१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार ०६:०१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विश्वकपको सट्टेबाजीमा दैनिक करोडौँको हारजित 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार ०६:०१:००

सामाजिक सञ्जालमा विज्ञापन गरेरै खुलेआम सट्टेबाजी खेलाउँदा पनि प्रहरी मौन, मोबाइल वालेटमार्फत कारोबार

कतारमा जारी विश्वकप फुटबलको नेपालमा खुलेआम सट्टेबाजी चलिरहेको छ । अनुसन्धान र नियन्त्रणमा प्रहरीले चासो नदिँदा सामाजिक सञ्जालमा विज्ञापन नै गरेर सट्टेबाजी हुने गरेको छ । 

मोबाइल एप, वेबसाइट तथा एजेन्टबाट हुने यस्तो सट्टेबाजीमा दैनिक करोडौँको हारजित हुने गरेको छ । विभिन्न निकायबाट प्राप्त स्रोतअनुसार हजारौँ सर्वसाधारण सट्टेबाजीको सञ्जालमा जोडिएका छन् । 

नेपालमा सबैभन्दा धेरै वानएक्सबेट नामक कम्पनीले ‘अनलाइन बेटिङ’ चलाउँदै आएको छ । उसले नेपालमा एजेन्टहरू नै नियुक्त गरेर यस्तो अवैध धन्दा चलाएको छ । उसले आफ्नो मोबाइल एपमा नेपालका मोबाइल वालेटबाट सजिलै कारोबार गर्न सक्ने गरी अनलाइनमार्फत नै सट्टेबाजी चलाएको छ । कम्पनीले यही कामका लागि नेपालका विभिन्न मोबाइल वालेटमा अकाउन्ट खोलेको छ । ती अकाउन्टमा पैसा हाल्न लगाएर बाजी खेलाउँदै आएको छ । जितेको खण्डमा तिनै अकाउन्टबाट आर्थिक कारोबार हुँदै आएको छ । 

ई–सेवा, खल्ती, कनेक्ट आइपिएसलगायत मोबाइल एपमा कम्पनीका एजेन्टले अकाउन्ट खोलेर कारोबार गरिरहेका छन् । वालेटमा कारोबार गर्दा एजेन्टको नम्बर र नामसमेत उल्लेख गरिएको हुन्छ । जसका आधारमा प्रहरीले सहजै पक्राउ गर्न सक्ने भए पनि अनुसन्धानको दायरामा ल्याइएको छैन । कतिपय एजेन्टले अरूको नामको कागजपत्रका आधारमा मोबाइल वालेट अकाउन्टहरू चलाएको स्रोत बताउँछ । 

बेट ३६५ नेपालमा चलेको अर्काे सट्टेबाज कम्पनी हो । उसले भने एजेन्टहरूमार्फत नै गोप्य रूपमा पैसा उठाउने गरेको छ । यसले पनि नगदभन्दा मोबाइल वालेटमार्फत नै आर्थिक कारोबार गर्दै आएको छ । नेपालमा केही व्यक्तिले आफैँ यस्तो सट्टेबाजी चलाउँदै आएका छन् । त्यसमा ठूलो रकमको हारजित हुने गरेको छ । स्रोतका अनुसार मिटरब्याजी तथा गुन्डागर्दीमा संलग्न व्यक्ति यस्तो धन्दामा छन् । होटेल, रेस्टुरेन्ट तथा क्लबहरूलाई अखडा बनाएर यस्तो धन्दा हुने गरेको छ । जसमा रेस्टुरेन्ट र क्लबका सञ्चालकसमेत संलग्न छन् । 

नयाँबजारका एक युवाले एउटा खेलमै एक करोडभन्दा धेरै उठाउने गरेका छन् । ‘उनले पैसा उठाउन मात्र १०–११ जना मान्छे राखेका छन्,’ उनीनिकट एक व्यक्ति भन्छन्, ‘मिटरब्याज र सट्टेबाजबाटै उनले करोडौँको सम्पत्ति जोडेका छन् ।’ यसरी खेलाउनेहरू रातारात धनी हुँदा सट्टेबाजकै कारण कतिपय भने घरबारविहीन बनेका छन् । धेरैजना सट्टेबाजको लतमा फसेका छन् । भर्खरै कलेज पढ्न थालेका युवा–युवतीदेखि विभिन्न पेसा–व्यवसायमा स्थापित व्यक्तिसमेत सट्टेबाजमा लागेका छन् । 

शुक्रबारदेखि विश्वकपमा क्वार्टरफाइनल तहका खेल सुरु हुँदै छन् । सबैभन्दा धेरै हारजित अबका दिनमा हुने सम्भावना छ । कतिपयले सामाजिक सञ्जालमा विज्ञापन नै गरेर अनलाइन सट्टेबाजी चलाइरहेका छन् । बुचर सफायर, माइनोरिटी बेसाइड नामक फेसबुक पेजमा नेपालीका लागि लक्षित सट्टेबाजीको रेटसहित नै विज्ञापन गरिएको छ । 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले प्रहरीका विशिष्टीकृत निकायहरूले खेलकुदमा हुने अनलाइन बेटिङको अनुसन्धान गरिरहेको बताए । ‘अनलाइन बेटिङ बढ्न सक्छ भनेर हामीले अनुसन्धान गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिएका छौँ,’ उनले भने, ‘सिआइबी, साइबर ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालयले यसमा अनुसन्धान गरिरहेका छन् ।’ ती निकायका प्रहरी अधिकारीले अनलाइन बेटिङको सूक्ष्म निगरानी भइरहेको बताए । 

खेलकुदमा सट्टेबाजीको गतिविधि नेपालमा कुन हदसम्म बढेको छ भन्ने गत १ मंसिरमा कीर्तिपुरबाट ४४ जना पक्राउ गरेबाट पनि प्रस्ट हुन्छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनलाइन सट्टेबाजीको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो । नेपाल र युएईबीच खेल भइरहेको वेला दर्शकदीर्घामा बसेर अनलाइन जुवा खेलाइरहेका भारतीय पक्राउ परेका थिए । त्यसैका लागि उनीहरू नेपाल आएको खुलेको छ । गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

विगतमा पनि सट्टेबाजीको आरोपमा नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । ०७५ को जेठमा काठमाडौं प्रहरीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बेटिङ खेलाएको आरोपमा फुटबलका पूर्वखेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो । पछि उनीहरू अदालतको आदेशमा धरौटीमा छुटेका थिए । त्यहीवेला पक्राउ परेकामध्ये अहिले पनि कतिपय सोही धन्दामा सक्रिय रहेको स्रोत बताउँछ । नागराज उपनामले चिनिने अमृत अग्रवाललाई पाँच वर्षअघि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलेको छ । 

कसरी चल्छ सट्टेबाजी ? 
विभिन्न विकल्पमा रेट तोकेर सट्टेबाजी खेलाइने गरिएको छ । कमजोर टिमको पक्षमा बाजी राख्नेले उच्च रेट पाउने गर्दछन् । त्यस्तै, एउटा टिम बलियो र अर्काे कमजोर भएको अवस्थामा बराबरीको रेट सस्तो हुन्छ । यसबाहेक पहिलो गोल कसले गर्छ, कति मिनेटमा पहिलो गोल हुन्छ, पहिलो हाफको नतिजा के हुन्छ, कर्नरबाट कति गोल हुन्छ भन्ने विकल्पमा समेत बाजी राख्ने गर्दछन् । 

सट्टेबाजको नेकवर्क स्कुल–कलेजसम्म छ । ६ वर्षअघि महानगरीय अपराध महाशाखाले बालुवाटारस्थित मल्पी इन्टरनेसनल कलेजका डिसिप्लेन इन्चार्ज (डिआई) सुदीप गुरुङ र उनका साथी साङ्गे ठकुरीलाई कलेजकै विद्यार्थीलाई आइपिएल तथा युरोपियन फुटबल लिगको बाजी खेलाइरहेको आरोपमा पक्राउ गरेको थियो । केही विद्यार्थीले लाखौँ हारेको उजुरी अभिभावकबाट परेपछि प्रहरीले कलेजमा छापा हानी बुकी खुलाउने गुरुङ र केही विद्यार्थीलाई समेत पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा एउटै कलेजमा दैनिक १० लाखभन्दा धेरै रुपैयाँको बाजी चल्ने गरेको खुल्यो । 

राजधानीका क्यासिनोमा ठूलो खेल हुने गरेको स्रोत बताउँछ । क्यासिनो रातभरि खुला हुने भएकाले क्यासिनोभित्र फुटबल लाइभ हेर्ने र बाजी लगाउने धन्दा चल्दै आएको छ । क्यासिनो जुवा खेल्ने ठाउँ भएकाले कतिपय एजेन्टले क्यासिनोमा जुवा खेलाउँदै आएका छन् । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भए पनि नक्कली रासनकार्ड बनाएर क्यासिनो छिराउने गरिएको छ । 

कतिपयका लागि फुटबलमा बाजी नसाजस्तै बनिसकेको छ । केहीले घर नै बन्धक राखेरसमेत बाजीमा लगाउने गरेको स्रोत बताउँछ । बाजी खेल्नेहरूलाई चर्काे ब्याजदरमा पैसा लगाउने समूह पनि अहिले सक्रिय छन् । त्यस्तै, खेलाउनेहरू हुन्डीको कारोबारमा पनि सक्रिय छन् । उनीहरूले जितेको पैसा हुन्डीबाटै विदेश लैजाने गरेका छन् । 

कतिपय देशमा सट्टाबाज वैध छ । कर तिरेर बाजी लगाउन पाइन्छ । तर, नेपालमा पनि यससम्बन्धी कानुन छैन । पक्राउ परेकालाई प्रहरीले जुवा मुद्दामा कारबाही गर्दछ । जुन मुद्दामा उनीहरू सामान्य धरौटीमा नै छुट्ने गर्दछन् । 

ठूला प्रतिस्पर्धा हुँदा मात्र होइन बाह्रै महिना यस्तो धन्दा चल्ने गरेको छ । फुटबल र क्रिकेट खेलमा धेरै हारजित हुने गरेको छ । युरोपियन फुटबल लिगमा पनि नेपालमा मोटो रकम सट्टेबाजीमा लाग्ने गरेको छ । 

यसरी चल्छ सट्टेबाजी

विभिन्न विकल्पमा रेट तोकेर सट्टेबाजी खेलाइने गरिएको छ । कमजोर टिमको पक्षमा बाजी राख्नेले उच्च रेट पाउने गर्दछन् । त्यस्तै, एउटा टिम बलियो र अर्काे कमजोर भएको अवस्थामा बराबरीको रेट सस्तो हुन्छ । यसबाहेक पहिलो गोल कसले गर्छ, कति मिनेटमा पहिलो गोल हुन्छ, पहिलो हाफको नजिता के हुन्छ, कर्नरबाट कति गोल हुन्छ भन्ने विकल्पमा समेत बाजी राख्ने गर्दछन् ।

एजेन्टहरू बनाएर बाजी खेलाउँदै आएका छन् । राजधानीका क्यासिनोहरूमा ठूलो खेल हुने गरेको स्रोत बताउँछ । क्यासिनो रातभरि खुला हुने भएकाले क्यासिनोभित्र फुटबल लाइभ हेर्ने र बाजी लगाउने धन्दा चल्दै आएको छ । क्यासिनो जुवा खेल्ने ठाउँ भएकाले कतिपय एजेन्टले क्यासिनोमा जुवा खेलाउँदै आएका छन् । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भए पनि नक्कली रासनकार्ड बनाएर क्यासिनो छिराउने गरिएको छ ।