कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वाभाविक हुने तर्क गरे।
शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाद्वारा आयोजित चियापान कार्यक्रममा प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरे पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नु स्वाभाविक हुने बताए।
उनले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वाभाविक रूपमा लिने धारणासमेत राखे।
अर्का नेता विमलेन्द्र निधिले पनि कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औँल्याए। निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिनेसमेत प्रस्ट पारे।
यस्तै, सांसद दीपक खड्काले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरूबीचमा सहमति जुट्ने बताए। उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताए।