सर्लाहीमा ठूलो संख्यामा मोतियाविन्दुको समस्या भएका बिमारीको आँखाको शल्यक्रिया गरिएको छ। जिल्लाका विभिन्न पालिकाका मोतियाविन्दुको समस्या भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको हो।
आँखाको शल्यक्रिया गरिएका बिमारीलाई निःशुल्क औषधि एवं चस्मासमेत वितरण गरिएको थियो। भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा ६ वटा पालिकाका दुई हजार तीन सय ४३ जनाको आँखाको परीक्षण गरिएको छ।
त्यसमध्ये पाँच सय दुईजनामा मोतियाविन्दुको समस्या देखिएको चिकित्सकले बताएका हुन्। डार्क फाउन्डेसन र पार्टनर फर इक्युलिटीको आर्थिक सहयोगमा मंसिर २३ गतेबाट ७ दिनसम्म आँखा शिविर सञ्चालन भएको थियो।
चिकित्सकले जिल्लाको बागमती, हरिवन, लालबन्दी, हरिपुर, बरहथवा र गोडैता नगरपालिकाका विभिन्न स्थानमा गएर बिमारीको आँखाको ‘स्क्रिनिङ’ गरेका थिए।
मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने बिमारीको संख्या अत्यधिक भएपछि एक दिन थप गरेर उपचार गरिएको स्थानीय व्यवस्थापक सगुण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रवीन्द्र राणाले जानकारी दिए।
व्यवस्थापक राणाका अनुसार बिमारीको गोडैता नगरपालिकास्थित वेणी भोला नमुना माध्यमिक विद्यालय र हरिवनस्थित चतुर भुजेश्वर महादेव मन्दिर प्रांगणमा आँखाको शल्यक्रिया गरिएको हो।