्स बेट’बाट सट्टेबाजी खेलाउँदै आएका थिए ।
प्रहरीका अनुसार रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन पाउने भएपछि ठाकुर केही महिनादेखि यो धन्दामा संलग्न हुँदै आएका थिए । यसका लागि उनले विभिन्न व्यक्तिका नाममा ‘डिजिट वालेट अकाउन्ट’ खोलेका थियो । सोही खातामार्फत उनी सट्टेबाजका लागि आवश्यक रकम संकलन गर्दै आएका थिए । खाता खोल्न उनले व्यक्तिको नागरिकताको फोटोकपीसमेत खरिद गर्दै आएका थिए । नागरिकताको प्रति फोटोकपी चार सय रुपैयाँसम्म भुक्तानी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोही नागरिकता प्रयोग गरी उनले एनसेल तथा स्मार्ट कम्पनीको ९४ वटा सिमकार्ड खरिद गरेका थिए । एक सिमकार्डबाट उनी बढीमा दुईपटकसम्म कारोबार गर्थे ।