कतारमा जारी विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। वानएक्स बेटका एजेन्ट आदर्श ठाकुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनले नक्कली नागरिकतामार्फत सिमकार्ड निकालेर मोबाइल वालेट अकाउन्ट सञ्चालन गरी सट्टेबाजी रकमको लेनदेन गर्दै आएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनले मोबाइल वालेटबाट दुई करोड दुई लाख ८४ हजार ४४८ रुपैयाँको कारोबार गरेको देखिएको छ।
पक्राउ परेका ठाकुरसँग ९४ वटा सिमकार्ड बरामद भएको एसपी कोइरालाले बताए। प्रहरीले सट्टेबाजीमा आर्थिक कारोबार देखिएका ४८६ वटा डिजिटल वालेट अकाउन्ट रोक्का राखी थप व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ।